मास्क नलगाई हिँड्ने २ लाख ८ हजारभन्दा बढी नियन्त्रणमा

श्रावण १५, २०७७

मातृका दाहाल

काठमाडौँ — लकडाउन खुलेयता मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने २ लाख ८ हजार १ सय ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये एक लाख ८२ हजार ३ सय ४६ जनालाई सम्झाइबुझाइ गरेर मात्र छाडिएको छ ।

त्यस्तै १६ हजार ५ सय ४३ जनालाई मास्क नै दिएर छोडिएको गृह मन्त्रालयल् जानकारी दिएको छ ।  त्यस्तै ९ हजार २ सय ६९ जनालाई संक्रामक रोग ऐन–२०२० अनुसार एक सय रुपैयाँ जरिवाना तिराएर छाडिएको छ । 

पक्राउ पर्नेमध्ये एक लाख ३० हजार ६ सय ४८ जना पुरुष र ७७ हजार ५ सय १० जना महिला रहेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रामक रोगसम्बन्धी नियम उल्लंघन गरे १ सय रुपैयाँ जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पुर्‍याए ६ सय रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

अधिकारीका अनुसार गत साता गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर मास्कको अनिवार्य प्रयोग गराउन र नलगाउनेलाई नियन्त्रणमा लिन निर्देशन दिएको थियो । 

कोरोना भाइरस

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully