कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विज्ञ भन्छन्– ‘संक्रमणको जोखिम घटेको छैन, स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्छ’

बुनु थारु

काठमाडौँ — शुक्रबार देशभरि अहिलेसम्मकै उच्च संख्यामा एकैदिन २०२० जना कोरोना संक्रमित थएिका छन् । त्यसैगरी उपत्यकामा पनि ८५९ को संख्यामा संक्रमित थपिएका हुन् । हालसम्म नेपालका कोरोना संक्रमितको संख्या ६१ हजार नाघिसकेको छ । संक्रमण कम गर्न सरकारले लकडाउन तथा निषेधाज्ञा गरेको थियो तर, संक्रमितको संख्यामा कमी आएको छैन ।

विज्ञ भन्छन्– ‘संक्रमणको जोखिम घटेको छैन, स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्छ’

सरकारले मापदण्ड र सर्तसहित लामो दूरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णयसँगै एक जिल्लाबाट अर्को जिल्लामा जाने मानिसको संख्या बढेको छ । गत चैत ११ मा जारी भएको लकडाउनपछि यातायात बन्द रहेका थिए ।

>> नेपालमा २४ घन्टामा हालसम्मकै उच्च कोरोना संक्रमित, २ हजार २० जनामा संक्रमण पुष्टि

यातायातबाहेक पसल, सपिङ मललगायतका अरु क्षेत्र पनि सञ्चालनमा आएका छन् र मानिसको गतिविधि बढ्दो छ । मानिसको गतिविधि तथा चहलपहल बढेसँगै संक्रमणको अवस्था अझै भयावह त हुने होइन भन्ने प्रश्नहरु खडा भएका छन् । विज्ञहरुका अनुसार सर्तकता नअपनाए स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्छ ।

‘मास्क नै संक्रमणबाट बच्ने मुख्य हतियार’


जनस्वास्थ्य विज्ञ डा. शरद वन्त भन्छन्, ‘अहिले सबै क्षेत्र खोलिएसँगै हामी संक्रमणको जोखिमबाट टाढा भयौं भन्ने पटक्कै होइन । हिजोभन्दा झन् संक्रमण बढी भइरहेको देखिन्छ । पहिला जस्तै सबै सामान्य छ भनेर त्यस्तो व्यवहार हामी चाहेर पनि गर्न मिल्दैन । हिजोको जस्तो जिन्दगी छैन । पसल, कार्यालय जुनसुकै ठाउँमा पनि सावधानी अपनाउनु जरुरी छ ।’

डा. वन्तका अनुसार संक्रमण रोक्न नागरिकको झन् दायित्व हुने हुन्छ । ‘दूरी कायम गर्ने, मास्क लगाउने त अनिवार्य रुपमा कडा पालना गर्नुपर्छ । लकडाउनमात्र समस्याको समाधान हुन सक्दैन भनेर त्यही अनुसार जिन्दगी अघि बढाउनुपर्छ । अझैपनि सावधानी अपनाएनौं भने तेस्रो चरणको बन्दाबन्दीको सामना गर्नुपर्ने हुनसक्छ । चाडपर्व आउँदैछन् । झन् भयावह स्थिति नआउला भन्न सकिन्न,’ उनले भने ।

त्यसैगरी मलिक्यूलर वैज्ञानिक डा. समिरमणि दिक्षितले काठमाडौं बाहिर वा जिल्ला ओहोरदोहोर गर्दा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार कोरोना संक्रमणबाट बच्न सबैभन्दा ठूलो हतियार भनेको मास्क नै हो । उनी भन्छन्, ‘सक्नेले जुन–जुन जिल्लामा जानुहुन्छ ४–५ दिनपछि पीसीआर परीक्षण गराउँदा उपयुक्त हुन्छ । त्यसैगरी गाउँ पुग्दा पनि वृद्धवृद्धा तथा बालबालिका नजिक नपर्ने र कम्तीमा पनि हप्ता १० दिनसम्म छुट्टै बस्नुपर्छ ।’


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले संक्रमण बढिरहेको अवस्थामा सतर्क हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘खासमा सम्भव भएसम्म त पीसीआर चेक गरेर ओहोरदोहोर गर्दा राम्रो, आफैं पनि ढुक्क भइन्छ तर, यो त्यति सम्भव नहोला । पीसीआरको मूल्य अझै घट्यो भने सजिलो हुन्छ । बाटोबाटोमा हेल्थ बुथ बनाएर स्वास्थ्यकर्मीको टोलीले ज्वरो नाप्नुपर्छ । दक्षिण कोरियाको अप्रोच अपनाइनुपर्छ । सबैको परीक्षण गरिनुपर्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले योजनाविहीन रुपमा सरकार गइरहेको बताउँछन् । ‘आजभन्दा दुईहप्तापछि के हुन्छ भनेर पनि नसोचेर काम गरिरहेको छ सरकार । यसरी गैरजिम्मेवार तरिकाले महामारी नियन्त्रण हुँदैन । तथ्यांक र विज्ञानलाई पछ्याएर काम गर्नुपर्छ । यस्तै अवस्था रह्यो भने नजिकिँदै गरेको चाडपर्व पनि मनाउन पाइँदैन होला,’ उनले भने ।

उनले सरकारले योजनाबद्ध रुपमा हृवात्तै लकडाउन नखोलिकन बिस्तारै कसरी खोल्न सकिन्छ भनेर सोचेर जानुपर्ने बताउँछन् । ‘परीक्षणको दायरा कमै राख्ने, कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने अनि संक्रमणको जोखिम बढी नै रहन्छ । जो खानै पााएका छैनन् । समस्यामा परेका छन् उनीहरुलाई कसरी के गर्दा राहत हुन्छ त्यही अनुसार सोच्नुपर्‍यो,’ उनले भने ।

समुदायमा संक्रमण गइसकेको र यो स्थिति अझै भयावह हुन सक्ने बताउँछन् संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी । उनी भन्छन्, ‘काठमाडौं उपत्यकामा समुदायमा संक्रमण गइसक्यो, स्थिति नियन्त्रणभन्दा बाहिर गइसक्यो । व्यापक महामारी देखिने पक्का छ । उपत्यकाबाहिर जाने मानिसहरु गाउँगाउँमा जाँदा त्यहाँ पनि संक्रमण धेरै फैलिन्छ ।’

डा. अधिकारीका अनुसार समुदायमा संक्रमण रोकथामका लागि केही पनि काम गरिएको छैन । स्थानीय तहलाई पनि राम्ररी जिम्मा लगाइएको छैन । उनी भन्छन्, ‘काठमाडौंमा अहिले नै आईसीयू बेड पाउन गाह्रो भइरहेको छ । व्यापक महामारी भयो भने मृत्युदर बढ्न सक्छ । अस्पतालमा बेड पाइँदैन । समुदायमा संक्रमण फैलिन नदिने सिल हान्ने हो कि, पुल टेस्ट गर्ने हो कि । आईसीयू बेड तथा भेन्टिलेटेर तथा अक्सिजनन थप्ने र व्यापक महमारीको तयारीमा लागिहाल्नुपर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जबसम्म सर्वसाधारणले आफ्नो बानी परिवर्तन नगरेसम्म कोरोना संक्रमणको जोखिम नघट्ने बताउँछन् । डा. गौतम भन्छन्, ‘आज सबैभन्दा उच्च संक्रमण देखिएको छ, हामीले पटक पटक भनिरहेका छौँ अनावश्यक रुपमा घरबाहिर ननिस्किने, २ मिटरको दुरी कायम गर्ने र मास्क लगाउनुर्छ भनेर तर धेरैले पालना गरेको पाइँदैन ।’

‘सरकारले नियन्त्रण गर्न बन्दाबन्दी तथा निषेधाज्ञा गर्‍यो, परीक्षण निःशुल्क गरेको छ, सिमित स्रोत साधनका बीच पनि निःशुल्क उपचार गरेको छ, आइसोलेसन सेन्टरमा राखेर दालभात खुवाएकै छ, सरकारले के गरेको छैन ?’ डा. गौतमले प्रश्न गरे ।

प्रकाशित : आश्विन २, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?