जो सधैं संक्रमितसँगै हुन्छन् - समाचार - कान्तिपुर समाचार

जो सधैं संक्रमितसँगै हुन्छन् 

अस्पतालमा भर्ना भएका संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले दुई महिनादेखि काठमाडौंमै भएका आफन्तलाई समेत भेटेका छैनन् ।
मकर श्रेष्ठ

काठमाडौँ — कसैलाई जागिर पाए कस्तो न हुन्छ भन्ने लाग्छ । पाएपछि जब आफूले सोचेजस्तो हुँदैन, जागिरप्रति नै नकारात्मक सोच आउँछ । तर टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबार बिहान भेटिएकी नर्स रिया गुरुङ खुसी थिइन् । उनका आमाबुबा काठमाडौं ढल्कोमा बस्छन् । दुई महिनादेखि भेट्न पाएकी छैनन् । तैपनि उनलाई कुनै गुनासो छैन ।

सम्झना आउँदा आमाबुबालाई भिडियो कल गर्छिन् । अस्पतालका दिनभरिका दुःखसुखका कुरा साट्छिन् । आमा, बुबा र आफन्तको खबर फोनबाटै लिन्छिन् । संक्रमितको उपचारमा खटिने कसम खाएर ६ महिनाअघि जागिर प्रवेश गरेकी उनलाई घरपरिवार सँगै नहुँदा होस् वा सँगै बसेर दसैं मनाउन नपाउँदा पनि दुःख लागेको छैन । जागिरप्रति वितृष्णा छैन । कोरोना संक्रमण बढेसँगै घरपरिवारबाट स्वास्थ्यकर्मीलाई जागिर छाड्न दबाब हुन्छ । तर, उनी भने ६ महिनाअघि कोराना संक्रमितको मात्रै उपचार हुने टेकु अस्पतालको सेवामा प्रवेश गरेकी हुन् ।

६ घण्टाको ड्युटी सकेर उनी घर जान पाउँदिनन् । होटलको कोठामा पुग्छिन्, जुन होटल अस्पतालले आइसोलेसनका लागि बुक गरेको छ । एउटा कोठामा दुई जना राखेको छ । होटलको खर्च अस्पतालले नै बेहोर्ने गरेको छ । अरू बेला घर नजाँदा खासै न्यास्रो नमानेका रियाका आमाबाबुले छोरी दसैंमा पनि नआउने भएपछि भने खल्लो मानेका छन् । ‘फोनमा चाडबाडका बेला पनि किन नआउने भन्नुभएको छ । घर आउँदा कोरोना सर्न सक्छ भनेपछि उहाँहरूले न्यास्रो मान्नुहुन्छ तर सम्झाइरहेको छु,’ उनले भनिन्, ‘नियमित बिरामीसँगै हुँदा कहिले त घरपरिवार पनि बिर्सन्छु । हामी सधैं संक्रमितका साथमा हुन्छौं । यदि मलाई संक्रमण भएको रहेछ भने त बुबाआमालाई सर्छ कि भन्ने डर हुन्छ । त्यसैले घर जान मन छैन ।’ सिकिस्तै भएर आइपुगेका संक्रमितलाई निको पारेर पठाउँदा आमाबुबाको न्यास्रोसमेत मेटिने उनले बताइन् ।

बिहीबार बिहानको आफ्नो पालो सकिएपछि उनले सँगै जागिर प्रवेश गरेकी सिरहाकी विद्या कार्कीलाई ड्युटी हस्तान्तरण गरिरहेकी थिइन् । कुन बिरामीको अवस्था के छ भन्ने विद्यालाई सुनाइन् । उनले पनि काठमाडौंको तीनकुनेमा रहेका आमाबुबालाई नभेटेको एक महिना भइसकेछ । काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनबाट नर्सिङ सकेकी विद्याको पनि टेकुमा पहिलो जागिर हो । ड्युटी ‘हेभी’ भए पनि रमाइलो लागिरहेको उनले बताइन् । ‘पहिला १२ घण्टा ड्युटी हुन्थ्यो, अर्को दिन बिदा हुन्थ्यो । अहिले दैनिक ६ घण्टा गर्नुपर्छ, बिदा छैन,’ उनले भनिन्, ‘ड्युटी सकिएपछि घरमा होइन होटलमा जान्छौं । घरमा नगएको एक महिना भयो ।’ उनको पनि घरमा आमा र बुबा मात्रै छन् । ‘संक्रमित बढेपछि घर जान छाडेकी हुँ । पहिला दुई सातामा एकछिन बुबाआमा भेटेर फर्किन्थें । अहिले त फोन र म्यासेन्जरमा मात्रै भेट हुन्छ ।’ दसैंमा पनि उनको ड्युटीको पालो परेको छ । ‘घरबाट दसैंमा छुट्टी मिल्छ कि भन्नुभएको थियो मिल्दैन भन्दा आमाबुबा निराश हुनुभएको छ,’ उनले भनिन् ।

१७ औं निजामती सेवा दिवसमा उत्कृष्ट निजामती कर्मचारीबाट पुरस्कृत अस्पतालको आईसीयू नर्सिङ इन्चार्ज उषादेवी देवकोटाको दैनिकी पनि उस्तै छ । दैनिक १२ घण्टाभन्दा बढी अस्पतालमा बिरामीसँगै हुने उनी चैतदेखि नै होटलमा बसिरहेकी छन् । प्रायःजसो उनी बिहान ६ देखि बेलुका ८ बजेसम्म अस्पतालमै हुन्छिन् । होटलमा बस्दा घरको काम बर्बाद भयो भन्ने गरेको उनले बताइन् । छोरीको न्यास्रो लाग्दा फोनमा गफिन्छिन् । दुई साता काम गरेपछि पीसीआर गर्दा नेगेटिभ देखिए घरमा परिवारलाई भेट्न जाने गरेको उनले बताइन् । ‘एक छुट्टै कोठामा बस्छौं फेरि फर्कन्छौं,’ उनले भनिन्, ‘परिवारदेखि हामीलाई डर लाग्छ, हामीदेखि परिवारलाई ।’

अस्पतालमा जति पनि संक्रमित छन् उनीहरूलाई आडभरोसा दिने र उपचारको नेतृत्व गर्ने डा. अनुप बाँस्तोलाको सास्ती पनि अरूको भन्दा कम्ती छैन । बिहीबार त बिहानको खाना पनि बेलुका ५ बजे खाइरहेका थिए । बिहानै अस्पताल पुगेका उनले दिनभरि के गर्ने भनेर टिमसँग छलफल गरे । २१ जना आईसीयूमा र २० जना वार्डमा संक्रमित भर्ना भएका छन् । राउन्डमा उनीहरूलाई भेटे । ‘अरू बेला राउन्ड सकाएर खाना खान्थें आज त सीसीएमसीमा मिटिङ भएकाले त्यतातिर गएँ । खाना खानै बिर्सेछु,’ उनले भने । आकस्मिक कक्षमा ल्याएका तीन जनाको अवस्था बुझ्न उनी साँझ फेरि अस्पताल पुगे । ‘दिनभरि अस्पतालमै बिताएर घरमा आराम गरिरहेको हुन्छु । अस्पतालबाट बिरामीलाई समस्या भयो भनेपछि गाडीको गति बढाउँदै पुग्छु,’ उनले भने, ‘मुलुकमा संक्रमित देखिन थालेपछि कुनै पनि दिन बिदा बस्नसमेत पाएको छैन ।’

तस्बिर किरण पाण्डे/कान्तिपुर

सिकिस्त भएर आएका बिरामीलाई निको बनाउँदा उनी सबै दुःख भुल्छन् । सधैंजसो संक्रमितसँगै हुने भएकाले १५ महिने बच्चालाई समेत टाढैबाट हेरेर चित्त बुझाउँछन् । कोरोना सुरु हुँदा उनको बच्चा ६ महिनाको थियो, अहिले १५ महिनाको भइसक्यो । ‘यो अवधिमा उसलाई टाढैबाट हेरेर चित्त बुझाइरहेको छु,’ उनले भने, ‘सधैंजसो संक्रमितसँगै हुने भएकाले परिवारदेखि टाढै बसिरहेको छु ।’ अस्पतालबाट फर्केपछि उनी माथिल्लो तलामा एक्लै बस्छन् । परिवारसँग पनि दूरी कायम गरेर भेट्ने गरेको उनले बताए । उनको घरमा ६७ वर्षे बुबा र ६५ वर्षीया आमा छन् । ‘उहाँहरूलाई कोरोना सर्नबाट जोगाउनु छ,’ उनले भने । परिवारले ल्याएर अलग्ग राखिदिएको खाना खाएर ड्युटी जान्छन्, अनि छुट्टै कोठामा सुत्छन् । कोरोना देखिएपछि जागिरको समय पनि निश्चित नभएको उनले बताए । उनी अस्पतालका प्रवक्ता पनि हुन् । जतिसुकै व्यस्त भए पनि कोरोनासम्बन्धी पत्रकारले राखेको जिज्ञासाको उत्तर दिन होस वा होम आइसोलेसनमा बसेका संक्रमितलाई परेको समस्याको समाधान दिन पनि उनी भ्याउँछन् । अस्पतालमा कति बेड खाली छ ? भन्ने स्वास्थ्य मन्त्रालयले बारम्बार सोध्ने जानकारी दिन पनि उनले भ्याइरहेका हुन्छन् ।

तस्बिर किरण पाण्डे/कान्तिपुर

राज्यका उच्च तहका व्यक्तिलाई संक्रमित हुँदा सबैले सम्झने उनै बाँस्तोलालाई नै हो । कतिपयले घरमै बोलाउँछन् । उनी सकेसम्म फोनबाटै समस्या समाधान गर्छन् । ‘पछिल्लो दिन त आईसीयू चाहियो भन्ने फोन बढी हुन्छ । बेड खाली छैन भन्दा साह्रै दुःख लाग्छ,’ उनले भने । संक्रमितको उपचारमा प्रत्यक्ष सहभागी हुने टिममा उनीसहित ११ जना कन्सल्ट्यान्ट छन् । डा. अनुपजस्तै अन्य १० जना कन्सल्ट्यान्ट र स्टाफ नर्सहरूले घरपरिवार बिर्सेर संक्रमितको उपचारमा मात्रै व्यस्त हुन्छन् ।

‘दिनभरि अस्पतालमा हुन्छौं,’ डा. शम्भु अधिकारीले भने, ‘राति होटलमा बसे पनि अनड्युटी भएकाले जुन बेला पनि जानुपर्ने हुन्छ ।’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले चिकित्सक र स्वास्थ्यकर्मीको मिहिनेतकै कारण भर्ना भएका सबैजसो बिरामीलाई निको पारेर पठाउन सकिएको बताए । ‘अस्पतालमा आवश्यक पर्दा जुन बेला पनि उपस्थित भएर काम गर्न हाम्रा टिम तयार छन्,’ उनले भने ।

तस्बिर किरण पाण्डे/कान्तिपुर

अस्पतालको सेवाबाट प्रभावित भएकै कारण निजी अस्पतालमा भर्ना भएका बिरामीले समेत यहीं उपचार लिन पालोसमेत कुर्ने गरेका छन् ।

सरकारी अस्पताल होस् त टेकुजस्तो

– कृष्णदास मानन्धर, प्राध्यापक, त्रिभुवन विश्वविद्यालय

मलाई कोरोना देखिएपछि ५ दिनसम्म घरमै आइसोलेसनमा बसें । ज्वरो १०४ भन्दा घटेन । सास फेर्न पनि गाह्रो भएपछि टेकु अस्पतालको इमर्जेन्सीमा गएँ । मेरो सीटीस्क्यान, एक्सरे, ईसीजी तत्काल भयो । रिपोर्ट हेरेपछि तत्काल आईसीयूमा भर्ना गरियो । मेरो अवस्था गम्भीर भएपछि डाक्टर सबै जम्मा हुनुभयो । फटाफट उपचार भयो ।

अस्पतालको टिमवर्कबाट म साह्रै प्रभावित भएँ । स्टाफहरूको लगनशीलता देखें । मलाई राखेको कोठामा ६ वटा बेड थिए । एक जना बूढीआमै हुनुहुन्थ्यो । उहाँहरूलाई खुवाउने, ट्वाइलेटको व्यवस्था गर्ने, प्याड फेरिदिन त्यहाँका स्टार्फ नर्सहरूले कहिल्यै झन्झट मानेको देखिएन । मलाई सरकारी अस्पताल सेवा कस्तो हुने हो ? भन्ने लागेको थियो, सोचेभन्दा धेरै राम्रो । यतिसम्म कि नर्सिङ इन्चार्ज आफैं सफा गर्नुहुन्छ । खाजा र खाना व्यवस्था उत्तिकै राम्रो छ ।

प्रकाशित : कार्तिक ७, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

दसैंको शुभकामना !

सम्पादकीय

नेपालीहरूको सबैभन्दा ठूलो पर्व दसैं घरआँगनमा आइसक्दा पनि यसको आम रौनक विगतमा जस्तो छैन । उही याम, उस्तै मौसम तर उल्लास उत्तिकै छैन । उही पर्व, उस्तै महत्त्व तर उमंग त्यत्तिकै छैन । वर्षा सकिएपछिका यी दिनहरू रमाइला र घमाइला छन् । गर्मी हटिसकेको छ, जाडो पलाइसकेको छैन ।

मौसम उत्सवमय नै छ । तर, कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण मुलुकको सम्पूर्ण माहोल पर्वमय छैन । विश्वव्यापी संकटका रूपमा रहेको कोभिड–१९ को जोखिम यो पर्वोल्लासमा तगारो बनेर उभिएको छ । दसैंको मुख्य विशेषता जे–जे हुन्– बजारमा चहलपहल, शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड, लिंगेपिङ, रोटेपिङजस्ता गाउँटोल नै जम्मा भएर खेलिने खेल, लामो समयपछिको पारिवारिक जमघट, आफन्तहरूसितको भेटघाट र टीका–जमराका साथ आशीर्वाद ग्रहण– यी सबै क्रियाकलापहरू यसपालि संक्रमण विस्तारमा सहायक हुन सक्छन् । यही भयकै कारण यो वर्षको दसैं हर्सोल्लासका हिसाबले अलि फिक्का–फिक्का छ । तर, स्वास्थ्य सावधानी अपनाउन सक्यौं र संक्रमणबाट जोगियौं भने हाम्रा आगामी दिनहरू पक्कै पनि अझ उत्सवमय बन्न सक्नेछन् । त्यसैले, यो दसैंलाई हामी सबैले बडो सावधानीका साथ मनाउनुपर्नेछ ।

१५ दिनसम्म मनाइने मुलुककै ठूलो यस पर्वको आज सातौं दिन अर्थात् फूलपाती हो । आगामी तीन दिनलाई यो चाडका सर्वाधिक महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका–जमरासहित आशीर्वाद लिने परम्परा छ, जुन नेपालीहरूको मौलिक प्रचलन हो । मुलुकका केही भागमा यो दिन मात्रै टीका लगाइन्छ भने कतिपय स्थानमा यो क्रम दसैंको पन्ध्रौं दिन अर्थात् कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । यसपालि हामीले सबैभन्दा ख्याल गर्नुपर्ने यही अवसरमा हो । किनभने, हामी जति भेटघाट गर्छौं, जति धेरै जनाको घरमा पुग्छौं, त्यति नै जोखिम निम्त्याइरहेका हुन्छौं । त्यसैले, यस वर्ष हामीले प्रत्यक्ष भेटघाट र टीकाभन्दा पनि सुस्वास्थ्यको आशीर्वाद र आशिषलाई बढी जोड दिनुपर्ने अवस्था छ, जुन टाढैबाट पनि आदानप्रदान गर्न सकिन्छ ।

त्यसो त, करिब १० महिनाअघि चीनको वुहानबाट फैलन थालेको कोरोना भाइरसको संक्रमणले विश्वभरका पर्वहरू यसैगरी बिथोलेको छ । यसबीचमा धेरै देशमा विभिन्न चाड, पर्व, जात्रा र उत्सवहरू यसकै पिरलोमा त्यसै बितेका छन् । धुमधाम मनाइने चिनियाँ वसन्त चाडलाई फिक्का–फिक्का बनाएर सुरु भएको यो संकट आज नेपालकै ठूला पर्वहरू– दसैं घर–आँगनमा आइसक्दा र तिहार, नेपाल संवत् र छठ सामुन्ने हुँदा निकै ठूलो समस्या बनेर उभिएको छ । यो तथ्यलाई हामीले आत्मसात् गर्नैपर्छ । मित्रता, भाइचारा र पुनर्मिलनको यस पर्वमा हामी बृहत् पारिवारिक उत्सवमा त जुटिरहेका छौं, तर जमघट र हिँडडुलमा हामी बितेका सालमा जत्ति स्वतन्त्र हुन पाउँदैनौं । सबैले हरेक पाइलामा सतर्कता अपनाउनुपरेको छ । हामीले यसमा अप्ठ्यारो मान्ने होइन, स्थिति सहज नहुँदासम्म अभ्यस्त हुन सिक्नुपर्छ ।

नेपालीको ठूलो सांस्कृतिक पर्व भएकैले, जे भए पनि दसैंले धेरथोर खुसीको माहोल ल्याएकै छ । विगतका जस्तो नभए पनि कति सर्वसाधारण स्वास्थ्य सावधानी अपनाउँदै दसैं मनाउन आफू कार्यरत सहरबाट घर फर्किएका छन्, कति फर्किंदै छन् । संक्रमणको भयका कारण कति भने आफ्नो गाउँ–ठाउँ गएका छैनन् । जो जहाँ बसेका छन्, त्यहीँ हाँसी–खुसी पर्व मनाउने धूनमा छन् । स्वास्थ्य सेवासित जोडिएका कतिपय चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरूको दसैं संक्रमितको सेवामै बित्नेछ । अरू कार्यालयका कर्मचारीलाई जस्तो घरमै बसेर दसैं मनाउने सुविधा उनीहरूलाई छैन । सुरक्षाकर्मीहरूको अवस्था पनि यही हो । संक्रमणविरुद्धको मोर्चामा अग्रपंक्तिमा खटिने सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीहरू यसबेला हार्दिक नमनको हकदार छन् ।

सरकार आफ्नो दायित्वबाट विमुख हुँदै गएकाले पनि नागरिकहरू स्वयं बढी सावधान रहनुपर्नेछ । महामारी रोकथाम र नियन्त्रणका लागि खास पहल गर्न नसकेको सरकारले उपचारबाट पनि हात झिकिसकेको छ । त्यही भएर, जनसाधारणले आफूलाई रोग सर्नै नदिन बढी जोड दिनुपर्छ । सरकारले त ‘लकडाउन’ र निषेधाज्ञाका कारण क्रयशक्ति गुमाउन पुगेका नागरिकहरूलाई भार पर्ने गरी बढेको बजार भाउ पनि नियन्त्रण गर्न सकेको छैन । नागरिकहरूले दुःख–सुःख चाड मनाउनुपर्ने अवस्था छ । यसै पनि, स्वास्थ्य समस्याका कारण विगतमा झैं भव्य ढंगले यसपालि कुनै पनि पर्व मनाउन सकिने स्थिति छैन । तर, हामीले पर्याप्त स्वास्थ्य सावधानी अपनाउन सक्यौं भने आगामी वर्षमा त्यस्तो अवसर फेरि जुट्नेछ । त्यसैले, हरेक नेपालीले अहिलेको दसैंलाई सुस्वास्थ्यका चाडका रूपमा मनाउनुपर्नेछ । अहिले दौडादौड गरेर पहिलेजस्तो भीडभाड गर्ने समय छैन । आफन्तबीचकै सानोतिनो जमघटमा पनि मास्क पहिरिन र व्यक्तिगत दूरी कायम राख्न भुल्नु हुँदैन । घरपरिवारमै पनि धेरै ख्याल गर्नुपर्छ, जोखिमपूर्ण क्षेत्रबाट आएको सदस्यसित निश्चित अवधिसम्म दूरी कायम राख्नुपर्छ । सानो हेलचेक्र्याइँले ठूलो जोखिम निम्त्याउन सक्छ, त्यसप्रति सचेत बन्नुपर्छ । समग्रमा, दसैंलाई यसरी उत्सवका रूपमा मनाऔं कि, आगामी हरेक दिन पनि सधैं उत्सवमय भइरहोस्, थोरै पनि हेलचेक्र्याइँले दसैं कसैलाई दशा नबनोस् । बडादसैंको पावन अवसरमा सबैलाई हाम्रो हार्दिक शुभकामना !

प्रकाशित : कार्तिक ७, २०७७ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×