प्लाज्मा थेरापी गर्न एन्टिबडी ‘परीक्षण जरुरी’

रोग निको भइसकेका दाताको रगतमा प्रभावकारी रुपमा कोभिडविरूद्धको एन्टिबडी नभए उपचार प्रक्रियामा खासै फाइदा नहुने

आश्विन ३, २०७७

अतुल मिश्र

काठमाडौँ — विज्ञहरूले कोभिड–१९ का जटिल बिरामीलाई कन्भल्सेन्ट प्लाज्मा थेरापीमार्फत उपचार गर्नुअघि रक्तदाताको शरीरमा रोगविरुद्घको प्रतिरोधी क्षमता (एन्टिबडी) बढे–नबढेको सुनिश्चित गर्नुपर्ने बताएका छन् । थेरापीका लागि छानिएका दाताको रगतमा एन्टिबडी परीक्षण गर्नुपर्नेमा उनीहरूको जोड छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा सुरु गरेको कन्भल्सेन्ट प्लाज्मा थेरापीअन्तर्गत हालसम्म दाताको शरीरमा एन्टिबडीको मात्रा हेरिने गरिएको छैन । हाल मुलुकका विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा ‘अवलोकनात्मक अध्ययन’ का रूपमा कोभिडका बिरामीहरूको प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ ।

रोग निको भइसकेका दाताको रगतमा प्रभावकारी रूपमा कोभिडविरुद्घको एन्टिबडी नभए यसले उपचार प्रक्रियामा खासै फाइदा नहुने विज्ञहरूको दाबी छ । ‘बिरामीलाई प्लाज्मा थेरापी दिनुभन्दा अघि दाताको शरीरमा कोभिडविरुद्घको एन्टिबडी बनेको छ वा छैन यसको परीक्षण अत्यावश्यक छ,’ त्रिवि शिक्षण अस्पताल बायोकेमिस्ट्री विभागका डा. विनोद यादवले भने, ‘परीक्षण नगरी लिइएको प्लाज्मामा एन्टिबडी छ वा छैन सुनिश्चित नहुने भएकाले यो अँध्यारोमा तीर हान्नुजस्तो मात्रै हुनेछ ।’

विज्ञहरूका अनुसार कोभिडविरुद्घ सबै व्यक्तिमा एन्टिबडी बन्दैन । बन्नेहरूमा पनि कसैमा कम त कसैमा बढी बन्छ । यो एन्टिबडी कति जनामा बन्छ वा बन्दैन यसबारे अध्ययन नै छैन । डा. यादवले भने, ‘त्यसकारण एन्टिबडीको स्तर हेरेपछि मात्र उपयुक्त देखिए प्लाज्मा दानमा लिनुपर्छ ।’

‘जति बढी सेना (एन्टिबडी) त्यति बढी शत्रु (कोभिडको भाइरस) नास हुन्छ,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्माले भने, ‘दाताको शरीरबाट प्लाज्मा लिनुभन्दा अगाडि एन्टिबडी हेर्न पाए राम्रो हो ।’

त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म १२ जना कोभिड संक्रमितको यसै माध्यमबाट उपचार भइसकेको छ । स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार देशभर ४१ जनाको प्लाज्मा थेरापी भइसकेको छ । ‘जसले प्लाज्मा दान दिइरहेका छन्, त्यसमा एन्टिबडी छ वा छैन अथवा कति छ, त्यो निश्चित हुने स्थिति छैन,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास भन्छन्, ‘हाल हामी जुन व्यक्ति संक्रमित भएर निको भएका छन्, उनीहरूका एन्टिबडी बनेको हुनुपर्छ भन्ने मान्यताअनुसार प्लाज्मा थेरापी गर्दै छौं ।’ कोभिडको लक्षण भएर निको भएका प्लाज्मा दातालाई प्राथमिकता दिने गरेको बताउँदै उनले भने, ‘अहिलेसम्म हामीले गरेको प्लाज्मा थेरापीअन्तर्गत हरेक व्यक्तिको करिब १० मिलिलिटर प्लाज्मा पछि एन्टिबडीबारे जाँच गर्न सुरक्षितसमेत राखेका छौं ।’ डा. यादवले प्लाज्मा दान दिने व्यक्तिमा रगतको मात्रा १२ युनिटभन्दा बढ्दा एन्टिबडीको स्तर उल्लेख्य हुनुपर्ने बताए ।

कस्ता बिरामीलाई थेरापी ?

मुलुकमा प्लाज्मा थेरापी गर्नुपर्ने कोभिड बिरामीको मापदण्डसमेत तोकिएको छ । यसअन्तर्गत अक्सिजन दिनुपर्ने आवश्यकता भएका सघन उपचार कक्ष (आईसीयू) मा रहेको बिरामी हुनुपर्छ । दुवै फोक्सोमा निमोनिया हुनुका साथै ‘अक्सिजन स्याचुरेसन’ ९२ प्रतिशतभन्दा कम हुनुपर्छ । बिरामीको श्वास फेर्ने दर एक मिनेटमा ३० पटकभन्दा माथिसमेत हुनुपर्ने डा. दासको भनाइ छ ।

यस्तै, थेरापीका लागि प्लाज्मा दान गर्ने व्यक्तिमा पछिल्लोपटक पीसीआर प्रतिवेदन नेगेटिभ हुनुका साथै कोभिडको लक्षण निको भएको दुई साता भएको हुनुपर्छ । रक्तदाता र ग्रहणकर्ताको रक्त समूहसमेत मिल्नुपर्छ । एक जना कोभिड बिरामीलाई थेरापीअन्तर्गत करिब दुई सय मिलिलिटर प्लाज्मा चाहिन्छ । तीन साताअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘डब्लूएचओको मान्यताअनुसार प्लाज्मा थेरापी प्रयोगात्मक स्तरमा छ र यसको मूल्यांकन जारी रहनुपर्छ ।’ डा. स्वामिनाथनले यो उपचारलाई प्रामाणिक रूप दिन मुस्किल रहेको बताएकी थिइन् ।

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully