कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकै दिन १० कोरोना संक्रमितको मृत्यु पुष्टि

बुधबार ४८४ जनालाई संक्रमण, उपत्यकामा मात्रै १३८ थपिए
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ संक्रमित वृद्धि भएसँगै मृत्युदर र गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा उपचार गराउने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ । आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ८९ पुगेको छ । 

एकै दिन १० कोरोना संक्रमितको मृत्यु पुष्टि

मोरङ, बारा र धनुषाका दुई–दुई जना तथा काठमाडौं, कपिलवस्तु, महोत्तरी र धादिङका एक–एक जनाको मृत्यु भएको हो । तीमध्ये पाँच जना राजधानीका अस्पतालमा उपचाररत थिए । ‘एक दिनमा हालसम्मकै सबैभन्दा बढी मृत्यु पुष्टि बुधबार भयो,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

काठमाडौं उपत्यकामा दिनमा सयभन्दा बढी संक्रमित थपिइरहेका छन् । बुधबार मात्र १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १ सय ९, ललितपुरमा २१ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो । मुलुकभर भने ४ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । सहप्रवक्ता डा. अधिकारीले गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा जाने क्रम एक सातायता बढेको बताए । ‘हामी क्रिटिकल स्टेजमा छौं,’ उनले भने । उनका अनुसार संक्रमितमध्ये प्रदेश २ मा ४३ जना, वाग्मती प्रदेशमा ३८ जना, प्रदेश ५ मा ५ जना र गण्डकी प्रदेशमा १ जना आईसीयूमा छन् । यस्तै वाग्मतीमा २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सहप्रवक्ता डा. अधिकारीले जटिल कोभिड–१९ संक्रमितको संख्या वृद्घिले मुलुकको घनाबस्ती भएका ठाउँमा समूहगत संक्रमण व्यापक हुँदै गइरहेको देखाएको बताए । उपत्यकामा संक्रमितको चाप बढ्दै गएपछि अस्पतालमा आइसोलेसन शय्या अभाव हुन थालेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले संक्रमण व्यापक फैलिएकाले आगामी दिनमा मृत्युदर र जटिल बिरामी झन् बढ्ने बताए ।

‘पछिल्लो समय कोरोना संक्रमितहरूको एक्कासि मृत्यु हुने अवस्था देखिनु खतराको संकेत हो,’ उनले भने । सरकारले नयाँ रणनीति बनाएर गम्भीर संक्रमितले सहज उपचार पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार बिहान काठमाडौं महानगरपालिका–१२, टेकु निवासी ७८ वर्षीया एक महिलाको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । झाडापखाला र ज्वरोको समस्या भएकी ती महिलालाई पाटन अस्पतालको फिभर क्लिनिकबाट रेफर गरेर साउन २६ गते किस्टमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप, मधुमेह, हाइपोथाइराडिज्म, सेप्टिक शकसँगै मिर्गौलासम्बन्धी रोगबाट ग्रस्त थिइन् ।

जनकपुर (धनुषा) का पूर्वमेयर ७३ वर्षीय कृष्ण गिरीको कोराना संक्रमणका कारण मंगलबार राति सवा १२ बजेतिर मृत्यु भएको छ । १५ दिनअघि संक्रमण पुष्टि भएपछि उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत रहेका गिरीलाई विमान चार्टर गरेर काठमाडौं ल्याइएको थियो ।

यसैगरी साउन १८ मा संक्रमण पुष्टि भएकी जनकपुर–८ की ३८ वर्षीया महिलाको पाटन अस्पतालमा बुधबार उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको किस्ट मेडिकल कलेजमा बुधबार मृत्यु भएको छ । सोमबार भर्ना भएका उनी मिर्गौला र दमका पनि बिरामी थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको पनि बुधबारै कोरोना संक्रमणबाट मृत्यु भएको छ । ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि उनी कोसी अस्पताल गएका थिए । त्यहाँबाट साउन २६ गते प्रतिष्ठानमा रेफर गरिएको थियो । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले कोरोना पोजिटिभ देखिएपछि उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डको आईसीयूमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको बताए ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि बुधबार एक संक्रमितको मृत्यु भएको छ । अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार साउन २५ गते भर्ना भएका कपिलवस्तु–२, तौलिहवाका ४२ वर्षीय पुरुषको संक्रमणले मृत्यु भएको हो । बुधबारै मृत्यु भएका कपिलवस्तु–१३, कृष्णनगरका २५ वर्षीय युवकको भने पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । दुवै जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । दुवैमा श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण थिए ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–५ का ५७ वर्षीय पुरुषको पनि बुधबारै मृत्यु भएको छ । उनी नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक थिए । दमका समेत रोगी रहेका उनलाई सोमबार कोरोना पोजिटिभ देखिएको थियो ।

वीरगन्ज महानगरपालिका–१६ नगवाको सामुदायिक प्रहरी चौकी नजिकै मंगलबार दिउँसो मृत फेला परेका बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा बुधबार कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार ती युवकले अत्यधिक मदिरा सेवन गरेको पाइएको छ । शंका लागेर उनको मंगलबार स्वाब संकलन गरिएको थियो ।

ज्वरो आएर राजधानीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ का ३९ वर्षीय युवकमा पनि बुधबार कोरोना पुष्टि भएको छ । निमोनियाका क्रोनिक बिरामी उनी गत आइतबार उच्च ज्वरो आएपछि जिल्ला अस्पताल गएका थिए । धादिङ अस्पतालले भोलिपल्ट काठमाडौं रेफर गरेपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले १ लाख ९० हजारको बिल भुक्तानी नगरेसम्म शव र पोस्टमार्टम रिपोर्ट नदिएको मृतकका आफन्तको आरोप छ । ‘हामीलाई शव पनि हेर्न दिइएन । शव व्यवस्थापनका लागि अस्पतालले नेपाली सेनालाई बोलाएपछि शंका लाग्यो,’ मृतकका आफन्त अक्कलबहादुर तामाङले भने, ‘सरसापटी गरेर रकम तिरेपछि बुधबार दिउँसो २ बजे मात्रै रिपोर्ट दिइयो ।’ होटल व्यवसायी र चालकसमेत रहेका ती युवक लकडाउन खुकुलो भएपछि सदरमुकामदेखि धूवाँकोटसम्म यात्रु बोक्थे ।

यस्तै, उपचारका क्रममा सोमबार राति मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिकाका ६ का ५२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । फोक्सो र मधुमेहका बिरामी उनी आइतबार जनकपुरस्थित रामजानकी अस्पताल भर्ना भएका थिए । भोलिपल्ट मंगलबार शव गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि राति रिपोर्ट पोजेटिभ आएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले मृतकको अन्तिम संस्कारमा सहभागी र अन्यको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिए ।

प्रकाशित : श्रावण २९, २०७७ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?