हेटौंडा — मकवानपुर जिल्लामा शुक्रबार २९ जनामा कोरोना संक्रमित थपिएका छन् । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको प्रादेशिक कोरोना प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रका २४ जना, एक जना मनहरी गाउँपालिका र ४ जना जिल्ला बाहिरका स्थायीवासी भए पनि अहिले मकवानपुर जिल्लाभित्रै रहेको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।
उनका अनुसार भदौ ३ गते संकलित १५८ स्वाब नमुनाको रिपोर्टअनुसार हेटौंडा उपमहानगरका २४ जना संक्रमितमध्ये ९ जना महिला र १५ जना पुरुष रहेका छन् । मकवानपुरमा कोरोना संक्रमितको संख्या ४५९ पुगेको छ ।
