काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण सरकारी अस्पतालले कोरोना विरुद्धको रुपमा प्रयोग भइरहेको रेम्डेसिभिर किनेर बिरामीहरुलाई निःशुल्क दिन र त्यसको पैसा मन्त्रालयले भुक्तानी गर्ने जनाएको छ ।
मन्त्रालयले कोभिड–१९ का गम्भीर बिरामीमा प्रयोग हुने रेम्डेसिभिर औषधिको आपतकालीन प्रयोगका लागि आयात स्वीकृत गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ । विभिन्न अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि यो औषधिको प्रयोग गर्दै आइरहेका छन् । खासमा राष्ट्रिय स्वास्थ अनुसन्धान परिषद् (एनएचआरसी) यस औषधिको प्रभावकारिता जाँच गर्नका लागि ट्रायल गरिरहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो निर्णय लागू भइसकेको दाबी गरेका छन् । ‘तत्काल निजी अस्पताललाई भने यो सुविधा दिइने छैन । तर, सरकार अस्पतालमा भने जति औषधि बिरामीको उपचारमा खपत हुन्छ त्यसको भर्पाइ मन्त्रालयले गर्छ,’ उनले भने ।
प्रवक्ता डा. गौतमले सरकारी अस्पतालहरुलाई यो औषधि कोरोना संक्रमितको उपचार गर्दा आवश्यक परेको बखत निःशुल्क दिन आग्रह गरेपनि यो प्रयोग गर्ने कार्यविधि बारे भने स्पष्ट केही खुलाएनन् । तर, स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतका अनुसार एनएचआरसीको ट्रायल अन्तर्गतको औषधि भएकोले यसलाई निशुल्क दिने निर्णय भएको हो ।
सम्पुर्ण सरकारी अस्पतालका डाइरेक्टर तथा मेडिकल सुपरिटेन्डेन्ट लाई यो अनुरोध छ कि रेम्डेसिभिर तपाई हरुले किनेर बिरामी हरुलाइ निशुल्क दिनुस, त्यसको पैसा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तपाइँको अस्पताललाइ भुक्तानी दिन्छ।
— Dr Jageshwor Gautam (@gautamjageshwor) August 30, 2020
यद्यपी अधिकांश सरकारी अस्पतालले नै यो निर्णय कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छैनन् ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार हालसम्म नेपालमा माइलान कम्पनीकोको ५२८ भाइल दुई पटक, सिप्ला कम्पनीका ४८० भाइल र हेटेरो फर्मास्युटिकल्सका २२८ भाइल रेम्डेसिभिर औषधि वैधानिक रुपमा नै आयात भएका छन् । उनका अनुसार यो औषधि पर्याप्त नै छ र चाहिएमा कम्पनीले रिअर्डर पनि गरिरहेका छन् । औषधिको मूल्य भने कम्पनी अनुसार फरक फरक रहेको छ ।
सरकारी स्तरमा पहिलोपटक रेम्डेसिभिर औषधि प्रयोग गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले हालसम्म बिरामीले नै यस औषधिको पैसा तिर्दै आइरहेको बताए ।
‘औषधिको स्वीकृति दिइएको छ । तर, कसरी सहज बनाउने भन्ने प्रकृयामा लगिएको छैन । पैसाको व्यवस्थापन गरिएको छैन,’ उनले भने, ‘बजेट नै छैन । कर्मचारीहरुले तलब खान पाएका छैनन् । यो निर्णय गरिएको हो भन्ने सुनेको हो । तर आधिकारिक पत्र पनि आएको छैन ।’ उनका अनुसार टेकु अस्पतालमा हाल ४० देखि ५० भाइल औषधि स्टक छ । बिरामीका लागि आवश्यक पर्यो भने चिकित्सक आग्रह अनुसार औषधिको व्यवस्था गरिने पनि उनले बताए ।
उनका अनुसार हाल बजारमा सो औषधिलाई न्यूनतम ६ हजार ४०० रुपैयाँ पर्छ । ‘एक बिरामीलाई ६ देखि ११ वटा औषधि आवश्यक पर्छ । जसले किन्यो, बिल बनायो । त्यसपछि त्यही हेरेर भपाई गरे राम्रो हुन्छ,’ उनले भने, ‘उपचारमा एक त त्यत्रो व्यवस्थापन गर्न गाह्रो पछि पैसा माग्दा झमेला हुनसक्छ । किनकी औषधि महंगो छ । सबैलाई निशुल्यक दिनसकिन्छ जस्तो त लाग्दैन । पछि भपाईका लाग बिरामीलाई बिल सुरक्षित राख्नुहोला भनेका छौँ ।’ हालसम्म टेकु अस्पताल करिब १२ जनाको यस औषधिबाट उपचार भइसकेको छ ।
त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक सन्तकुमार दासले यसरी औषधि किनेर बिरामीलाई निःशुल्क दिने र पछि सरकारले यसको पैसा तिर्ला भनेर विश्वास गर्न नसकिने बताए । ‘जोखिम भत्ता त पाइएको छैन । तलब खुवाउन गाह्रो भइरहेको छ । कसरी औषधि किनेर बिरामीहरुलाई निःशुल्क दिनु ?’ उनले भने ।
वीरगन्जस्थित नारायणी अस्पतालका मेसु डा. सञ्जय ठाकुरले यो निर्णयबारे जानकारी भएको बताए । उनका अनुसार अहिलेसम्म अस्पतालमा उपचाररत कसैबाट यस औषधिका लागि पैसा लिइएको छैन । ‘सीडीओ कार्यालयबाट हामीले माग गरेपछि पाउने गरेका छौं,’ उनले भने, ‘सरकारले यसबापत पैसा दिएपनि/नदिएपनि पछिको कुरा हो । आज मात्रै ५० वटा स्टक राखेका छौं ।’
विराटनगरस्थित कोसी अस्पतालका कोभिड इन्चार्ज डा. ज्ञानबहादुर बस्नेतका अनुसार भने त्यहाँ संक्रमितको उपचार गर्नका लागि रेम्डेसिभिरको हालसम्म प्रयोग नै गरिएको छैन । ‘हालसम्म प्रयोग गरिएको छैन छलफलको विषय भने हो । यो औषधि नै चलाउनुपर्ने केसमा चलाइन्छ पनि,’ उनले भने ।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले यो औषधि पाउन गाह्रो भएको बताए । यस्तै उनले मन्त्रालयबाट संक्रमितहरुलाई यो औषधि दिन मौखिक सूचना मात्रै पाएको पनि बताए । ‘हामीले मन्त्रालयबाट मौखिक सूचना पाएका छौँ भपाईका लागि । अहिलेसम्म हामीले बिरामीलाई निःशुल्क नै दिएका छौं,’ उनले भने, ‘६० वटा औषधि खपत भइसकेका छन् । यो औषधि प्रयोगात्मक नै छ त्यसैले आवश्यकता अनुसार प्रयोग गरेका छौं ।’
यो औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी भएको भन्दै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले क्लिनिकल ट्रायल गर्न मिल्ने जनाएको छ । अमेरिका, बेलायत, बंगलादेश, चीन, भारत, पाकिस्तानलगायत मुलुकमा कोरोना संक्रमितमाथि यो औषधि आपत्कालीन प्रयोग भइरहेको छ । हालसम्म नेपालमा यो औषधि बिरामीहरुले आफ्नै पैसाले खरिद गर्दे आएका थिए । खुलारुपमा बिक्री हुँदा कालोबजारी पनि बढेको थियो । यो औषधि सरकारले तोकेको कोभिड अस्पतालमा मात्रै क्लिनिकल ट्रायलका लागि प्रयोग गर्न पाइने जनाइएको छ ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले यो औषधि स्याचुरेसन (शरीरमा अक्सिजनको मात्रा) कम भएका संक्रमितलाई मात्र प्रयोग गरिने बताए । उनका अनुसार अहिलेसम्म यो एन्टिभाइरलको प्रयोग प्रभावकारी नै देखिएको छ । ‘धेरै अध्ययनमा यसको प्रयोगले अस्पताल बसाइँ केही दिन छोटिने र शरीरमा भाइरसको लोड पनि कम भएको देखाएका छन् । निश्चित परीक्षण गरिएको समूहको उपसमूहमा मृत्युदर नै कम भएको जस्तो पनि देखिन्छ,’ उनले भने, ‘यो औषधिले मृत्युदर घटाउँछ वा घटाउँदै भन्ने ठूलो क्लिनिकल डाटा भने आएको छैन । तर, प्रयोग गर्दा हुन्छ,’ उनले भने ।
यो पनि पढ्नुहोस्ः
