काठमाडौँ — सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ अन्तर्गतका जिल्ला पदाधिकारीको भेला गरेको छ ।
जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी भेलालाई अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने एक नेताले बताए । भेलामा प्रदेश १ अन्तर्गत १४ जिल्लाका पदाधिकारीहरु र सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागि छन् ।
सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने बुधबारको स्थायी कमिटी निर्णयको अर्कोदिन त्यही अध्यादेशको जगमा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएपछि दुई अध्यक्षबीच बिहीबार तनावपूर्ण संवाद भएको थियो ।
स्थायी कमिटीले मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद्को विशेष अधिवेशनका लागि राष्ट्रपति कहाँ निवेदन दर्ता नगर्ने र संवैधानिक परिषद्का प्रमुख र पदाधिकारीहरूको नियुक्ति सहमतिकै आधारमा गर्ने निर्णय गरेको थियो ।
ओलीसँगको संवाद सकरात्मक नभएको अर्को दिन दाहाल–नेपालसमूहले शुक्रबार प्रदेश–१ स्तरीय जिल्ला पदाधिकारीहरुको भेला गरेको हो ।
केही दिन अगाडि यो समूहले पेरिसडाँडामै वाग्मती प्रदेशस्तरीय भेला गरेको थियो । यो समूहले विद्यार्थीको पनि काठमाडौंमै भेला गरेको थियो ।
