कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘बोल्दासमेत मास्क खोल्नु हुँदैन’

‘नेताज्यूहरू बोल्न लाग्दा मास्क खोल्नुहुन्छ तर बोल्दा झन् मास्क लगाउनुपर्ने हो ।’
अतुल मिश्र

काठमाडौँ — कोरोना संक्रमणको जोखिम झन्झन् बढिरहेका बेला प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मन्त्रीहरू, मुख्यमन्त्री, सांसद, सेना र प्रहरीका उच्च अधिकारी, सरकारी निकायका उच्च तहका व्यक्तिले समूहमा समेत मास्क नलगाउने गरेको देखिएको छ । उनीहरूले लगाउदा पनि चिउडो, गर्धन, कानमा मास्क झुन्ड्याउने, बोल्दा मास्क फुकाल्ने गरेको देखिन्छ । विज्ञहरूले सही तरिकाले मास्क लगाउनेको संख्या २० प्रतिशत रहेको बताएका छन् ।

‘बोल्दासमेत मास्क खोल्नु हुँदैन’

त्रिवि शिक्षण अस्पताल कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा.सन्तकुमार दास भन्छन्, ‘सबैले सिको गर्ने ठूलाबडा, नेताज्यूहरू नै मास्क सही तरिकाले लगाउनुहुन्न भने सामान्य व्यक्तिको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।’ विज्ञहरूका अनुसार मास्कलाई घाँटीमा झुन्ड्याउनु झन् जोखिम हो । ‘अहिले संक्रमित देखिएकाहरूको चिकित्सकीय इतिहास खोतल्दा अधिकांशले मास्क नलगाउने वा सही तरिकाले नलगाउने गरेको पाइएको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले भने, ‘मुलुकमा आमव्यक्ति मास्क लगाउनैपर्नेमा सजग देखिएका छैनन् ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना सर्नबाट जोगिने एउटा अंगका रूपमा मास्कको प्रयोग गर्नुपर्छ । नाक, मुख र चिउडो छोपिने गरी मास्क अनुहारमा लगाउनुपर्छ । मास्क लगाउँदा मुख र मास्कबीच कुनै खाली ठाउँ छोड्न हुँदैन । संक्रमित व्यक्तिको मुख र नाकबाट निस्किने पानीको थोपाबाट संसर्गका अरूलाई कोरोना सर्ने सम्भावना बढी हुन्छ । ‘कोरोनाको खोप नबनेसम्म मास्क अनिवार्य लगाउनु अत्यावश्यक हुन्छ,’ डा.पाण्डे भन्छन् ।

विज्ञहरूका अनुसार अन्य कोरोनाबाट जोगिने उपायसँगै उपयुक्त तरिकाले मास्क लगाउँदा कम्तीमा ६० प्रतिशत संक्रमणको कडी तोड्न सकिन्छ । मास्क लगाउँदा संक्रमणको विस्तारमा उल्लेखनीय कमी ल्याउँछ । ‘व्यक्तिले सामान्य बोलचाल गर्दासमेत मुखबाट भाइरस निस्किरहने हुन्छ,’ डा. दास भन्छन्, ‘नेताज्यूहरू बोल्न लाग्दा मास्क खोल्नुहुन्छ तर बोल्दा झन् मास्क लगाउनुपर्ने हो ।’

सानो कोठा, सार्वजनिक सवारीसाधन, बन्द ठाउँ आदिमा बोल्दा आपसमा बढी संक्रमण फैलिने सम्भावना भएकाले यस्तो ठाउँमा मास्कको प्रयोग अनिवार्य हुन्छ । हाल राजधानीलगायत मुलुकभर सही रूपमा मास्क लगाउने २० प्रतिशत पनि नरहेको उल्लेख गर्दै डा.दास भन्छन् ‘सही रूपमा मास्क लगाउने प्रक्रियामा पढेलेखेका व्यक्तिको अवस्था पनि अत्यन्त खराब छ । स्वास्थ्यकर्मीहरूलाई समेत मास्क प्रयोगमा संवेदनशील हुनुपर्ने आवश्यकता देखिएको छ ।’

वीरगन्जमा २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ भने देशभर चिकित्साकर्मीमा कोरोनाबाट संक्रमित हुने संख्या बढ्दो छ । हालसम्म मास्कको प्रयोग नगर्ने करिब दुई लाख व्यक्तिलाई कारबाही गर्नुपरेको औंल्याउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम कोरोनाविरुद्घको लडाइँमा सफल हुन सबै नेपालीलाई अनिवार्य रूपमा मास्क उपयोग गर्न अनुरोध गर्छन् । ‘अधिकांशलाई मास्क लगाउने र खोल्ने तरिका थाहा नभएको देखिन्छ,’ डा.दास भन्छन्, ‘मास्कलाई फित्ताको माध्यमले लगाउनु र खोल्नुपर्छ । यसको बाहिरी भाग हातले छुनुहुन्न ।’ उपयोग गरिएको मास्कको बाहिरी भागबाट संक्रमित हुन सक्ने उनले बताए ।

हाल सर्जिकल मास्कको गलत उपयोग हुने गरेको देखिएको छ । सर्जिकल मास्क पानीमा भिजेपछि यसको सुरक्षात्मक तह (प्रोटेक्टिभ लेयर) नष्ट हुने भएकाले पुरानैलाई दोहोर्‍याएर उपयोग गर्न नहुने विज्ञको भनाइ छ । तर धेरैजसो व्यक्ति सर्जिकल मास्कलाई पानीले सफा गरेपछि लगाउने गरेको औंल्याउँदै डा.दास भन्छन्, ‘सर्जिकल होइन सुती कपडाको तीन तहबाट बनेको मास्क दिनहुँ साबुनपानीले धोएर राम्ररी सुकाएपछि उपयोग गर्न सकिन्छ ।’

सुती कपडाबाट बनेको तीन तह भएको मास्कले सार्वजनिक स्थानमा कोरोना भाइरसको प्रसारलाई रोक्न पर्याप्त रहेको विज्ञहरू बताउँछन् । संक्रमित व्यक्तिको मुखबाट निस्किने पानीको स–सानो थोपा (ड्रप्लेट) हावामा भए पनि मास्क लगाउँदा यसबाट जोगिन सहयोग मिल्ने उनीहरूको भनाइ छ । सुती कपडाको मास्कले पनि सर्जिकल मास्क जस्तै संक्रमण फैलिनबाट रोक्छ ।

कोरोनाको संक्रमण समुदायमा जानबाट रोक्ने सबैले अनिवार्य मास्क लगाउनुको विकल्प छैन । हाल केही ठाउँमा कोरोना समुदायमा फैलिसके पनि देशव्यापी रूपमा समुदायमा संक्रमण फैलिन सक्ने संघारमा नेपाली उभिएको औंल्याउँदै डा.दास भन्छन्, ‘सबैले सही रूपमा मास्क लगाउनु लगायतका अन्य स्वास्थ्य सुरक्षा अपनाउनुको विकल्प छैन ।’

भल्भ भएको मास्कबाट जोखिम

विज्ञहरूले भल्भ भएको मास्क लगाउनु जोखिम भएको बताएका छन् । ‘सार्वजनिक स्थलमा भल्भ भएको मास्क लगाउने चलन तुरुन्त बन्द गर्नुपर्छ,’ डा.दास भन्छन्, ‘कोरोना संक्रमितले भल्भ भएको मास्क लगाउँदा यसमा भएको भल्भ भएर तीव्र वेगका साथ भाइरस वातावरणमा फ्याँक्छ । यसले छेउछाउमा भएका व्यक्ति संक्रमित हुने उच्च जोखिम हुन्छ ।’

आमव्यक्तिले मास्क लगाउँदा आफू कोरोनाबाट सुरक्षित रहेको बुझ्ने गरेका छन् । तर आफू मात्र नभई नजिकको व्यक्तिले मास्क लगाएको छ भने मात्र आफू सुरक्षित रहन सकिन्छ । सबैले मास्क लगाए मात्र एक–अर्कालाई संक्रमणवाट सुरक्षित पार्न सकिन्छ ।

‘कोरोनाविरुद्धको लडाइँमा फेस मास्क धेरै महत्त्वपूर्ण रहेको प्रमाणित भइसकेकाले सरकारले हाल घर बाहिर अत्यावश्यक कामले निस्किँदा सबैलाई अनिवार्य रूपमा मास्क लगाउन भनेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । सही तरिकाले मास्क लगाउनुका साथै न्यूनतम दुई मिटरको भौतिक दूरी र नियमित साबुनपानीले हात धुने बानी अँगाल्दा कोरोना संक्रमणबाट धेरै हदसम्म जोगिनुका साथै संक्रमणको विस्तारमा समेत कमी आउँछ ।

प्रकाशित : श्रावण १७, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?