पोखरा — श्वासप्रश्वासमा समस्या भएपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका कोरोना संक्रमितको शुक्रबार निधन भएको छ । पोखरा–१६ का ५२ वर्षीय पुरुषले अस्पताल पुग्ने बित्तिकै ज्यान गुमाएका हुन् ।
उनमा कोभिड–१९ सँगै मधुमेह र उच्च रक्तचापको समस्या भएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताए । ती पुरुष केही दिनअघि लमजुङबाट पोखरा आएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि पोखराकै फिस्टेल अस्पताल पुगे । फिस्टेलले बिहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ज्वरो क्लिनिकमा पठायो । स्वास्थ्य जाँच गरी स्वाबसमेत दिएर बेलुका घर फर्किए ।
शुक्रबार बिहान पुन: स्वास्थ्यमा समस्या आयो । बिहानै कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा पुगे । अस्पताल परिसरमा पुग्ने बित्तिकै उनको मृत्य भएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए ।
योसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । गण्डकी प्रदेशमा १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
