वीरगन्ज — नारायणी अस्पतालमा विगत ८ दिनदेखि प्लाज्मा थेरापीबाट उपचार भइरहेका एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार सर्लाहीको चकरघट्टा गाउँपालिका–३, सुन्दरपुर निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान १० बजेर २० मिनेटमा मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वासप्रश्ववासमा समस्या देखिएपछि आफन्तले ती पुरुषलाई भदौ १३ मा नारायणी अस्पताल ल्याएका थिए । भदौ १४ मा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । चिकित्सकका अनुसार ती पुरुषमा गम्भीर किसिमको कोरोना संक्रमण थियो ।
अन्य विधिभन्दा प्लाज्मा थेरापी नै उपयुक्त लागेपछि गत आइतबार राति १० बजेदेखि उपचार थालिएको थियो । गत आइतबार राति करिब २ घन्टासम्म चलेको प्लाज्मा थेरापी पछि संक्रमित पुरषको स्वास्थ्य सुधारोन्मुख रहेको भनी उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहले प्रतिक्रियासमेत दिएका थिए ।
प्लाज्मा थेरापी गरेको आठौं दिनमा उपचारको क्रममै संक्रमित पुरुषको मृत्यु भएको हो ।
