२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोरोना संक्रमण रोकथामप्रति सरकार अझै गम्भीर भएन : कांग्रेस

‘हचुवाका आधारमा लकडाउन/निषेधाज्ञा लागू गर्ने र हटाउने काम भयो’

काठमाडौँ — कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति सरकार अझै गम्भीर नभएको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसको ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै सरकारले ठोस अध्ययनका आधारमा नभएर हचुवाका भरमा लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने काम गरेको बताएका हुन् । 

कोरोना संक्रमण रोकथामप्रति सरकार अझै गम्भीर भएन : कांग्रेस

‘उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुँवामा हुने गरेका छन् । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ,’ विज्ञप्तिमा भनिएको छ ।

निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिँदै गएको तर संक्रमण बढ्ने क्रम भने कम नभएको संयोजक महतले बताएका छन् । ‘कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको छ । निषेधाज्ञा लगाउने/नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसका तर्फबाट कोभिड–१९ अनुगमन समितिले केही दिन अगाडि १३ बुँदे ध्यानाकर्षणसहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरे पनि सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको महतले बताएका छन् ।

‘हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौं । साथै, तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गर्दछौं,’ विज्ञप्तिमार्फत महतले भनेका छन् ।

प्रकाशित : भाद्र १८, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?