कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गाउँमा टिक्नै मुस्किल

कोरोना संक्रमणका कारण स्वदेश फर्केका थुप्रै युवा पुनः रोजगारी खोज्दै भारत फर्किएका छन् ।
वीरेन्द्र केसी

अर्घाखाँची — कोरोना संक्रमणका कारण गत वैशाखमा भारतबाट घर आएका शीतगंगा–१४ सिमलपानीका पुनाराम गाहाले आठ महिना जसोतसो यतै बिताए । बेरोजगार भएर घरमै बस्नुपर्दा परिवारका लागि छाक जुटाउने कुनै उपाय भएन । गाउँमै कामको खोजीमा थिए । काम नपाएपछि उनी पुनः भारत फर्किएका छन् । 

कोरोना संक्रमणले भारतमा लकडाउन भएर काम बन्द भएपछि उनी घर आएका थिए । स्वदेशमै रोजगारीका अवसर नभएपछि पेट पाल्न फेरि भारत जानुपरेको उनले बाध्यता सुनाए । ‘सरकारबाट गाउँमै रोजगार पाइएला भन्ने आशा थियो,’ उनले भने, ‘आपसमै लडाइँमा छन् । हामीले के आशा गर्नु ? परिवार पाल्न, अन्नपात किन्न र छोराछोरी पढाउने खर्च जुटाउन फेरि भारत नगई भएन ।’ भारतमा आफूले मासिक २० हजार भारु कमाइ गर्ने उनले सुनाए । त्यसको आधामात्रै कमाइ गाउँमा हुन्थ्यो भने उनी यतै बस्थे । तर गाउँमै कृषि उत्पादन गरे पनि बिक्दैन । मोटरबाटो, बिजुली नपुगेको दुर्गम गाउँमा उत्पादित बस्तुको बजार छैन । आठ महिना गाउँमा बस्दा सिकर्मी, डकर्मीको काम पनि उनले नियमित पाएनन् ।

गत आमनिर्वाचनका बेला पनि उनी भारतबाट भोट दिन गाउँ आएका थिए । त्यसबेला उम्मेदवारहरूले ‘अब नोकरी गर्न विदेश जानुपर्दैन, यहीँ स्वरोजगार बनाउँछौं, हामीलाई भोट दिएर जिताउनूस्’ भनेर दिएको आश्वासन उनी झलझल्ती सम्झिन्छन् । ती नेता गाउँ फर्किएनन्, बरु केही होला कि भनेर गाउँ फर्किएका पुनाराम काम खोज्दै फेरि भारत जानुपर्‍यो ।

कोरोना संक्रमणका कारण स्वदेश फर्केका थुप्रै युवा पुनः रोजगारी खोज्दै भारत फर्किएका छन् । ‘चुनावका बेला नेताले युवालाई स्वरोजगार बनाउँछौं भनेर नारा लगाउँछन्, जितेपछि जनतामा बाँडेका सपना पूरा हुँदैनन्,’ तेस्रो मुलुक जाने तयारीमा रहेका अर्का युवा भीम गाहाले भने । आफूजस्ता युवाले गाउँमै केही काम पाए बिहानदेखि साँझसम्म खटिन तयार रहेको उनी बताउँछन् । देशको विकास गर्न र युवालाई स्वरोजगार बनाउन सरकार र नेता दूरदर्शी हुनुपर्ने उनले बताए । ‘यहाँ त सत्तामा कसरी जाने भन्ने मात्रै ध्यान छ,’ उनले गुनासो गरे, ‘परिवारका चामल किन्ने जोहो गर्न युवाजति रोजगारी खोज्दै परदेश लाग्नुपर्ने अवस्था छ ।’ स्थानीय तहले पनि स्वरोजगार सिर्जना गर्न सकेको छैन । आफैं कस्सिएर कृषिकर्म गरे पनि उत्पादनलाई बजार पाउन मुस्किल छ । भारतबाट भित्रिने तरकारी सस्तोमा पाइने भएकाले यहीँको उत्पादनले घाटा लाग्ने गरेको उनको भनाइ छ ।

कोरोनाका कारण चैतमा नोकरी छाडेर घर फर्किएका गुल्मी मदानेका विक्रम नेपाली पनि भारत फर्किने तयारीमा छन् । ‘केही व्यवसाय गरौं भने लगानी गर्ने पैसा छैन । घरमा दाल, चामल, चिनी, तेल किन्ने पैसा जुटाउन पुनः भारततिर लागें,’ उनले भने ।

प्रकाशित : पुस २६, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?