कर्णाली राजमार्गको ३ सय ठाउँमा पहिरो

श्रावण ३२, २०७७

तुलाराम पाण्डे, चाँदनी कठायत

कालीकोट/सुर्खेत — पहिरोले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक ५ दिनदेखि अवरुद्ध भएको छ । सडकको झण्डै ३ सय ठाउँमा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो ।

प्रहरीका अनुसार कालीकोटको गगनेखोला, दहीखोला, कालेखोला, सेरीघाट, ताडी, पिलीभीरलगायत ठाउँमा ठूलो पहिरो खसेको छ । पहिरो निरन्तर बगिरहेकोले काम गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार कालीकोट र जुम्ला खण्डमा मात्रै ३ सय ठाउँमा पहिरो गएको छ । 

अधिकांश ठाउँको पहिरो पन्छाए पनि कालीकोट खण्डको दहीखोलादेखि पिलीसम्मको पहिरो हटाउन नसकिएको उनले जानकारी दिए । सडक डिभिजनले ठाउँठाउँमा डोजर लगाएर पन्छाइरहेको छ ।

पन्छाएको ठाउँमा फेरि पहिरो खसेपछि राजमार्ग सुचारु गर्न समस्या भएको हो । ‘वर्षा भएको भयै छ,’ उनले भने, ‘जुम्लाबाट पहिरो पन्छाउँदै पिलीसम्म बाटो खुलाए पनि अरु ठाउँको अवरोधले गाडी चल्न सकेका छैनन् ।’उनका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि सुर्खेतबाट कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य तथा निर्माण सामग्री बोकेर आएका करिब १ सय गाडी ठाउँठाउँमा रोकिएका छन् ।

कर्णाली राजमार्गबाट गाउँ जोड्न स्थानीय तह र प्रदेश सरकारले निर्माण गरेका ग्रामीण सडक भत्किँदा पनि कर्णाली राजमार्ग हिलाम्मे बनेको हो । गगनेखोलाको पहिरोले सधैं दु:ख दिने गरेको चालकहरुको गुनासो छ  । ‘साघुँरो र अप्ठेरो कर्णाली राजमार्गबाट गाउँ जोड्ने सडकले पनि सडकको अवस्था बेहाल छ,’ चालक टेकबहादुर जिसीले भने, ‘जथाभावी खनेका सडकले जताततै पहिरो निम्त्याए ।’

कर्णाली राजमार्गको तिलागुफा–८ स्थित टाकुल्लाखोलामा ६ वर्षअघि ठेक्का सम्झौता भएको पक्की पुल निर्माण नहुँदा पनि यात्रुले सास्ती भोग्दै आएका छन् । ‘ठूलो पानी परेको बेला खोला बढेर सडक अवरुद्ध हुन्छ,’ स्थानीय जनक शाहीले भने, ‘राजमार्गको पहिरोले कतिपय ठाउँमा पैदल हिड्न पनि मुस्किल छ ।’

निरन्तरको वर्षाले अवरुद्ध सडक खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनका अनुसार जिल्लाका अधिकांश गाउँ पहिरोको जोखिममा छन् । कालीकोटमा साउनयता बाढी–पहिरोमा परी ३१ जनाले ज्यान गुमाएका छन् भने करोडौंको क्षति भएको छ ।

मदन भण्डारी राजमार्ग बन्द

मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–लगाम सडक वर्षाका कारण अवरुद्ध भएको छ । सडकको ठाउँठाउँमा पहिरो खसेपछि स्थानीयले लामो समयदेखि सास्ती भोगिरहेका छन् । राजमार्गअन्तर्गतकै विजौरादेखि लगामसम्म सडक पनि १ महिनादेखि नै पूर्णरुपमा बन्द भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका एम्बुलेन्स चालक लक्ष्मी कँडेलले सडक अवरुद्ध भइरहने भएकाले दिउँसोको समयमा मात्रै एम्बुलेन्स चलाउने गरेको बताए । ‘सडकको अवस्था दयनीय छ,’ उनले भने, ‘दिउँसो चलाउँदा कतै अड्किहाल्यो भने पनि धकेलिदिने मान्छेहरु भेटिन्छन्, रातिमा त बिरामीको ज्यान पनि जोखिममा पर्छ, म पनि अलपत्र पर्छु ।’

पञ्चपुरी नगरपालिकाका स्थानीय तिलकराम अधिकारीले १२ वर्षदेखि सडकको अवस्था उस्तै रहेको बताए । ‘स्थानीय सरकार हुँदासमेत नागरिकले यस्तो अवस्था भोग्नुपरेको छ,’ उनले भने, ‘सडक मर्मतमा बेवास्ता गर्दा बिरामीहरु बीचबाटोबाटै फर्किनुपर्ने अवस्था छ, अघिपछि १ घण्टा लाग्ने सडक पार गर्न अहिले ३ घण्टाभन्दा बढी समय लाग्छ ।’

राजमार्ग अवरुद्ध भइरहँदा पश्चिम सुर्खेतका स्वास्थ्य संस्थाबाट प्रदेश अस्पताल रिफर गरेका आकस्मिक बिरामीलाई समयमा पुर्‍याउन कठिन भइरहेको स्वास्थ्यकर्मी उजेशबहादुर शाहीले बताए । उनका अनुसार प्रत्येक दिन १ सयदेखि ३ सय जनासम्म बिरामीलाई स्वास्थ्य संस्थाले अस्पताल रिफर गर्छन । तर सडक अवरुद्ध हुँदा बिरामी गुणस्तरीय उपचारबाट वञ्चित भएको उनको भनाइ छ ।

बाढी-पहिरो

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

चाँदनी

Link copied successfully