कोरोनाबाट चितवन मेडिकल कलेजमा गैंडाकोटका पुरुषको मृत्यु- समाचार - कान्तिपुर समाचार

कोरोनाबाट चितवन मेडिकल कलेजमा गैंडाकोटका पुरुषको मृत्यु

रमेशकुमार पौडेल

चितवन — चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा बिहीबार दिउँसो थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । 

अस्पतालका निर्देशक डा.दयाराम लम्सालले दिएको जानकारी अनुसार दिउँसो सवा दुई बजे नवलपुर गैंडाकोट–२ का ३७ वर्षीय पुरुषको निधन भएको हो । उनी मृगौला सम्बन्धि दीर्घ रोगले पीडित भएको अस्पतालले जनाएको छ । अस्पतालमा गएराति मात्रै भरतपुरकी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

चितवनमा योसहित कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १० जना चितवनका छन् । मृतकमध्ये चितवन खैरहनी नगरपालिका–३ की १०९ वर्षकी एकजना महिलाको मात्रै घरमै ज्यान गएको थियो । अन्यको उपचारका क्रममा भरतपुरका विभिन्‍न अस्पतालमा ज्यान गएको हो ।

चितवन जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार चितवनमा बुधबार दिउँसोसम्म कूल संक्रमित संख्या ८०९ पुगेको छ । संक्रमितमध्ये १५६ जना निको भएको उनले बताइन् । चितवनमा साउन २१ यता संक्रमण तीव्र भएको हो । त्यो बेलासम्म जिल्लामा जम्मा ११६ जना संक्रमित थिए । साउन मसान्तसम्म मृत्यु जिल्लाका एक र बाहिरका एक गरेर दुईजना मात्रै थिए ।

प्रकाशित : भाद्र १८, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि कपुरकोट बजार सिल

विप्लव महर्जन

सल्यान — कपुरकोट गाउँपालिका-३ कपुरकोट बजारस्थित स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि बजार क्षेत्र सिल गरिएको छ ।

समुदायमा कोरोना संक्रमण फैलन सक्‍ने भएकाले बिहीबार राति १० बजेदेखि लागू हुने गरी एक हप्ताका लागि बजार सिल गरिएको गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले बताए । संक्रमित स्वास्थयकर्मीलाई होम आइसोलेसनमा राखिएको उनले बताए ।

बजार आसपासका क्षेत्रमा स्वाब संकलन गर्ने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले बताए ।

सल्यानमा हालसम्म ३ सय जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । हालसम्म २ सय ५७ जना संक्रमित निको भएर घर फर्किएको उनले बताए ।

प्रकाशित : भाद्र १८, २०७७ १५:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×