बेलायतमा रोकिएकालाई भित्र्याउन रणनीति बनाउँदै सरकार

जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले बेलायतमा रोकिएका यात्रुलाई नेपाल भित्र्याउन नयाँ रणनीति बनाउन थालेको छ । बेलायतमा नयाँ स्वरूपको कोरोना देखिएसँगै सरकारले त्यहाँबाट हुने आवागमनमा रोक लगाएपछि थुप्रै यात्रु अड्किएका छन् । 

बेलायतमा रोकिएकालाई भित्र्याउन रणनीति बनाउँदै सरकार

उनीहरूलाई कसरी ल्याउन सकिन्छ भनेर छलफल भइरहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बताए । ‘बेलायत आउन र जान ठप्प भएपछि यात्रुहरू मारमा परेका छन् । यसलाई मध्यनजर गरेर कसरी अघि बढ्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने ।

अध्यागमन विभागले पुस ७ गते सूचना निकालेर बेलायतबाट नेपालमा प्रवेशमा रोक लगाएको थियो । बेलायतबाट यात्रुलाई सिधै वा ट्रान्जिट भएर आउन दिइए नेपालमा नयाँ भाइरस भित्रने उच्च जोखिम हुने आकलनसहित सीसीएमसीले स्वास्थ्य मन्त्रालयसहितका अधिकारीहरूसँग छलफल गरेको छ । ‘नयाँ कोरोना भित्रिए नेपालमा जोखिम बढ्ने अनुमान गरिएको छ,’ गुरागाईले भने, ‘त्यसका लागि अहिले नै होसियार हुनुपर्ने विषयमा छलफल भइरहेको छ ।’

सीसीएमसीमा भएको छलफलमा परराष्ट्र, अर्थ, रक्षा र स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्री कार्यालय, नेपाली सेना र अन्य सुरक्षा निकायको पनि सहभागिता छ । ती निकायहरू सीसीएमसी सचिवालयको सदस्यका रूपमा रहेका छन् ।

बेलायतबाट विमानमा नेपाल आउनेलाई कम्तीमा १० दिन क्वारेन्टिनमा राख्नुपर्ने प्रावधानसहितको स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सीसीएमसीको सचिवालयमा छलफल भइरहेको छ । मन्त्रालयका अनुसार बेलायतबाट आएका व्यक्ति नेपाल भित्रिएपछि १० दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरिए आवत–जावतलाई खोल्न सकिन्छ ।

तर बेलायतबाट एउटै विमानमा सबै यात्रु नआउने, अर्को मुलुकमा ट्रान्जिट भएर आउने र ट्रान्जिटमा अन्य मुलुकबाट आएका यात्रु पनि बेलायतबाट आएकाहरूसँगै मिसिएर आउने भएकाले मन्त्रिपरिषद्लाई यस विषयमा के सिफारिस गर्ने भन्ने निचोडमा सीसीएमसी पुगेको छैन ।

‘बेलायतबाट नै ट्रान्जिट भएर आउने र ट्रान्जिटमा बेलायतबाट आएको विमानमा आउने यात्रुलाई नेपाल आएपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिले छलफल नै चलेको छ । केही दिनमा यस विषयमा टुंगो लाग्नेछ,’ सचिव गुरागाईंले भने ।

गत साता उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको नेतृत्वमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा पनि बेलायतमा फैलिएको नयाँ कोरोना भाइरसबारे चर्चा भएको थियो । बैठकमा उक्त नयाँ कोरोना भाइरसबाट नेपाल सुरक्षित हुनुपर्नेमा सम्पूर्ण सदस्यले जोड दिएका थिए ।

बेलायतबाट आउन निषेध भए पनि अन्य मुलुकबाट भने कोरोनाको स्वास्थ्य प्रोटोकललाई मानेर विदेशी र नेपाली यात्रु नेपाल आउन पाउँछन् । सीसीएमसीले गत चैतमा कोरोना संक्रमणका कारण लकडाउन गरिएयता विदेशबाट करिब १ लाख ४६ हजारलाई उद्धार गरेको छ । तिनमा १४ सय जना विदेशी नागरिक रहेको सचिव गुरागाईले बताए ।

प्रकाशित : पुस २६, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?