मुगु — हुम्लाको तााजाकोट गाउँपालिकामा पहिरोले ६५ घर भत्काएको छ ।शनिबार बिहान पहिरो जाँदा ताजाकोट गाउँपालिकाको रोकायबाडा, मैला गाउँ, कटेलबाडा, थापागाउँ, दमाईबाडा लगायत बस्तीका ६५ घर भत्काएको गाउँपालिका प्रमुख बागदल मल्लले बताए ।
पहिरोले गाउँपालिकाको प्रमुख बस्ने भवन र धर्मोदय मावि समेत पूर्ण रुपमा क्षति पारेको छ ।गाउँपालिकाका ५ सय घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिका प्रमुख मल्लले बताए ।
पहिरोले कुनै मानवीय क्षति नभएपनि धनसम्पत्ति र खाद्यान्न पूर्ण रुपमा क्षति भएको मल्लले बताए । पहिरोले घर भत्काएपछि ६५ परिवार चौरमा पाल टाँगेर बस्न बाध्य भएको तााजाकोट गाउँपालिकाका–२ का धर्मराज जैसीले जनाए ।
थापा गाउँ, काटेओखर, गाडेपानीका १ सय ६५ घर पहिरोको उच्च जोखिममा रहेको र बस्ती अन्यत्र स्थानमा सार्नुपर्ने अबस्था आएको जैसीले बताए ।
पहिरो क्षति गरेको बस्तीमा विवरण संकलन गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख मल्लको भनाइ छ ।
