२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बढ्दो छ निराशा

‘यस्तो विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा एउटा नागरिकको अपेक्षा के हुन्छ होला ? उत्तर सरल छ, दैनिक गुजारा चलाउने आधार र टाउको लुकाउने बलियो छाना ।’
जनकराज सापकोटा

काठमाडौँ — लकडाउन अवधिमा र यो हटाएपछि कान्तिपुरसँग अनौपचारिक रूपमा जोडिएका नागरिकले कोरोनाले समाजमा पारेको प्रभावबारे आफ्ना धारणा व्यक्त गरेका छन् । कोरोनाले पारेको देखिने/नदेखिने प्रभाव समाजमा गहिरोसँग गाडिएको छ । कोरोना संक्रमणको प्रभाव रोक्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्‍यो । १ सय २० दिन लामो लकडाउन ६ गते रोकिए पनि यो बीचमा सामाजिक र आर्थिक जनजीवन नराम्रोसँग खलबलियो । कोरोना संक्रमणभन्दा तीव्र गतिमा फैलिएका अनेकन अप्ठ्याराले जनजीवन नराम्रोसँग प्रभावित भयो ।

बढ्दो छ निराशा

संक्रमणको ग्राफसँगै आममानिसका निराशा र छटपटीलाई बुझ्न साउन १ देखि कान्तिपुरले ‘कान्तिपुर कुरा’ सुरु गरेको थियो । सुरुवाती केही दिनमा म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमेलमार्फत कयौले आफ्ना छटपटी र समस्या साटेका छन् । आमनागरिकले हामीसँग साटेका प्रतिनिधि अनुभवहरूले बताउँछन्, समाजमा निराशा झाँगिँदै छ र यसले मानसिक समस्याको रूप लिँदै छ ।

आफ्नो परिचय सार्वजनिक गर्न नचाहने भक्तपुरका २४ वर्षीय युवकले कोरोना संकटपछि आफू निराश भएको बताएका छन् । कान्तिपुर कुराको भाइबरमा उनले लेखेका छन्, ‘जीवनमा यति धेरै तनाव बढिरहेको छ, जसको म व्याख्या पनि गर्न सक्दिनँ ।’ उनले आफ्नो अगाडि कुनै विकल्पहरू नरहेको भन्दै लेखेका छन्, ‘दिमागमा नकारात्मक विचारबाहेक अरू केही आउँदैन । म पूरै डिप्रेसनमा छु ।’

आफ्नो परिचय सार्वजनिक गर्न नचाहने अर्का युवाले भाइबरमा पठाएको सन्देश पनि निराशाजनक छ । उनले व्यापार चौपट भएको, ऋणको ब्याज बढ्दै गएको र ब्याजको ताकेता गर्दै आउने फोनले आफूलाई तनाव दिएको बताएका छन् । उनले लेखेका छन्, ‘मजस्ता युवा धेरै छन् । पीडा अलग होला तर समस्या एउटै छ । यस्तो अवस्थामा हामीजस्ता युवाका लागि सरकारले केही सोच्नुपर्ने हो कि ?’ उनले आफूभित्र आत्महत्याको सोच नआइसके पनि निराशा बढ्न सक्ने संकेत गरेका छन् ।

खासगरी थोरै आर्थिक लगानीमा व्यापार–व्यवसाय गर्नेले पनि कान्तिपुरसँग आफ्नो समस्या साटेका छन् । भक्तपुर सानो थिमिमा खडानन्द शिवाकोटीले लकडाउनको दुई महिनाअघि १७ लाख लगानीमा पसल खोलेका रहेछन् । कान्तिपुर कुरालाई पठाएको इमेलमा उनले लेखेका छन्, ‘लकडाउनका तीन महिना पसल बन्द भयो । भाडा मासिक १ लाख छ । कहाँबाट तिर्ने ?’ उनले आफूजस्ता साना व्यवसायीको कुरा सुन्ने कुनै ठाउँ नभएकोमा चिन्ता जनाएका छन् ।

शिवकोटीकै जस्तो विचार सिद्धार्थ नगरपालिका रूपन्देहीका भानुभक्त शर्माले ह्वाट्सएपमार्फत कान्तिपुरसँग साटेका छन् । उनले कोभिडले नराम्रोसँग आर्थिक, सामाजिक र मानसिक असर पारेको उल्लेख गर्दै लेखेका छन्, ‘भाडामा विवाद भइराख्दा व्यावसायिक मानसिकता र उद्यमशीलतामा समेत नकारात्मक असर पार्छ ।’

मनमैंजु बस्ने एक निजी स्कुलका शिक्षकले भाइबरमार्फत आफ्नो समस्या साटेका छन् । उनले नियमित तलब नआउँदा परिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको बताएका छन् । उनले लेखेका छन्, ‘कोरोनाले धेरै कुरामा असर गरेको छ । दैनिक छाक टार्न गाह्रो भएको छ ।’ बाल उदय मासिकका सम्पादक नरेन्द्र नगरकोटीले लेखेका छन्, ‘सहकार्य गरिरहेका साथीहरूलाई तिर्न नसकिएको महिनौंको तलब रकम, भाखा नाघेको ऋणको ब्याज, हर्जाना र किस्ता रकम, महिनौंदेखि तिर्न बाँकी घरभाडा, प्रेस र अन्य विभिन्न शीर्षकमा भुक्तानी गर्न बाँकी रकम आदिले थिचिएर किचिएर हाम्रो सिर्जनाशक्ति र काम गर्ने ऊर्जाको निधन भएमा कसको मन रोला ? हामी हाम्रो कर्मबाट विचलित हुनुपर्दा र सपना पलायन हुँदा पर्ने असर कस्तो होला ?’

इन्जिनियरिङका विद्यार्थी शिशिर अर्यालले कान्तिपुर कुराको इमेलमा विद्यार्थीहरू पनि कसरी डिप्रेसनको सिकार हुन सक्छन् भन्ने इंगित गरेका छन् । उनले लेखेका छन्, ‘लामो समय पठनपाठन बन्द हुँदा प्राविधिक विषय पढ्ने विद्यार्थीहरूको वैदेशिक अध्ययन र रोजगारीजस्ता कुरामा पनि प्रभाव पर्ने र दिमाग असिर्जनशील, अनुत्पादक र बोधो भइसकेको हुन्छ । यही कारणले कतिले मानसिक तनाव खेप्ने र मानसिक रोग बढ्ने नहोला भन्न सकिन्न ।’ अर्घाखाँचीका प्रदीप आचार्यले म्यासेन्जरमार्फत विदेश पढ्न जाने विद्यार्थी अन्योलमा परेकाले कोरोना संक्रमण कम र नियन्त्रण भएको देशमा पढ्न जान लागेका विद्यार्थीलाई पठाउन पहल गर्नुपर्‍यो भनेका छन् ।

कान्तिपुरसँग आफ्नो कुरा साट्नेहरूमा व्यापारी, व्यवसायीदेखि विभिन्न पेसाकर्मी र विद्यार्थी छन् । धेरैजसोले आगामी दिन कस्तो हुने हो ? आफ्नो भविष्य कसरी अगाडि बढ्ने हो र आफूले भोगिरहेको समस्याको समाधान कसरी हुने भन्नेमा अन्योल रहेको बताएका छन् । भैंसेपाटी, ललितपुरका गोकर्ण अधिकारीले कान्तिपुर कुराको इमेलमा सर्वसाधारणलाई कोभिड–१९ पछि दैनिकी गुजारा चलाउन नसक्ने अवस्था भइरहेको उल्लेख गरेका छन् । उनले आफैंसँग प्रश्नोत्तर गर्दै लेखेका छन्, ‘यस्तो विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा एउटा नागरिकको अपेक्षा के हुन्छ होला ? उत्तर सरल छ, दैनिक गुजारा चलाउने आधार र टाउको लुकाउने बलियो छाना ।’

खासगरी हठात रोजगारी गुमाएका र आर्थिक संकटमा फसेकाहरूले आफूभित्र निराशा बढ्दै गएको अनुभव कान्तिपुरसँग साटेका छन् । ट्राभल एन्ड टुर्स क्षेत्रमा कार्यरत ३६ वर्षीया महिलाले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा कान्तिपुर कुरालाई इमेल गरेर संक्रमणका कारण आफ्नो जागिर प्रभावित भएको र करिअर अनिश्चित भएको बताएकी छन् । यतिबेला न आफू फरक क्षेत्रमा गएर नयाँ करिअर सुरु गर्न सक्ने न भएकै जागिर सुचारु हुन सक्ने अवस्था रहेको भन्दै लेखेकी छन, ‘जागिर नै मेरो मुख्य समस्या भएको छ ।’

कान्तिपुरसँग कुरा साट्ने अधिकांशले आफ्नो छटपटी, सरकारले चालेका कदमप्रतिको निराशा र अनिश्चित दिनहरू कहिले सकिने हुन् भन्ने चासो व्यक्त गरेका छन् । एकाध नागरिकले भने कोभिड संक्रमणले आफूलाई थप नयाँ तरिकाले सोच्ने मौका मिलेको बताएका छन् । पर्यटन व्यवसायी हरिभक्त श्रेष्ठले लेखेका छन्, ‘कोभिडले मलाई धेरैपछि विश्राम लिने समयका साथै समाजमा सहयोग गरी आत्मानुशासित जीवन जिउने मौका पाएँ ।’

प्रकाशित : श्रावण १५, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?