काभ्रे — बनेपा–१३ मा रहेको स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्रमा शुक्रबार २९ जना बिरामी र तिनका कुरुवामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टि भएकाहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर पोजिटिभ देखिएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
हालसम्म उक्त अस्पतालका चिकित्सक, कर्मचारी, बिरामी र तीनका कुरुवा गरी ६४ जनामा संक्रमण पुष्टि भएको छ । सो अस्पतालमा कार्यरत एक कर्मचारीमा भाद्र २ गते संक्रमण पुष्टि भएको थियो ।
उपत्यका छिर्ने प्रमुख नाका साँगा पर्ने उक्त वडामा शुक्रबार दिउँसोसम्म १ सय २ जनामा संंक्रमण पुष्टि भएको छ ।
हालसम्म जिल्लाका २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा २ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । ८१ जना निको भएर घर फर्किएका छन् भने १ सय ३७ जना विभिन्न अस्पताल र होम आइसोलेसनमा छन् ।
