संक्रमण रोक्न संयुक्त गस्ती

आश्विन ५, २०७७

मनोज पौडेल

काठमाडौँ —  नेपालले कोरोना भाइरस संक्रमणका कारण सीमा बन्द गर्ने घोषणा जारी राखेसँगै भारतसँगको सीमा क्षेत्रमा संयुक्त गस्ती थालिएको छ । सीमा बन्द कायम रहे पनि सीमावर्ती क्षेत्रमा संक्रमण विस्तारको जोखिम कम गर्न तथा अवैध र गलत काम नहोस् भन्दै नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती थालेका हुन् ।

लामो समयदेखिको सीमा बन्दका कारण अवाञ्छित र चोरीतस्करी गर्नेहरू सलबलाउन थालेकाले सतर्कता अपनाउनुपरेको दुवै पक्षका सुरक्षा अधिकारीले बताएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय सिमानाका बन्द राख्ने निर्णय गरेको छ । निर्णय सार्वजनिक भएसँगै सशस्त्र र नेपाल प्रहरी तथा भारतीय एसएसबी (सीमा सुरक्षा बल) का सुरक्षाकर्मीले शनिबार गस्ती थालेका हुन् । लुकीचोरी आवतजावत गर्न प्रयोग गरिने चोर बाटो र साना सीमा नाकामा सतर्कता अपनाएको सशस्त्र प्रहरीले जनाएको छ ।

शनिबार पिल्लर–५६७ देखि ५६९ सम्मको दुई किलोमिटरभन्दा बढी क्षेत्रमा गस्ती गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक निरञ्जन कार्की र ५० औं बटालियनअन्तर्गत भारतको बढनी बीओपी इन्चार्ज असिस्टेन्ट कमान्डेन्ट सुमित हरित नेतृत्वमा हतियारसहित गस्ती गरिएको थियो ।

एसएसबीको कुकुरसहित टोली परिचालित थियो । गस्तीमा दुवै देशका गरी २६ सुरक्षाकर्मी संलग्न थिए । पश्चिमको सिर्सिहवा नाकादेखि लक्ष्मीनगर, झण्डेनगर, कृष्णनगर, सेमरा, शिवानगर र कुकुर भुकुवासम्म तालिम प्राप्त कुकुरसहित गस्ती गरिएको छ । 

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully