दंगा नियन्त्रण गणका ३० जना प्रहरीमा कोरोना संक्रमण

आश्विन ५, २०७७

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा सोमबार ३० जना प्रहरीसहित ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनवलमा रहेको दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत ३० जनामा काेराेना पुष्टि भएकाे हाे । जसमा प्रहरी नायब उपरीक्षकसहित प्रहरी जवानसम्म छन् ।

यसअघि गणमा कार्यरत ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरी पठाइएका मध्ये ३० जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णप्रसाद पोखरेलले बताए । 

संक्रमित सबै १९ देखि ५१ वर्षसम्मका पुरुष छन् । यसैगरी केन्द्रिय प्रयोशाला टेकुमा गरिएको स्वाब परीक्षणमा जिल्लाको पाल्हिनन्दन र रामग्राम नगरपालिकाका २४ जनामा पनि कोरोना पुष्टि भएको छ । यस अगाडि सो गणमा कार्यरत ६ जना प्रहरीमा संक्रमण देखिएपछि उनीहरुको सम्र्पकमा आएका सबैको स्वाब संकलन गरी  परीक्षणका लागि पठाइएको थियो ।

यससँगै जिल्लामा हालसम्म  ४  सय  ९९ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये २ सय २५ जना संक्रमण मुक्त भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  संक्रमित सबै होम आइसोलेसनमा राखिने बताइएको छ । 

कोरोना भाइरस

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully