पाल्पामा कोरोना संक्रमणबाट ४१ वर्षीया महिलाको मृत्यु

आश्विन ३, २०७७

माधव अर्याल

पाल्पा — पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । निमोनियाले बिरामी परेकी तानसेन नगरपालिका–१४, कुसेनीकी ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । 

तीन दिनअघि अस्पतालमा उपचारका लागि आएको र शंकास्पद लक्षण देखिएपछि कलेजले पीसीआर परीक्षणका लागि महिलाको स्वाब पठाएको थियो । उनको शुक्रबार बेलुकी स्वाबको नतिजा पोजिटिभ आएको अस्पतालका निर्देशक डा.राजु शाक्यले बताए । तीन दिनअघि उपचार गर्न अस्पताल आए पनि भर्ना गर्नुपर्ने बिरामीलाई आफन्तले  भर्ना नगरिकन जबरजस्ती घर लगेका थिए ।

व्यथाले च्यापेपछि पुन: शुक्रबार अस्पतालमा ल्याएको डा. शाक्यले बताए । ‘हामीले यही भर्ना गरेर उपचार गर्नुपर्छ भन्दाभन्दै घर लगेका थिए,’ उनले भने, ‘हामीले शंका लागेर स्वाब पठायौं । अहिले पोजिटिभ आएपछि अस्पतालमै स्वास्थ्यकर्मीलाई समस्या भएको छ ।’

लुम्बिनी मेडिकल कलेजमा ३ डाक्टरसहित ११ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरस संक्रमणबाट यसअघि पाल्पामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ । पूर्वखोला गाउ‘पालिका, सिलुवाका ४५ वर्षीय पुरुष,  तानसेन नगरपालिका, पिपलडॉडाकी ३० वर्षीय महिला र तानसेन नगरपालिका, टिन्टीऑपका ५२ वर्षीय पुरुषको मृत्यु भइसकेको छ । 

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully