धरान — फुश्रेस्थित सैनिक महाविद्यालयमा खटिएका ११ जना नेपाली सेनासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सय जनाभन्दा बढी सैनिक कार्यरत उक्त महाविद्यालयमा यसअघि १२ जना सैनिकमा पनि संक्रमण पुष्टि भएको थियो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बिदामा आएका भारतीय सेनामा कार्यरत ५ जना पनि संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जना धरान १७स्थित एन्फा क्वारेन्टाइनमा थिए भने ४ जना होटल क्वारेन्टाइनमा बसेका थिए ।
यस्तै, धरान ११ की एक ५७ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार धरान १७ को संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा धरान १६ की ३३ वर्षीया महिला, धरान १७ कै २२ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा कुल संक्रमितको संख्या १९७ पुगेको छ ।
