पोखरा — कोरोना संक्रमित पोखरा–६ लेकसाइडका ३७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचारका क्रममा ती पुरुषको बिहीबार साँझ मृत्यु भएको हो ।
ती पुरुषलाई बिहीबार नै प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट साँझ ५:२० मा रेफर गरी पोखरा ल्याइएको थियो । उनको उपचारको क्रममा साढे ५ बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताए ।
गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । हालसम्म कास्कीका ५, गोरखा र तनहुँका ३–३, स्याङजा र नवलपुरका २–२, म्याग्दी, लमजुङ र बागलुङका १–१ जना कोरोना संक्रमितको निधन भएको हो ।
