कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोनासँगै कीटजन्य रोगको जोखिम, गत पुसदेखि देशभर २४६ डेंगुका बिरामी देखिए

७६७ स्क्रब टाइफसका केस पनि देखिए
बुनु थारु

काठमाडौँ — ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर पुस महिनादेखि भदौसम्म २४६ डेंगुका बिरामी देखिएका छन् । ४६ जिल्लामा डेंगुका बिरामीहरु भेटिएका हुन् । डेंगुसँगै कलाजारका १४३ र मलेरियाका ५६ बिरामी पनि यो अवधिमा भेटिएका छन् ।

कोरोनासँगै कीटजन्य रोगको जोखिम, गत पुसदेखि देशभर २४६ डेंगुका बिरामी देखिए

महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेका अनुसार डेंगुभन्दा स्क्रब टाइफसका बिरामीको संख्या धेरै छ । यो अवधीमा देशभरमा ७६७ स्क्रब टाइफसका केस पनि भेटिएको उनले बताए ।

महाशाखाका अनुसार प्रदेश १ मा २९, वाग्मती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ८३, प्रदेश ५ मा ३९ र सुदूरपश्चिम प्रदेशमा ५३ जना डेंगुका बिरामी भेटिएका हुन् । प्रदेश २ र कर्णाली प्रदेशमा भने डेंगुका बिरामी फेला परेका छैनन् ।

जिल्लागत तथ्यांक हेर्नुपर्दा म्याग्दीमा सबैभन्दा बढी ४० वटा डेंगुका बिरामी भेटिएका छन् । संखुवासभामा ५, खोटाङमा १ , भोजपुरमा ५, धनकुटामा ३, तेह्रथुममा १, इलाममा १, झापामा ३, मोरङमा ५, सुनसरीमा ५, उदयपुरमा ३, सर्लाहीमा १, प्यूठानमा ५, गुल्मीमा २, अर्घाखाँचीमा २, पाल्पामा १ र नवलपरासी पश्चिममा ३ केस भेटिएका छन् ।

त्यसैगरी धादिङमा २, नुवाकोट १, काठमाडौं ८, ललितपुर ४, काभ्रेपलाञ्चोक १, रामेछाप २, सिन्धुली १४, मकवानपुर २, चितवन १, गोरखा २, कास्की १७, लमजुङ ९, तनहुा २, नवलपरासी पूर्व ४, स्याङ्जा ५, पर्वत ४, बाग्लुङ २ र रुपन्देहीमा १८ वटा डेंगु संक्रमित भेटिएको छ । कपिलवस्तुमा ४, दाङ २, बाँके ३, दार्चुला २, बैतडी ४, डडेल्धुरा ३, डोटी २, अछाम १८, कैलाली २४ र कञ्चनपुरमा २ वटा डेंगुका बिरामीहरु भेटिएका हुन् ।

...

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै कीटजन्य रोगहरुको पनि जोखिम रहेको छ । मानिसहरु अहिले घरबाट निस्कन पाएका छैनन् । घरै बस्दा सरुवा वा कीटजन्य रोगहरु जस्तै डेंगु, मलेरिया, सर्पदंश, झाडापखाला लगायतका समस्याहरु देखिन सक्ने चिकित्सकहरु बताउँछन् ।

गत वर्ष जेठबाट फैलिएको डेंगुले महामारीकै रुप लिएको थियो । त्यसबेला यो ६८ जिल्लामा फैलिनुका साथै १६ हजारमा मानिसमा यो संक्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘निषेधाज्ञाको समयमा सबैजना घरै बसेका छौं र लामखुट्टे पनि घरमै बस्न रुचाउने भएकाले टोक्ने सम्भावना बढी हुन्छ । पछिल्लो वर्षको अवस्था फरक भएपनि डेंगु देखिने सिजन दसैंको हाराहारीतिर हो । हरेक वर्ष त्यस्तो महामारी त नआउला तर कोरोनासँगै यसबारे पनि सजग हुन जरुरी छ ।’

डा. पुनका अनुसार गम्भीर बाहेक डेंगु सिटामोल खाएर निको हुनसक्छ तर अहिले लक्षण देखिएपनि अस्पताल जाँदा कोरोना लागेर गयो भनेर हेला गर्लान् भनेर पनि मानिस जान डराउने उनले बताए । यसले गर्दा डेंगु लगायत अरु कीटजन्य रोगका बिरामी जति संख्यामा रिपोर्ट हुनुपर्ने हो त्यो नभएको पनि हुनसक्ने उनले तर्क गरे ।

उनले कोरोना र डेंगुको लक्षणहरु मिल्दोजुल्दो देखिने बताउँदै परीक्षण गरेर निर्क्योल नभएसम्म झुक्किन सकिने जानकारी दिए । ‘कोरोनाले यी रोगहरुलाई छायाँमा पार्न सक्छन् । लक्षण गम्भीर भए अस्पताल जानुपर्छ,’ उनको सुझाव थियो ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले समय अनुसार कोरोना केन्द्रीत भएपनि यी रोगहरुको विषयमा ध्यान दिएको बताए । उनले भने, ‘सबै प्रदेशमा यी रोगका लागि बजेट छुट्याएका छौं । टेस्टिङ किटहरुको पनि व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा रहेकालाई पनि परीक्षण गरेका थियौं र डेंगु तथा मलेरियाका केस भेटिएका पनि थिए ।’

डा. पाण्डेले भेक्टर म्यानेजमेन्टसम्बन्धी किताब प्रकाशित गरेको बताउँदै आइसोलेसनमा रहनेहरुलाई लक्षण देखा परे आवश्यक जाँच गर्न निर्देशन दिएको बताए । उनले प्रत्येक पालिका तथा प्रदेशहरुलाई भर्चुअल मिटिङ गरेर यस बारेपनि सजग हुन आग्रह गरेको दाबी गरे । उनले लामखुट्टेको टोकाइबाट बच्‍न घरवरीपरी पानी जम्मा हुन नदिन र कोही गम्भीर बिरामी भए अस्पताल जान सुझाए ।

प्रकाशित : भाद्र १८, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?