२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

ज्यान बच्यो, बास बग्यो

अर्घाखाँचीको शीतगंगामा १७ घर पहिरोमा बगेपछि स्थानीयको चौरमा बास

गुल्मी र बुटवल — एक्कासि जमिन हल्लिएपछि शुक्रबार दिउँसो तुलसा अधिकारी भागिन् । छोराछोरी र अन्य छिमेकीलाई हाँक हालिन् । फर्केर हेर्दा पूरै घर पहिरोले बगाइसकेको थियो ।

ज्यान बच्यो, बास बग्यो

पहिरोले अर्घाखाँचीको शीतगंगा–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर बस्नै नमिल्ने गरी भत्किएका छन् । ‘दौडिँदा मोबाइल पनि हराएछ, खाली खुट्टा भाग्यौं,’ अधिकारीले भनिन्, ‘अन्नपात, लत्ताकपडा, गरगहना, भैंसी र बाख्रा नोक्सान भयो ।’

उनको ५ जनाको परिवार अहिले चौरमा छ । ‘कहाँ बस्ने, के खाने कुनै टुंगो छैन, शरीरको लुगाबाहेक केही छैन,’ उनले भनिन्, ‘न बास न गाँस भयो । कस्तो विपद् आइलाग्यो ।’ ताराबहादुर नेपालीले प्रतीक्षालयमा रात बिताए । ‘घरगोठ, खेतबारी भत्कियो,’ उनले भने, ‘भिरालो बस्ती पनि होइन, ठूला खाल्डाखुल्डीसहित जमिन भासिएर पहिरो गयो ।’ ऋण काढेर जोडेको खेतबारी र अन्नबाली बगेको उनले बताए । गाउँको ७ सय रोपनी क्षेत्रफलभन्दा धेरै खेतीयोग्य जमिन पहिरोले पुरिएर, बगेर र भासिएर नोक्सान भएको छ । बचेको खेतबारी पनि चिरा परेको छ ।

उक्त बस्तीका १७ घर एकैचोटि बगेका हुन् । यहाँका बासिन्दा घर र मेलामा व्यस्त थिए । ९९ जना भागेर सुरक्षित भए । पहिरो स्थल आसपास क्षेत्रका १८ घरपरिवारलाई उच्च जोखिममा भएकाले अन्यत्र सारिएको छ । रातभर चौर, रजिया माविको भवन र केही घरमा बसेर विस्थापितले रात बिताए । विस्थापित परिवारका लागि यस क्षेत्रको खाली जग्गा खोजेर एकीकृत बस्तीको विकास गरिने शीतगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

साढे २ महिनादेखि विद्यालयमा बास

गुल्मीको मुसीकोट नगरपालिका–२, मुसीकोट गाउँका गोविन्द सार्कीको घर गत असार १८ गते राति पहिरोले भत्कायो । त्यसपछि उनको परिवारको बास स्थानीय विद्यालयमा छ । गोठ बगाउँदा उनका भैंसी र बाख्रासहित ३५ चौपाया मरे ।

परिवारका पाँच जनाले भागेर ज्यान जोगाए । उक्त पहिरोले गाउँ चिरा परेको छ । भिरालोमा बस्ती भएकाले बग्ने खतरा छ । उनी मात्र होइनन्, घर बगेपछि साढे दुई महिनादेखि मुसीकोटका १६ परिवारको विद्यालयमै बास छ । ‘भागेर ज्यान बच्यो, घरगोठ र सम्पत्ति रहेन,’ गोविन्दले भने, ‘दुःख गरेर जोडेको सम्पत्ति पहिरोले लग्यो । अन्नपात, लत्ताकपडा, गरगहना नष्ट भए ।’ उनका अनुसार एक लाख मूल्यका खसीबोका र कुखुरा थिए । एक लाख रुपैयाँ मूल्य पर्ने दुहुनो भैंसी पनि माटोमुनि पुरिएको उनले सुनाए । पहिरोमा परी यहाँ एक जनाको ज्यान गएको थियो । मुसीकोटसित सीमा जोडिएको इस्मा गाउँपालिका–१ का तीन जनाको मृत्यु भएको थियो ।

अब विद्यालयमा पढाइ हुने भएपछि कहाँ गएर ओत लाग्ने भन्ने चिन्ताले विस्थापितलाई सताउन थालेको छ । ‘घर आधा चर्केको छ, घरभित्र र बाहिर जमिन चिरा परेको छ,’ विस्थापित नन्दबहादुर सार्कीले भने, ‘कतिबेला पहिरोले बगाउने हो, टुंगो छैन । पूरै गाउँ छियाछिया परेको छ, कहाँ गएर बस्नु ?’ यहाँका ढालबहादुर खत्रीको १० जनाको परिवार मुसीकोटदेखि केही पर देउराली गाउँमा आधा घर मागेर बसेका छन् । ‘भैंसी, बाख्रा, कुखुरा सबै यहीँ ल्याएको छु, उतिबेला चर्किएको गोठ अहिले आधा ढलिसक्यो, पहिरो बग्दै रोकिँदै गरेको छ,’ उनले भने । अब त्यहाँ गएर बस्न सक्ने अवस्था नभएको उनले बताए । ‘सुक्खा हुँदा भत्किँदैन, पानी पर्दा थोरै, थोरै भत्किरहन्छ, त्यस्तो ठाउँमा कसरी बस्ने ? जोखिम छ,’ उनले भने । पानी नपरेका बेला उनले घरको सबै सामान सार्न भ्याएको बताए ।

लगातार परेको अविरल वर्षाका कारण जमिन चिरा पर्ने र भत्किने गरेपछि यहाँका २० घरपरिवार विस्थापित भएको वडाध्यक्ष लक्ष्मण खत्रीले बताए । उनका अनुसार पूरै वडा पहिरोले छियाछिया भएकाले बसाइँ सार्नुको विकल्प छैन । मुसीकोटका प्रमुख सोमनाथ सापकोटाले विस्थापितलाई अन्यत्र सार्न ठाउँको खोजी भइरहेको बताए । ‘त्यहाँ बस्न लायक छैन, अन्यत्र जग्गा खोजेर एकीकृत बस्ती विकास गरी प्रदेश सरकारको सहयोगमा घर निर्माण गर्ने योजना छ, अझै सबैलाई जग्गा पाइएको छैन,’ उनले भने । पहिरोबाट विस्थापितलाई खाने र बस्ने व्यवस्था मिलाएको उनले बताए ।

बाढीको वितण्डा

तीन दिनदेखिको अविरल वर्षापछि रूपन्देहीको तिनाउ नदीमा आएको बाढीले बगाएर बुटवलकी एक महिलाको ज्यान गएको छ । इलाका प्रहरी बुटवलका डीएसपी प्रतीतसिंह राठौरका अनुसार शुक्रबार राति घरबाट निस्किएकी बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राईको नदीले बगाएर मृत्यु भएको हो । उनको शव शनिबार बिहान बुटवल–१५ चंकीपुरस्थित दानव नदीमा फेला परेको हो । गत असोज ७ गते हराएको भनी निवेदन दर्ता भएका तिलोत्तमा नगरपालिका–२ का २९ वर्षीय राजेन्द्र पौडेलको पनि शनिबार शव फेला परेको छ । डीएसपी राठौरका अनुसार तिलोत्तमा–२ स्थित तपाहा नहरमा शव फेला परेको हो ।

शुक्रबार राति तिनाउलगायत विभिन्न खोलामा आएको बाढीले दर्जनौं बस्ती डुबेका छन् । रूपन्देहीमा शनिबार दिउँसोसम्म २४ घर भत्किएका छन् । १७ घर बगाएको छ भने ६ जना घाइते भएका छन् । बाढीले दर्जनौं घरपरिवार विस्थापित हुनुका साथै एक सयभन्दा बढी घर डुबानमा परेका छन् । दानव नदीमा आएको बाढी बस्तीमा पस्दा सम्मरीमाई गाउँपालिका देबन्डीका पर्वावती मल्लाहको घर भत्किँदा ५ जना घाइते भएका छन् । उनीहरूको भीम अस्पताल भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

दानव नदीमा आएको बाढीले रूपन्देहीको दक्षिणी क्षेत्र सम्मरीमाई, मायादेवी, मर्चवारी, कोटहीमाई र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५ दर्जनभन्दा धेरै कच्ची घर भत्केका छन् । पसाएको सयौं बिघा धान खेत डुबानमा परेर जलमग्न भएको छ । सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले वडा ५, ७ र ३ मा धेरै क्षति पुगेको बताए । मर्चवारी गाउँपालिका– १, ३, ६ र ७ मा धेरै क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले दुई दर्जनभन्दा धेरै कच्ची घर भत्किएको र कैयौं स्थानमा धानसहितको खेत डुबानमा परेको बताए । जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले वर्षा र बाढीले मानवीय क्षति नभएको तर केही कच्ची घर र धानखेतमा क्षति पर्‍याएको बताए ।

प्रकाशित : आश्विन ११, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?