पोखरा — कन्ट्याक्ट ट्रे्सिङका क्रममा पोखरा औद्योगिक क्षेत्रमा पीसीआर परीक्षण गर्दा बिहीबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये अधिकांश औद्योगिक क्षेत्रभित्र रहेका उद्योगका कामदार छन् ।
पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जोखिमयुक्त समूहको परीक्षण गर्ने क्रममा औद्योगिक क्षेत्रमा बुथ राखेर स्वाब संकलन गरिएको बताए । २९ मध्ये औद्योगिक क्षेत्रभित्रका कुन–कुन उद्योगका कामदार रहेको भने खुल्न बाँकी नै रहेको उनले बताए ।
पोखराको क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा वडा नम्बर १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० का २१ देखि ५८ वर्षसम्मका २९ जनामा कोरोना पोजिटिभ देखिएको छ । पोखरा–१२ मा ८ जना र १० नम्बर वडामा ७ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।
यसअघि बिहीबार नै प्रदेश सांसदमा कोरोना संक्रमण देखिएको थियो । पोखरामा पहिलोपल्ट एकै दिन ३० जना संक्रमित भेटिएका हुन् । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले बताए ।
बिहीबारसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ११ पुगेको छ ।
