राप्ती नगरपालिकाकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु

भाद्र १८, २०७७

रमेशकुमार पौडेल

चितवन — भरतपुरको सरकारी अस्पतालमा उपचार गराइरहेकी कोरोना संक्रमित महिलाको बिहीबार साँझ मृत्यु भएको छ । योसँगै बिहीबार एकै दिन चितवनमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अन्य दुईजनाको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 

राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको बिहीबार साँझ ५ बजेर १० मिनेट जाँदा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालले निकालेको सूचनामा उल्लेख भए अनुसार ती महिलाको मिर्गौलाले काम गर्न छाडेपछि तीन महिनादेखि डायलेसिस गराइरहेकी थिइन् । खोकी र श्‍वासप्रश्वासमा समस्या आएपछि भदौ १४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा बुधबार उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड आईसीयूको भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो ।

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully