२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

न्युजिल्यान्डमा १०२ दिनपछि देखियो कोरोना

एकै परिवारका ४ जनामा संक्रमण देखिएपछि ३ दिनका लागि लकडाउन घोषणा
नारायण खड्का

अस्ट्रेलिया — कोरोना भाइरसको संक्रमण देखिएपछि न्युजिल्यान्डमा पुन: लकडाउन गरिएको छ । १ सय २ सय दिनसम्म नयाँ संक्रमण नदेखिएको न्युजिल्यान्डमा अचानक मंगलबार ४ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्री जसिन्डा आर्डनले तेस्रो चरणको लकडाउनको घोषणा गरेकी हुन् ।

न्युजिल्यान्डमा १०२ दिनपछि देखियो कोरोना

प्रधानमन्त्री आर्डनले बुधबार आयोजित पत्रकार सम्मेलनमा भाइरसको संक्रमण निस्तेज पार्न लकडाउन आवश्यक भएको बताएकी छिन् । उनले तत्काल ३ दिनका लागि घोषणा गरिएको लकडाउन सावधानी अपनाउनका लागि लगाइएको जनाएकी छन् ।

उनले संक्रमण देखिएको अकल्यान्ड क्षेत्रमा लेभल तीनअन्तर्गतको लकडाउन घोषणा गरेकी छन् भने सम्पूर्ण न्युजिल्यान्डमा दोस्रो तहको लकडाउन घोषणा गरेकी हुन् । अकल्यान्डको एकै परिवारमा देखिएको उक्त संक्रमणपछि न्युजिल्यान्डले भाइरस परीक्षणलाई तीव्रता दिएको छ ।

न्युजिल्यान्डका स्थानीय समाचारमा जनाइएअनुसार संक्रमण भएका चारै जना एकै परिवारका हुन् भने उनीहरुमध्ये कसैले पनि विदेश भ्रमण गरेका थिएनन् । परिवारका अन्य ६ जनालाई समेत भाइरस परीक्षण गरिएको भए पनि उनीहरुको नतिजा नेगेटिभ आएको छ ।

न्युजिल्यान्डका मुख्य स्वास्थ्य अधिकारी डा. एस्ली ब्लुमफिल्डले सय दिनभन्दा लामो समयपछि कसरी भाइरसको संक्रमण भयो भन्नेबारे आफूहरु अनविज्ञ रहेको बताएका छन् । उनले परिवारमा कसरी संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएका छन् । उनीहरुको नजिकको सम्पर्कमा आएका २ सय जनाको परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

न्युजिल्यान्डको अकल्यान्डमा रहेका न्युजिल्यान्ड नेपाली समाजका अध्यक्ष दिनेश खड्काले महिनौंपछि लगाइएको लकडाउनले असामान्य महसुस भए पनि समग्र जनजीवन भने सामान्य रहेको बताए । ‘जम्मा तीन दिनका लागि मात्र भएकाले समेत हामीले अहिल्यै यसको असर महसुस गर्न पाएका छैनौं । तर सडकमा सवारीसाधन भने धेरै कम गुडिरहेका छन्,’ उनले कान्तिपुरसँग भने ।

उनले यदि लकडाउन बढेको खण्डमा उच्चशिक्षा अध्ययनका लागि आउने नेपाली विद्यार्थीलाई कुनै सहयोग आवश्यक भए पुर्‍याउन तयार रहेको समेत जानकारी दिए ।

डा. ब्लुमफिल्डले आउने दिनमा दसौं हजार न्युजिल्यान्डवासीलाई कोरोना भाइरस भए नभएको परीक्षण गरिने जनाएका छन् । उनले करिब ३ लाख परीक्षणका किट उपलब्ध रहेको जनाउँदै संक्रमित परिवारले यात्रा गरेका स्थानहरुमा समेत परीक्षण गरिने जनाएका छन् ।

त्यस्तै, उनले सयौं स्वास्थ्यकर्मीलाई यस कार्यका लागि परिचालन गरिएको समेत जनाएका छन् । प्रधानमन्त्री आर्डनले सर्वसाधारणलाई आफन्तसँग भेटघाट नगर्न र सामाजिक दूरी कायम गर्न आग्रह गरेकी छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री जसिन्डा आर्डन । तस्बिर : एजेन्सी

प्रकाशित : श्रावण २९, २०७७ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?