२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ओली प्रवृत्तिको प्रतिवाद गर्न निर्देशन

अध्यादेश फिर्ता नलिए त्यसबाट उत्पन्न हुने परिणाम ओलीले नै भोग्नुपर्ने चेतावनी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि निरन्तर आपत्ति जनाउँदै आएको नेकपाको असन्तुष्ट समूहले प्रदेशस्तरीय भेला गर्दै ओली प्रवृत्तिको प्रतिवाद गर्न आफू निकटहरूलाई निर्देशन दिएको छ  ।

ओली प्रवृत्तिको प्रतिवाद गर्न निर्देशन

अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका हुन् । गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको हो । पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका हुन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अध्यादेश फिर्ता गर्ने पार्टी स्थायी कमिटीले निर्णय गरे पनि त्यससम्बन्धी प्रक्रिया नबढाएको भन्दै प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरे । अध्यादेश फिर्ताको प्रक्रियामा जानुको साटो बिहीबार परिषद्को बैठक राख्ने प्रयत्न गरेपछि दाहालले आपत्ति जनाएका थिए । अब पनि फिर्ता नलिए त्यसबाट उत्पन्न हुने परिणाम ओलीले नै भोग्नुपर्ने उनको चेतावनी थियो ।

उनले ओलीबाट पटक–पटक धोका पाएको बताए । दुई अध्यक्ष मिलेर जाँदा मात्र नभएकाले अब सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यको धारणालाई बोकेर अघि बढ्ने प्रतिबद्धता दाहालले जनाएका थिए । दाहालले पार्टीमा आफू र ओलीले राखेका दुईवटा प्रस्तावका बारेमा पनि बोलेका थिए । त्यसक्रममा उनले आफ्नो प्रस्तावमा विधि पद्धतिमा आइरहेको विचलनलाई सच्याउन जोड दिएको दाबी गरेका थिए तर ओलीले त्यस्ता विषयलाई पदमा लगेर जोडेकामा आफ्नो आपत्ति रहेको बताए ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको स्वेच्छाचारिता र एकाधिकारवादी सोचले सीमा नाघेको बताए । भेलामा सहभागी नेताहरूका अनुसार उनले ओलीले विधि, पद्धति नमानेर सबैको मानमर्दन गर्दै हिँडेकामा आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीको शैलीमाथि नै धेरै टिप्पणी गरेका नेपालले पार्टी छ भन्ने ख्यालसमेत नगरी अघि बढ्न खोजेको बताए । खनालले पनि ओलीले विधि पद्धति नमानेको र स्वेच्छाचारी भएर हिँडेकाले सच्याउन जरुरी रहेको बताएका थिए । उनले आफूहरूले उठाएको विषय कुनै पदका लागि नभएको जनाए ।

दाहाल–नेपाल पक्षले यसअघि वाग्मती र काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थीको भेला गरेको थियो । ओली समूहले पनि यसअघि प्रदेश १ को भर्चुअल भेला गरेको थियो । उक्त भेलामा ओलीले नै सम्बोधन गरेका थिए । ओली समूहको भेलाचाहिँ धेरैजसो मदन भण्डारी फाउन्डेसनको ब्यानरमा हुने गरेको छ । शनिबार ओली समूहले गण्डकी प्रदेशमा भेला गर्ने तयारी गरेको छ । दुवै पक्षले पार्टीमा जुनसुकै खालको परिस्थिति आउन सक्ने जोखिम भएकाले शक्ति सञ्चय र एक–अर्कालाई दबाब बढाउन भेला गरेका हुन् ।

कोटेश्वर भेलापछि दाहालले साँझ प्रधानमन्त्री ओलीलाई भेटेका छन् । छलफलमा स्थायी कमिटीको निर्णय कार्यान्वयनको विषयमा केन्द्रित भए पनि कुनै ठोस सहमति भने भएको छैन । ओलीले अझै पनि दुवै दस्ताबेज फिर्ता लिएर साझा सहमतिको दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव गरिरहेका छन् । दाहाल भने स्थायी कमिटीमा दुवै प्रस्तावबारे छलफल गरेर निचोडमा पुग्नुपर्ने अडानमा छन् । स्थायी कमिटी बैठक आइतबारका लागि तय गरिएको छ ।

प्रकाशित : पुस ४, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?