कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट छुट्याइयो, ल्याइएनन् भेन्टिलेटर

प्रदेश मन्त्रिपरिषद्ले सामाजिक विकास मन्त्रालयलाई वैशाखमै ६८ करोड दिएको थियो । तीन महिनासम्म बजेट उपयोगै गरिएन । सिकिस्त अवस्थामा संक्रमितलाई भेन्टिलेटरमा राख्न नपाउँदा स्वास्थ्य संकट अझ चुलिएको छ ।
अजित तिवारी, सन्तोष सिंह

जनकपुर — तीन ठूला सहर जनकपुर, वीरगन्ज र राजविराजमा एकैसाथ कोरोना संक्रमित थुप्रिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत झस्किए । दिनदिनै संक्रमितको मृत्युसँगै सरकारी अस्पतालको दुर्दशा र फितलो व्यवस्थापनबारे टीकाटिप्पणी हुन थाल्यो । गत आइतबार जनकपुरस्थित प्रादेशिक अस्पताल पुग्दा राउतले समस्या र बेथिति देखे । कोभिड–२ लेभलको जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनमा ताला लगाइएको थियो भने बिरामीको उपचार ‘भगवान् भरोसे’ थियो ।

मुख्यमन्त्री राउत प्रादेशिक अस्पतालबाट फर्किएलगत्तै त्यहाँ धनुषा सहिदनगरस्थित डुमरियाका ३८ वर्षीय युवकलाई उपचारार्थ ल्याइयो । उनको उपचारमा जे भयो त्यसले पनि प्रादेशिक अस्पतालको कमजोरीको भेद झन् खोलिदियो । फोक्सो र मुटुमा समस्या देखिएका ती युवकलाई ज्वरो र रुघाखोकी पनि थियो । आकस्मिक कक्षमा उपचार थालियो र उनको स्वाब पनि संकलन गरियो । स्थिति गम्भीर बनिरहेका उनलाई चिकित्सकले भेन्टिलेटरमा सिफ्ट गर्न खोजे । प्रादेशिक अस्पतालमा रहेका तीन वटै भेन्टिलेटर प्रयोगमा रहेको भन्दै अस्पताल प्रशासनले उनलाई आईसीयूमा मात्रै सिफ्ट गरिदिए । ती बिरामीलाई भेन्टिलेटर तुरुन्तै आवश्यक थियो ।

स्वास्थ्यकर्मीले भेन्टिलेटर उपलब्ध गराउन असमर्थता देखाइरहे । यता, बिरामी सिकिस्त भइरहेका थिए । प्रादेशिक अस्पतालका मेसु नागेन्द्र यादवका अनुसार परिवारकै आग्रहमा अस्पतालले युवालाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिदियो । धरान जाने क्रममा ती युवकको सिरहाको मिर्चैयामा पुग्दानपुग्दै मृत्यु भयो । ‘ती युवकको मृत्यु हुनु र उसको स्वाबको रिपोर्ट आउनु सँगसँगैजस्तो भयो,’ मेसु यादवले कान्तिपुरसँग भने, ‘रिपोर्टले हामी आश्चर्यचकित भयौं । रिपोर्टमा कोरोना पोजिटिभ त छँदै थियो, त्यसमा पनि कोरोना भाइरसको हाइडोज थियो ।’ ती युवक केही दिनअघि मात्रै भारतबाट मल लिएर फर्किएका थिए । ‘भेन्टिलेटर तुरुन्तै उपलब्ध भएको भए बाँच्थ्यो कि ?’ मृतकका परिवारको भनाइ छ ।

प्रदेश २ का सरकारी अस्पतालमा ७ वटा भेन्टिलेटर मात्रै चालु अवस्थामा छन् । भेन्टिलेटर अभावमै संक्रमितको मृत्यु हुन थालेपछि ५० वटा भेन्टिलेटर खरिद गर्ने प्रदेश सरकारको निर्णय तीन महिनाभन्दा बढी आलटाल गरियो ।

प्रदेश सरकारको गत वैशाख ७ को मन्त्रिपरिषद् बैठकले भेन्टिलेटर खरिद गर्न ६८ करोड रुपैयाँ स्वीकृत गरेको थियो । भेन्टिलेटरसहितको स्वास्थ्य उपकरण छिटो खरिद गरेर ल्याउनका लागि मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद ऐनलाई पनि संशोधन गरिएको थियो । प्रदेश सरकारले कोरोना संक्रमणविरुद्ध लड्न बजेट छुट्याएर स्वास्थ्य उपकरण खरिद गर्न निर्णय मात्रै गरेन, सामाजिक विकास मन्त्रालयलाई सामान खरिद गर्न तीन दिनको छोटो प्रक्रिया मिलाउँदा सामान खरिद गर्ने कानुनी बाटो पनि फुकाइदिएको थियो ।

वैशाख बित्यो, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य उपकरण किन्ने प्रक्रिया थालेन । जेठ पनि अलमलमै बित्यो । असारको अन्तिमतिर मन्त्रालयले स्वास्थ्य उपकरण खरिद गर्न निर्णय भइसकेको रकम माग नगरेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले त्यसको ब्रिफिङ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गर्‍यो । ‘संघीय सरकारले पठाएको रकमबाटै उपकरण किन्ने जवाफ सामाजिक विकास मन्त्रालयले पठायो,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘न प्रदेश सरकारको बजेटबाट उपकरण खरिद भयो न त संघीयकै बजेटबाट ।’

प्रदेश सरकारले निर्णय गरिसकेको ६८ करोड बजेटबाट २ वटा पीसीआर मेसिन, ५० भेन्टिलेटर, पीपीई, सेनिटाइजर, मास्क, ग्लोब र अन्य स्वास्थ्य उपकरण खरिद गर्न सामाजिक विकास मन्त्रालयलाई अधिकार सुम्पिएको थियो । ती भेन्टिलेटरबाट ६ जिल्लालाई ५–५ वटा र जनकपुर तथा वीरगन्जमा १०–१० दिइने योजना थियो ।

गत आइतबार राति भेन्टिलेटर नपाएपछि रिफर गरिएका संक्रमितको मृत्यु भएको घटना सार्वजनिक हुँदा मुख्यमन्त्री राउतले जनकपुरस्थित निवासमा आकस्मिक बैठक बोलाए । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिनेश ठाकुरसँग ‘पैसा निकासा गर्ने निर्णय हुँदा पनि भेन्टिलेटर किन किनिएन ?’ मुख्यमन्त्री राउत कड्किए । प्रस्ट जवाफ नदिएपछि राउतले बैठकमै उनलाई हप्काए । ‘भेन्टिलेटर अभावमा मान्छेको मृत्यु हुन थाल्यो । बजेट दिँदा पनि किन किनिएन ? तपाईंहरूलाई लाज लाग्नुपर्ने,’ मुख्यमन्त्री राउतले निमित्त सचिव ठाकुरलाई हप्काएको प्रसंग सुनाउँदै बैठकमा सहभागी एक सचिवले भने, ‘मुख्यमन्त्रीजी निकै आक्रोशित हुनुभयो ।

बैठकमा सहभागी नेपाली सेनाका अधिकारीले त सरकारको निर्णय कार्यान्वयन नगर्नेलाई कारबाही गर्नुपर्ने माग नै गरे ।’ स्थिति बिग्रन थालेपछि प्रदेश सरकारका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलले स्वास्थ्य उपकरण खरिदसम्बन्धी सबै प्रक्रिया पेस गर्न निमित्त सचिव ठाकुरलाई निर्देशन दिए । ‘ठाकुरले प्रदेश स्वास्थ्य आपूर्ति महाशाखाले खरिद प्रक्रिया अगाडि नबढाएको आरोप लगाए भने महाशाखाका कर्मचारीले मन्त्रालयले प्रक्रिया रोकेको प्रत्युत्तर दिए,’ बैठकमा सहभागी ती सचिवले भने ।

स्वास्थ्य आपूर्ति महाशाखाका प्रमुख डा. प्रमोद यादवका अनुसार भेन्टिलेटर खरिदका लागि असार ३ मा स्रोत सुनिश्चितताको पत्र आएको थियो । असार ५ मा टेन्डर गरिएको र १५ गते टेन्डर खोलेर प्रक्रिया अगाडि बढाउँदा त्यही बीचमा सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेको सरुवा हुँदा खरिद प्रक्रिया असारमा पूरा हुन नसकेको बताए । ‘खरिद प्रक्रिया नै असारको मध्यतिर थाल्दा ढिलाइ भयो । सचिवज्यूको सरुवाले पनि प्रक्रिया रोकियो,’ यादवले भने, ‘अब पनि प्रक्रिया अगाडि बढे १५ दिनमा भेन्टिलेटर खरिद गरिसकिन्छ ।’

‘५० बेडकै भेन्टिलेटर चाहिन्छ’

डा. रामकेवल साह

सदस्य, कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रदेश २ विज्ञ समूह

प्रदेश २ का ८ वटै जिल्लामा भारतसँग खुला सीमा छ । भारतको बिहारमा कोरोना संक्रमण उच्च दरमा फैलिरहेको छ । त्यसको असर प्रदेश २ मा पर्नु स्वाभाविकै हो । ठूलो संख्यामा संक्रमित बढ्दा कन्ट्याक्ट ट्रेसिङ र उपचार पनि आवश्यकताअनुसार सम्भव देखिन्न । सामाजिक दूरी भनाइमा मात्रै छ अहिले । प्रदेश २ मा कोरोना रोकथामका लागि लकडाउन नै एक उपाय हो, निषेधाज्ञाले मात्रै हुन्न । पूर्ण लकडाउन नै अनिवार्य छ ।

प्रदेशमा बढिरहेको संक्रमणको अवस्था हेर्दा तत्काल भेन्टिलेटरसहितको अस्पताल तयारी गर्नु आवश्यक छ । करिब ५० बेडको भेन्टिलेटर यहाँ आवश्यक छ । पहिलो र दोस्रो स्टेजमा समान्यजस्तै लक्षण देखापरे पनि अहिले कोरोना भाइरस लक्षणसहित देखिएर मृत्यु हुने दर पनि बढेको छ ।

सरकारले तोकेको मापदण्डअनुसारको लेभल–२ अस्पताल काठमाडौंबाहिर धरानमा मात्र छ । प्रदेश २ का चार अस्पतालमा भेन्टिलेटर सेवा तत्काल सुरुवात गर्न नीतिगत व्यवस्था, जनशक्ति र स्रोतसाधन व्यवस्थापन आवश्यक छ । भेन्टिलेटरका लागि जनशक्ति प्रदेश सरकारको स्तरबाट सम्भव देखिँदैन । स्वास्थ्योपचार व्यवस्थापनको अवस्थामा सुधार ल्याउन सरकारले अस्पतालको स्तरोन्नति गरेर पीसीआर परीक्षण प्रभावकारी बनाउनुपर्छ । प्रकाशित : श्रावण १७, २०७७ ०६:४४

प्रतिक्रिया
पठाउनुहोस्

सुनको ‘कमिसन खान’ घटनास्थल नै परिवर्तन

सूचना चुहिएपछि योजनाकार झोला बुझाएर भागेका थिए
मातृका दाहाल

काठमाडौँ — महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको सुन बोकेको बा६च ५५१९ नम्बरको स्कार्पियो कमलपोखरीबाट कमलादीतर्फ आउँदै छ ।’ फोन दरबारमार्ग वृत्तकै घुमुवा प्रहरी प्रसन्न श्रेष्ठले गरेका थिए । फोन गरेर प्रसन्न गाडीको पछि दगुरे ।

प्रसन्नकै साथमा अर्का घुमुवा प्रहरी बहादुरसिंह कठायत थिए । उनीहरूसँग भारत गुजरातका कौशल पटेल थिए । कौशलले गाडीमा रहेका एक व्यक्तिलाई फोन गरेर प्रहरीले पिछा गरेको सूचना दिँदै ‘सामान दिएर भाग्नू’ भने ।

उता डीएसपी दाहालले कमलपोखरीबाट प्रज्ञा प्रतिष्ठान र दरबारमार्ग (महेन्द्र सालिक) तर्फ जाने बाटो घेरा हाल्न लगाए । सवारी हुलियाको खोजी गरियो । प्रसन्न गाडी पछ्याउँदै सुन्धारा पुगिसकेका थिए । कौशल सम्पर्कमै थिए । स्कार्पियो सहिदगेटबाट त्रिपुरेश्वर जाने बाटोतर्फ रोकियो । गाडीमा चालकसहित ३ जना रहेकामा एक व्यक्ति झोला बोकेर ओर्लिए । त्यो झोला प्रसन्नलाई दिए । त्यसपछि गाडीमा रहेका तीनै जना त्रिपुरेश्वर हुँदै बाटो लागे । यता कौशल केही बेरपछि पक्राउ परे । त्यसअघि कौशल घुमुवा कठायतसँगै थिए ।

प्रहरी स्रोतका अनुसार कुनै व्यापारी वा व्यक्तिलाई सामान बेच्नका लागि प्रबन्ध मिलाउने क्रममा सूचना चुहिएको थियो । प्रसन्नले झोलामा भएको सामानमध्ये सुनजस्तो १ केजी पहेँलो धातु बागबजारस्थित मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठको कोठामा लगेर राखे र बाँकी आफूले कमलादीबाट बरामद गरेको भन्दै डीएसपी दाहाललाई बुझाए । कमलादीमा तस्कर झोला मिल्काएर भागेको भन्दै डीएसपी दाहालले काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई जानकारी दिए । ज्ञवाली आफैं सुनचाँदी व्यवसायी महासंघ पुगेर परीक्षण गर्दा साढे १४ केजी सामान सुनले लेपन गरेको चाँदी र ७ सय ५० ग्राम सक्कली सुन भएको पाइयो । यसको मूल्य करिब ५८ लाख जति पर्ने देखियो । साथमा २ थान पेस्तोल पनि थियो । एकातिर तस्करीमा संलग्न व्यक्तिबाटै झोला मिल्काएको भनिनु र अर्कातिर घटनास्थल कमलादी भएको जानकारी स्वयं डीएसपी दाहालले परिसरमा गराउनुले घटना शंकास्पद बन्यो । चौबीसै घण्टा प्रहरी पहरा रहने क्षेत्रबाट कसरी एकाएक गाडी गायब बन्यो, प्रहरी गाडी खोज्नभन्दा सुन परीक्षण गर्नतिर किन केन्द्रित भयो भन्ने प्रश्न उब्जियो ।

वृत्तले दिएको जानकारीअनुसार नै परिसर प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर घटनास्थल कमलादी भएको र त्यहींबाट झोला बरामद गरिएको जानकारी दिए । ‘तर घटनास्थल सुन्धारा रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘दरबारमार्गका घुमुवाले सामान बुझेका कारण प्रहरी वृत्त जनसेवा घटनास्थल भए पनि कमलादी उल्लेख गरियो । सक्कली सुन भएको भन्ठानेर त्यसबाट आउने कमिसन/सुराकी भत्ताको लोभमा परेको देखिन्छ ।’

गाडी फेला नपरेपछि सूचना दिने घुमुवा प्रहरी कठायत नै पक्राउ परे । उनको बयानका आधारमा अर्का घुमुवा प्रसन्न समातिए । प्रसन्नको बयानपछि उमेशको कोठा खानतलासी गर्दा १ केजी सुनजस्तो धातु बरामद भयो । उमेश पक्राउ परे । उनीहरूसँग सम्पर्कमा रहेका भारतीय नागरिक कौशल पनि समातिए । ‘हामीलाई सक्कली सुन भनिएको थियो, त्यही भएर १ केजी ४ जनाले बाँड्ने गरी राखेर बाँकी प्रहरीमा बुझाएका हौं,’ एक घुमुवाले बयानमा भनेका छन् । घटनास्थलको गलत जानकारी र अपराध अनुसन्धानमा लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयमा दरबारमार्गका डीएसपी दाहाललाई फिर्ता बोलाइसकेको छ । ‘गलत विवरण दिनुका साथै प्रभावकारी अनुसन्धान गर्न नसकेपछि डीएसपीलाई फिर्ता बोलाएर अर्कैलाई वृत्तमा पठाइएको छ,’ स्रोतले भन्यो ।

अनि खुल्यो अपराधको नालीबेली

अनुसन्धानमा संलग्न स्रोतका अनुसार घुमुवा प्रहरीकै मिलेमतोमा गाडीलाई भगाइएको थियो । घुमुवा र सुरुको सूचना दिने कौशलसँग रहेका मोबाइल नम्बरको प्राविधिक अनुसन्धानमा प्रहरी जुट्यो । सहिदगेट–सुन्धाराबाट गाडीमा भागेका मानिस ललितपुरको नखिपोट क्षेत्रसम्म मोबाइल सम्पर्कमा रहेको खुल्यो । स्रोतका अनुसार उनीहरू थिए– बाराका इल्ताफ हुसेन अन्सारी र उनका सहयोगी भारत गुजरातका सञ्जय पटेल । तेस्रा व्यक्ति निलेश सखिया थिए । नखिपोटमा पुगेपछि उनीहरूले मोबाइल अफ गरेका थिए । निलेश, विजय पटेल र देवान पटेल एक ठाउँमा भेटिएर काठमाडौंबाट भागे । भाग्नुअघि इल्ताफलाई उनीहरूले सम्पर्क गरेको मोबाइल नम्बरका आधारमा महाशाखाको टोली काठमाडौंबाट नवलपरासीतर्फ लाग्यो । पूर्वी नवलपरासी जिल्ला प्रहरी र महाशाखाको टोलीले दुम्कीबास पुगेका बेला गुजरातकै देवान र विजय तथा निलेश बुधबार पक्राउ परे ।

बिहीबार दिउँसो नै इल्ताफले चलाएको गाडी नखिपोटकै अम्बरबहादुर राईको निर्माणाधीन घर परिसरबाट बरामद भयो । निलेश घुमुवा प्रहरी प्रसन्नलाई झोला दिने व्यक्ति हुन् । गाडी भने इल्ताफले चलाएका थिए ।

नवलपरासीबाट पक्राउ परेका तीनै जनालाई काठमाडौं ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ । इल्ताफ र सञ्जय फरार छन् । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले उनीहरूको लुटपाट र ठगीको नियत रहेको दाबी गर्छन् । ‘पहेँलो धातुले लेपन गरेको वस्तुलाई सुन भनेर व्यापारी ठग्न र लुटपाट गर्न खोजिएको देखिन्छ,’ थापाले कान्तिपुरसँग भने, ‘बीचमै सूचना चुहिएकाले सामान छोडेर भागेका हुन सक्छन् ।’

घटनास्थल, उद्देश्य र घटनामा फरार भएका व्यक्तिबारे अनुसन्धान भइरहेको उनले बताए । फरार भएका व्यक्तिको पनि पहिचान भइसकेकाले छिट्टै पक्राउ पर्ने थापाले बताए । पक्राउ परेकाहरूसँग बयान लिइरहेकाले सबै कुरा अहिले नै भन्न नसकिने उनको भनाइ छ ।

को हुन् मुख्य योजनाकार इल्ताफ ?

इल्ताफ हुसेन अन्सारी लुटपाट र तस्करीका मुख्य योजनाकार रहेको प्रहरी स्रोत बताउँछ । उनी बाराको साविक प्रस्टोखा–२, हरपुरका बासिन्दा हुन् । उनको ललितपुर नखिपोटमा पनि घर छ । इल्ताफ जाली नोट कारोबारमा अदालतबाट सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । हतियारको अवैध कारोबारमा पनि उनी मुछिएका थिए । विगतमा तराईमा सक्रिय सशस्त्र भूमिगत समूहसँग पनि उनको साँठगाँठ रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछन् । वीरगन्जलगायत प्रदेश २ का जिल्ला जोडिएका नेपाल–भारत सीमा क्षेत्रमा बस्ने गरेका इल्ताफ कहिलेकाहीं मात्रै काठमाडौं आउने गरेको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ । उनी अपराध धन्दामा आफूलाई मुन्ना खान, सदरुल अन्सारी, सदरुल मियाँलगायत नाममा चिनाउँथे ।

इल्ताफलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ०७२ जेठ ३० गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो । त्यतिबेलाको पक्राउपछि अनुसन्धान गर्दा भेटिएको गाडी नै मंगलबार प्रयोग भएको पनि खुलेको छ । यातायात कार्यालयबाट लिइएको विवरण, उनको अपराध पृष्ठभूमि र पछिल्लो पटक सुनचाँदी र पेस्तोल प्रकरणलाई जोडेर अनुसन्धान भइरहेको थापाले बताए । ‘सवारी चालक अनुमतिपत्र, सवारी किताब, च्यासिस नम्बर र इन्जिन भिडाएर हेर्दा बरामद गाडीमा राखिएको नम्बर सक्कली हो,’ उनले भने ।

बरामद गाडी अन्सारी र उनका आफन्त फुलनाज बेगमका नाममा दर्ता छ । ०६५ सालमा साउथ एसियन डेभलपमेन्ट सेन्टरका नामबाट अन्सारीले उक्त गाडी खरिद गरेका थिए । ०६७ जेठ २६ गते ललितपुर जिल्ला अदालतले जाली नोटको कारोबारमा अन्सारीलाई ३ वर्ष कैद र २ करोड ६१ लाख ९ हजार रुपैयाँ जरिवाना असुल्ने फैसला सुनाएको थियो । फैसला सुनाइँदा उनी फरार थिए । पाँच वर्षपछि पक्राउ परेर उनी ३ वर्ष जेल भुक्तान गरेर छुटेका थिए ।

प्रकाशित : श्रावण १७, २०७७ ०६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×