कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदीमा श्रमिकलाई खोपको आस

होम कार्की

काठमाडौँ — उनलाई लाग्थ्यो– कमाउन भनेर घरपरिवार छाडेर खाडी आइयो तर अब कोरोनाले मरिन्छ होला, जिउँदै घर फिर्न पाइँदैन कि । साउदी अरबको दमामस्थित एक कम्पनीमा कार्यरत नवरपरासीको कावासोतीका ५४ वर्षीय यमनारायण चौधरीलाई अब भने आस लागेको छ– कोरोनाविरुद्धको खोप लगाउन पाए बाँचिन्छ ।

साउदीमा श्रमिकलाई खोपको आस

सेप्टेम्बरको दोस्रो सातासम्म उनको कम्पनीका धेरै जनालाई कोरोना भाइरसको संक्रमण फैलिएर स्थिति भयावह बनेको थियो । उपचारार्थ अस्पताल लगिएका चार जना साथीहरू पुनः क्याम्प फिरेनन् । ‘हामीलाई त उपचार भइरहेको छ भन्ने खबर पाइरहेका थियौं । तर साथीहरूको त पहिला नै मृत्यु भइसकेछ । त्यो निकै पछि मात्रै पुष्टि भयो,’ उनले भने । त्यसबेलाको अवस्था निकै कहालीलाग्दो बनेको उनले सुनाए । ‘त्यसबेला म निकै डराएँ । भोलि हाम्रो पनि यस्तै हुन के बेर १’ उनले भने, ‘अब भागेर पनि कहाँ जाने । साउदी छोड्दै कोरोनाको संक्रमण नहुने होइन । गाउँमा परिवारलाई सोध्दा बरु त्यता नै सुरक्षित होला भन्ने खबर आयो । जे पर्ला त्यही टर्ला भनेर यतै रोकिएँ । बरु यहाँबाट डराएर भागेका साथीहरू बेकार नेपाल आइएछ भनेर उल्टो फोन गर्छन् ।’

साउदी अरबमा अब कोरोना भाइरसविरुद्धको खोप दिन सुरु भएको खबरले चौधरी उत्साहित छन् । तर खोप कसरी कहाँ लगाउन पाइन्छ भन्ने प्रस्ट सूचना नपाएको उनको गुनासो छ । ‘साउदीमा पनि कोरोनाविरुद्धको खोप आयो भनेर हल्लीखल्ली छ । हामीले पालो पर्खने हो कि गएर लगाइहाल्न पाइने हो भन्ने सूचना कम्पनीले दिएको छैन,’ उनले भने, ‘खोप लगाइहाल्न पाए मन ढुक्क हुने थियो ।’

रूपन्द्रेहीका ४३ वर्षीय प्रभु पासीले खोप लगाइदिनका लागि कम्पनीलाई अनुरोध गरिएको बताए । ‘हामीले कहिले खोप लगाउने भनेर कम्पनीको मुदिरलाई सोधेको हो । मुदिरले अहिले थाहा हुँदैन भन्यो,’ साउदीको अलहसामा रहेका पासीले भने, ‘खोप लगाउन के गर्नुपर्छ भन्ने पनि थाहा छैन ।’

साउदी सरकारले खोप लगाउन इच्छुक आफ्ना नागरिक र विदेशी श्रमिकलाई अनलाइनमार्फत आवेदन दिने व्यवस्था भने मिलाएको छ । त्यसका लागि ‘सेहाथी’ एप्सबाट आवेदन दिनुपर्नेछ । साउदी स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख जनाले सेहाथी एप्समार्फत खोप लगाउन आवेदन दिइसकेका छन् । जसमा एक लाख विदेशी श्रमिक रहेको दाबी गरिएको छ । ‘न्यून आय भएका अदक्ष श्रमिकहरूले सहजै आवेदन दिन सक्ने अवस्था छैन । एप्स डाउनलोड गरेर आवेदन दिनका लागि कम्पनीले नै पहलकदमी लिनुपर्छ,’ गैरआवासीय नेपाली संघ, साउदी अरबका एक पदाधिकारीले भने, ‘अहिले उच्च तहमा कार्यरत विदेशी श्रमिकले नै आवेदन दिइसकेको स्थिति हो ।’

साउदीमा गत डिसेम्बर १७ बाट नै कोरोनाविरुद्ध खोप लगाउन सुरु भएको हो । साउदीले सुरुमा पहिलो खोप लगाउनका लागि वृद्धवृद्धा र दीर्घरोगीलाई मात्रै प्राथमिकता दिएको छ । गत बिहीबारदेखि त दोस्रो चरणको खोप सुरु भइसकेको छ । ‘म उच्च रक्तचाप र सुगरको बिरामी हो । मैले खोप लगाउन ठाउँ खोजिरहेको छु । समय पाउन सकिरहेको छैन,’ सिरहाका खुब्बा सिंहले भने ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले स्वास्थ्य सेवा प्रवाहमा स्वदेशी र विदेशीबीच साउदी सरकारको विभेदपूर्ण नीति नभएकाले नेपाली श्रमिकले आशा गर्न सक्ने ठाउँ रहेको बताए । ‘कोभिड लागेका बेला भिसाविहीन श्रमिकलाई पनि स्तरीय उपचार सेवा दिएको देखियो । खोपमा पनि त्यस्तै व्यवहार हुन्छ भन्नेमा हामी आशावादी नै छौं,’ उनले भने, ‘यो अभियान भर्खरै सुरु भएकाले अहिले नै मूल्यांकन गर्न हतारो हुनेछ ।’ श्रमिकको स्वास्थ्य सेवा प्रवाहमा कतै कमजोरी भएमा दूतावासले कम्पनी र सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

प्रमुख श्रम गन्तव्यमध्येको साउदीमा हाल वैधानिक रूपमा काम गरिरहेका नेपाली श्रमिकको संख्या ३ लाख ५१ हजार छ । साउदीको १३ क्षेत्रमध्ये तत्कालका लागि रियाद, मक्का र पूर्वी क्षेत्रमा मात्रै खोप केन्द्र स्थापना गरिएका छन् । साउदी स्वास्थ्य मन्त्रालयले १३ वटै क्षेत्रमा खोप केन्द्र बढाउने गरी तयारी भइरहेको जनाएको छ । पहिलो र दोस्रो खोप लगाइसकेपछि भने साउदीले डिजिटल ‘स्वास्थ्य राहदानी’ दिन सुरु गरेको छ । स्वास्थ्य राहदानी पाइसकेपछि साउदीले त्यस्ता व्यक्तिलाई सूचीकृत गर्छ । स्वास्थ्य मन्त्रालयले खोपलाई भने बाध्यकारी नबनाई स्वैच्छिक बनाएको छ ।

प्रकाशित : पुस २६, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?