ताप्लेजुङकी कोरोना संक्रमितको विराट मेडिकलमा मृत्यु

आश्विन ५, २०७७

आनन्द गौतम

ताप्लेजुङ — कोरोना संक्रमणबाट पाथीभरा याङवरक गाउँपालिकाकी ३७ वर्षीया महिलाको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचाररत उनको सोमबार बिहान ११ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भदौ १२ गते ताप्लेजुङबाट उपचारका लागि विराटनगर गएकी उनमा ३० गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । स्थानीयका अनुसार झापा कारागारमा रहेका उनका पिता गत असारमा बिरामी परेका थिए । उनको मृत्युपछि भदौ ५ गते ताप्लेजुङमै ल्याएर सद्गद गरिएको थियो । बुबाको सद्गद्पछि उनी पनि बिरामी परिन् । 

कलेजो र मृगौलाकी बिरामी उनले ११ गते ताप्लेजुङकै अस्पतालमा कोरोना परीक्षण गराएकी थिइन् । डाक्टरको सल्लाह अनुसार उपचारका लागि विराटनगर गएकी उनको घरबाट गएको एक महिनामा मृत्यु भएको हो । ताप्लेजुङमा कोरोनाबाट संक्रमितको मृत्यु भएको यो पहिलो केस हो ।  

ताप्लेजुङमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १३ जना रहेको थियो । संक्रमितहरु सबै विदेशबाट आएका थिए । तीमध्ये ८ जना जिल्लाकै उद्योग वाणिज्य संघको आइसोलेसनमा निको भएर घर फर्किएका छन् भने बाँकी ५ जना धरानको घोपा, विराटनगरलगायतका अस्पतालमा गएर कोरोनामुक्त भएर घर फर्किएका छन् ।

कोरोना भाइरस

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully