चितवन — भरतपुरमा शुक्रबार थप एकजना कोरोना संक्रमितको निधन भएको छ । भरतपुरको सरकारी अस्पतालमा उपचार गराइरहेका गोरखाका एकजना ३८ वर्षीय पुरूषको दिउँसो साढे दुई बजे निधन भएको अस्पतालले जनाएको छ ।
अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले निकालेको विज्ञप्तिमा ती पुरुष भदौ ६ गते अस्पताल आएका थिए । १० गते उनलाई संक्रमण पुष्टि भएको थियो ।
यसअघि बिहान दुई फरक फरक अस्पतालमा उपचार गराइरहेका कोरोना भाइरसको संक्रमण देखिएका दुईजना व्यक्तिको आजै निधन भएको थियो ।
एकजनाको चितवन मेडिकल कलेज (सिएमसी)को भरतपुरमा रहेको शिक्षण अस्पतालमा निधन भएको हो । त्यसैगरी भरतपुरकै अर्को निजी अस्पताल पुष्पाञ्जली अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका अर्का संक्रमितको पनि निधन भएको हो ।
योसँगै चितवनमा कोरोना भाइरसबाट संक्रमित ९ जना व्यक्तिको निधन भएको छ । तीमध्ये ४ जना मात्रै चितवनका हुन् । अरु अन्य जिल्लाका हुन् । भरतपुरमा मृत्यु हुने संक्रमित ९ जनामध्ये ३ जना हेटौंडाकै छन् । एकजना कैलालीका व्यक्तिको पनि संक्रमण देखिएपछि उपचारकै क्रममा भरतपुरमा ज्यान गएको थियो ।
सिएमसीमा अहिले पनि ४२ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । तीमध्ये २० जनाको अवस्था गम्भीर र जोखिमपूर्ण रहेको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए । अस्पतालले शुल्क लिएर कोरोना भाइरसको परीक्षण पनि गर्दै आएको छ । ७२७ जनाको स्वाब लिएर पीसीआर गरेकोमा १०९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालबाट प्राप्त विवरण अनुसार बिहीबार बेलुकासम्म कोरोना संक्रमितको संख्या चितवनमा पाँच सय नाघेको छ । तीमध्ये १२८ जना मात्रै निको भएका छन् । साउन २१ गतेयता संक्रमण तीव्र भएको हो । साउन २१ सम्म कुल संक्रमित जम्मा ११६ जना मात्रै थिए ।
