कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा लक्षणसहितका संक्रमित थपिए

‘केही सातायता समुदायमै फेला परेका संक्रमितमा पनि लक्षण देखिन थाल्यो’
चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णालीमा लक्षणसहितका बिरामी देखिन थालेका छन् । भदौयता लक्षणसहितका संक्रमित बढ्दै गएको प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. प्रदीप न्यौपानेले बताए ।

कर्णालीमा लक्षणसहितका संक्रमित थपिए

उनका अनुसार प्रदेश अस्पतालको आइसोलेसनमा रहेका संक्रमितमध्ये २१ जनालाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको छ । आईसीयूमा ५ वर्षका बच्चादेखि वृद्धसम्मकालाई राखिएको उनले बताए ।

कोरोना विशेष अस्पतालमा आइतबार ६६ जना संक्रमित उपचाररत छन्, जसमध्ये ११ जनामा लक्षण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लामा पनि निको भएर फर्किएका १ सय १४ जनामध्ये १५ जनामा लक्षण देखिएको थियो । अस्पताल निर्देशक डा. मंगल रावलका अहिले आइसोलेसनमा रहेका ५ जना संक्रमितलाई भने कुनै पनि लक्षण देखिएको छैन ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. न्यौपानेले यसअघि करिब ३ प्रतिशत संक्रमितमा मात्रै लक्षण देखिएकामा साउन अन्तिम सातायता १० प्रतिशतभन्दा बढी बिरामीमा लक्षण देखिएको बताए ।

‘यसअघि देशबाहिरबाट आएकाहरूमा लक्षण देखिएको थियो,’ उनले भने, ‘तर केही सातायता समुदायमै फेला परेका संक्रमितमा पनि लक्षण देखिन थालेको छ ।’ अहिलेसम्म केही संक्रमितलाई आईसीयूमा राख्नुपरे पनि भेन्टिलेटरमा भने राख्नुपर्ने अवस्था नआएको डा. न्यौपानेको भनाइ छ । कोरोना संक्रमित ६ जनाको मृत्यु भएको कर्णालीमा असार ९ गतेयता मृत्यु भएको छैन । सुर्खेतका एक संक्रमितको भने काठमाडौंमा भदौ १७ गते मृत्यु भएको थियो ।

कर्णालीमा हालसम्म २ हजार ७ सय ७६ कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये २ हजार ३ सय ९५ (८६ दशमलव २७ प्रतिशत) निको भएका छन् । कर्णालीका विभिन्न आइसोलेसनमा अहिले ३ सय ७५ जना संक्रमित उपचाररत रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये अहिलेसम्म ९२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । होटल आइसोलेसनमा सुर्खेतका ४ जना छन् ।

प्रकाशित : भाद्र २८, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?