काठमाडौँ — नेपाली सेनाको भदौमा हुने गरेको पृतनापति भेला कोरोनाका कारण स्थगित भएको छ । मुलुकका हरेक प्रदेशमा कोरोना संक्रमण बढिरहेको र त्यसको रोकथाम र नियन्त्रणको लागि सेनाले भूमिका खेल्नु पर्ने कारणले गर्दा आफ्ना कमान्डरहरुलाई फिल्डमै खटिरहन सेनाले निर्देशन दिएको छ ।
‘कोरोना रोकथाम र नियन्त्रणको लागि पृनतापतिहरुले आ–आफ्नो क्षेत्रमा काम गरिरहेको छन् । यो समयमा उनीहरुलाई केन्द्रमा बोलाएर बैठक गर्नु ठिक हुन्न भन्ने संगठनको निचोड छ,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले कान्तिपुरसँग भने,‘पछि उपयुक्त समयमा पृनतापति भेला गर्ने नै छौं ।’
उनले प्रधानसेनापति पूर्णचन्द्र थापाले आवश्यकता अनुसार हरेक पृतनाका पृतनापतिहरुसँग आवश्यकता अनुसार ‘वान टु वान’सँग वार्ता गरिरहेको र आवश्यकता अनुसार सल्लाह र सुझाव पनि दिइरहेको बताए ।
पौडेलले पृनतापति भेला नै गरेर समग्र विषयमा कुरा गर्न भने अहिले सम्भव नदेखिएको बताए । उपयुक्त समयमा स्थगित भेला गरिने उनले बताए ।
यसैबीच सहायक रथी विनय विक्रम राणालाई बुधबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को भदौ १४ को निर्णयले राणालाई सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । राणालाई पश्चिम पृतना हेडक्वार्टर पोखरामा पृतनापतिको जिम्मेवारी दिइएको सेनाद्वारा विज्ञप्तीमा उल्लेख छ ।
के हो पृतनापति भेला ?
नेपाली सेनालाई सेनालाई परिचालनको रुपमा यसलाई महत्वपूर्ण भेलाको रुपमा लिइन्छ । पृतनापति भेलालाई सेनाका आठवटै पृतनाका पृतनापतिहरु हुन्छन् । सात प्रदेशका सात ओटा र उपत्यका पृतना गरि आठ पृतनाहरु छन् ।
साथमा केन्द्रमा रहेका विभागीय प्रमुख तथा महानिर्देशनालयका प्रमुखहरुको पनि उपस्थिती हुनेछ । जसलाई पीएसओज (प्रिन्सिपल स्टाफ अफिसर) पनि भनिन्छ । वर्षमा तीन पटक पृतनापति भेला हुँदै आइरहेको छ । अहिले सेनाले भदौमा, दसौंको मुखमा र शिवरात्रीको पूर्वसन्ध्यामा पृतनापति भेला गर्दै आइरहेको छ ।
प्रधानसेनापतिको नेतृत्वमा हुने भेलामा सम्बन्धित प्रदेशका पृतनापतिहरुले त्यहाँको सम्पूर्ण वस्तुस्थितीको कुरा जानकारी गराउने छन् । उनीहरुले मुख्य गरी राष्ट्रिय सुरक्षाको विषयलाई केन्द्रमा राखेर आफ्ना प्रस्तुति दिने छन् ।
प्रधानसेनापतिले उक्त भेलामा राष्ट्रिय सुरक्षामा संगठनले गरिरहेको काम र अब लिनुपर्ने लक्ष्यको बारेमा आफ्ना जर्नेलहरुलाई जानकारीसहित आवश्यक पर्दा निर्देशनहरु पनि दिने छन् ।
‘कमान्डको हिसाबमा नेपालको हिसाबमा सबैभन्दा महत्वपूर्ण बैठकको रुपमा पृतनापति भेलालाई लिइन्छ,’ अवकाश प्राप्त उपरथी विनोज बस्न्यातले भने । बस्न्यातका अनुसार सुरुआतमा सेनामा वर्षमा एक पटकमात्र पृतनापति भेला हुन्थ्यो र केहि वर्ष अघिदेखि भेला बढ्दै आइरहेको हो । ‘संगठनको आवश्यकता अनुसार यो भेलालाई बढाउने वा कम गर्न सकिन्छ,’ उनले भने ।
