५ बजे बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित- समाचार - कान्तिपुर समाचार

५ बजे बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित

जयसिंह महरा

काठमाडौँ — बिहीबार साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सभामुखको सचिवालयले बैठक स्थगित भएको बताएको छ । बैठक स्थगित भएको म्यासेज प्राप्त भएको अध्यक्षको सचिवालयले बतायो । 

बुधबार नेकपा स्थायी कमिटी बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको थियो । तर, आजै बैठक बोलाइएको भन्दै नेकपाका नेताहरु आश्चर्य प्रकट गरेका थिए ।

स्रोतका अनुसार प्रधानन्यायाधीश पनि बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको हो । सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा यसअघि नै बैठकमा अनुपस्थित छन् । प्रधानन्यायाधीश पनि उपस्थित नभएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको उपस्थितिमा मात्रै बैठक गर्नुपर्ने हुन्थ्यो । अध्यादेशअनुसार पनि बैठकले निर्णय गर्नलाई अध्यक्षसहित ३ जना आवश्यक हुन्छ ।

संवैधानिक परिषद्को बैठकमा सभामुख अनुपस्थित भएपछि त्यसैको प्रतिशोधका रूपमा ओलीले ८ महिनाअघि विवादित भएर फिर्ता गरेको अध्यादेश मंगलबार पुनः राष्ट्रपतिबाट जारी गराएका थिए । उक्त अध्यादेश फिर्ता हुनुपर्ने मागसहित बुधबार नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह संविधानअनुसार संसद्को विशेष अधिवेशन माग गर्दै सांसदहरूको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेपछि स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिन ओली तयार भएका थिए ।

बुधबार निर्धारित समयभन्दा झन्डै चार घण्टा ढिलो सुरु भएको नेकपा स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा २४ घण्टामा थपिए ३६३ कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा १५२ महिला र २११ जना पुरुष रहेका छन् ।

काठमाडौंमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३०८ महिला र ४६८ पुरुष रहेका छन् । यो सँगै नेपालमा २ लाख ५१ हजार ६९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ हजार ७२४ छ भने २४ घण्टामा ६ हजार ५८८ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५८० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४४४ रहेको छ ।

२४ घण्टामा ९४७ कोरोनामुक्त, ६ को मृत्यु

२४ घण्टामा ९४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४० हजार ३६३ जना घर फर्किसकेका छन् । त्यसैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ ।

प्रकाशित : पुस २, २०७७ १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×