बढ्दो छ निराशा

‘यस्तो विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा एउटा नागरिकको अपेक्षा के हुन्छ होला ? उत्तर सरल छ, दैनिक गुजारा चलाउने आधार र टाउको लुकाउने बलियो छाना ।’

श्रावण १५, २०७७

जनकराज सापकोटा

काठमाडौँ — लकडाउन अवधिमा र यो हटाएपछि कान्तिपुरसँग अनौपचारिक रूपमा जोडिएका नागरिकले कोरोनाले समाजमा पारेको प्रभावबारे आफ्ना धारणा व्यक्त गरेका छन् । कोरोनाले पारेको देखिने/नदेखिने प्रभाव समाजमा गहिरोसँग गाडिएको छ । कोरोना संक्रमणको प्रभाव रोक्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्‍यो । १ सय २० दिन लामो लकडाउन ६ गते रोकिए पनि यो बीचमा सामाजिक र आर्थिक जनजीवन नराम्रोसँग खलबलियो । कोरोना संक्रमणभन्दा तीव्र गतिमा फैलिएका अनेकन अप्ठ्याराले जनजीवन नराम्रोसँग प्रभावित भयो ।

संक्रमणको ग्राफसँगै आममानिसका निराशा र छटपटीलाई बुझ्न साउन १ देखि कान्तिपुरले ‘कान्तिपुर कुरा’ सुरु गरेको थियो । सुरुवाती केही दिनमा म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमेलमार्फत कयौले आफ्ना छटपटी र समस्या साटेका छन् । आमनागरिकले हामीसँग साटेका प्रतिनिधि अनुभवहरूले बताउँछन्, समाजमा निराशा झाँगिँदै छ र यसले मानसिक समस्याको रूप लिँदै छ ।

आफ्नो परिचय सार्वजनिक गर्न नचाहने भक्तपुरका २४ वर्षीय युवकले कोरोना संकटपछि आफू निराश भएको बताएका छन् । कान्तिपुर कुराको भाइबरमा उनले लेखेका छन्, ‘जीवनमा यति धेरै तनाव बढिरहेको छ, जसको म व्याख्या पनि गर्न सक्दिनँ ।’ उनले आफ्नो अगाडि कुनै विकल्पहरू नरहेको भन्दै लेखेका छन्, ‘दिमागमा नकारात्मक विचारबाहेक अरू केही आउँदैन । म पूरै डिप्रेसनमा छु ।’

आफ्नो परिचय सार्वजनिक गर्न नचाहने अर्का युवाले भाइबरमा पठाएको सन्देश पनि निराशाजनक छ । उनले व्यापार चौपट भएको, ऋणको ब्याज बढ्दै गएको र ब्याजको ताकेता गर्दै आउने फोनले आफूलाई तनाव दिएको बताएका छन् । उनले लेखेका छन्, ‘मजस्ता युवा धेरै छन् । पीडा अलग होला तर समस्या एउटै छ । यस्तो अवस्थामा हामीजस्ता युवाका लागि सरकारले केही सोच्नुपर्ने हो कि ?’ उनले आफूभित्र आत्महत्याको सोच नआइसके पनि निराशा बढ्न सक्ने संकेत गरेका छन् ।

खासगरी थोरै आर्थिक लगानीमा व्यापार–व्यवसाय गर्नेले पनि कान्तिपुरसँग आफ्नो समस्या साटेका छन् । भक्तपुर सानो थिमिमा खडानन्द शिवाकोटीले लकडाउनको दुई महिनाअघि १७ लाख लगानीमा पसल खोलेका रहेछन् । कान्तिपुर कुरालाई पठाएको इमेलमा उनले लेखेका छन्, ‘लकडाउनका तीन महिना पसल बन्द भयो । भाडा मासिक १ लाख छ । कहाँबाट तिर्ने ?’ उनले आफूजस्ता साना व्यवसायीको कुरा सुन्ने कुनै ठाउँ नभएकोमा चिन्ता जनाएका छन् ।

शिवकोटीकै जस्तो विचार सिद्धार्थ नगरपालिका रूपन्देहीका भानुभक्त शर्माले ह्वाट्सएपमार्फत कान्तिपुरसँग साटेका छन् । उनले कोभिडले नराम्रोसँग आर्थिक, सामाजिक र मानसिक असर पारेको उल्लेख गर्दै लेखेका छन्, ‘भाडामा विवाद भइराख्दा व्यावसायिक मानसिकता र उद्यमशीलतामा समेत नकारात्मक असर पार्छ ।’

मनमैंजु बस्ने एक निजी स्कुलका शिक्षकले भाइबरमार्फत आफ्नो समस्या साटेका छन् । उनले नियमित तलब नआउँदा परिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको बताएका छन् । उनले लेखेका छन्, ‘कोरोनाले धेरै कुरामा असर गरेको छ । दैनिक छाक टार्न गाह्रो भएको छ ।’ बाल उदय मासिकका सम्पादक नरेन्द्र नगरकोटीले लेखेका छन्, ‘सहकार्य गरिरहेका साथीहरूलाई तिर्न नसकिएको महिनौंको तलब रकम, भाखा नाघेको ऋणको ब्याज, हर्जाना र किस्ता रकम, महिनौंदेखि तिर्न बाँकी घरभाडा, प्रेस र अन्य विभिन्न शीर्षकमा भुक्तानी गर्न बाँकी रकम आदिले थिचिएर किचिएर हाम्रो सिर्जनाशक्ति र काम गर्ने ऊर्जाको निधन भएमा कसको मन रोला ? हामी हाम्रो कर्मबाट विचलित हुनुपर्दा र सपना पलायन हुँदा पर्ने असर कस्तो होला ?’

इन्जिनियरिङका विद्यार्थी शिशिर अर्यालले कान्तिपुर कुराको इमेलमा विद्यार्थीहरू पनि कसरी डिप्रेसनको सिकार हुन सक्छन् भन्ने इंगित गरेका छन् । उनले लेखेका छन्, ‘लामो समय पठनपाठन बन्द हुँदा प्राविधिक विषय पढ्ने विद्यार्थीहरूको वैदेशिक अध्ययन र रोजगारीजस्ता कुरामा पनि प्रभाव पर्ने र दिमाग असिर्जनशील, अनुत्पादक र बोधो भइसकेको हुन्छ । यही कारणले कतिले मानसिक तनाव खेप्ने र मानसिक रोग बढ्ने नहोला भन्न सकिन्न ।’ अर्घाखाँचीका प्रदीप आचार्यले म्यासेन्जरमार्फत विदेश पढ्न जाने विद्यार्थी अन्योलमा परेकाले कोरोना संक्रमण कम र नियन्त्रण भएको देशमा पढ्न जान लागेका विद्यार्थीलाई पठाउन पहल गर्नुपर्‍यो भनेका छन् ।

कान्तिपुरसँग आफ्नो कुरा साट्नेहरूमा व्यापारी, व्यवसायीदेखि विभिन्न पेसाकर्मी र विद्यार्थी छन् । धेरैजसोले आगामी दिन कस्तो हुने हो ? आफ्नो भविष्य कसरी अगाडि बढ्ने हो र आफूले भोगिरहेको समस्याको समाधान कसरी हुने भन्नेमा अन्योल रहेको बताएका छन् । भैंसेपाटी, ललितपुरका गोकर्ण अधिकारीले कान्तिपुर कुराको इमेलमा सर्वसाधारणलाई कोभिड–१९ पछि दैनिकी गुजारा चलाउन नसक्ने अवस्था भइरहेको उल्लेख गरेका छन् । उनले आफैंसँग प्रश्नोत्तर गर्दै लेखेका छन्, ‘यस्तो विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा एउटा नागरिकको अपेक्षा के हुन्छ होला ? उत्तर सरल छ, दैनिक गुजारा चलाउने आधार र टाउको लुकाउने बलियो छाना ।’

खासगरी हठात रोजगारी गुमाएका र आर्थिक संकटमा फसेकाहरूले आफूभित्र निराशा बढ्दै गएको अनुभव कान्तिपुरसँग साटेका छन् । ट्राभल एन्ड टुर्स क्षेत्रमा कार्यरत ३६ वर्षीया महिलाले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा कान्तिपुर कुरालाई इमेल गरेर संक्रमणका कारण आफ्नो जागिर प्रभावित भएको र करिअर अनिश्चित भएको बताएकी छन् । यतिबेला न आफू फरक क्षेत्रमा गएर नयाँ करिअर सुरु गर्न सक्ने न भएकै जागिर सुचारु हुन सक्ने अवस्था रहेको भन्दै लेखेकी छन, ‘जागिर नै मेरो मुख्य समस्या भएको छ ।’

कान्तिपुरसँग कुरा साट्ने अधिकांशले आफ्नो छटपटी, सरकारले चालेका कदमप्रतिको निराशा र अनिश्चित दिनहरू कहिले सकिने हुन् भन्ने चासो व्यक्त गरेका छन् । एकाध नागरिकले भने कोभिड संक्रमणले आफूलाई थप नयाँ तरिकाले सोच्ने मौका मिलेको बताएका छन् । पर्यटन व्यवसायी हरिभक्त श्रेष्ठले लेखेका छन्, ‘कोभिडले मलाई धेरैपछि विश्राम लिने समयका साथै समाजमा सहयोग गरी आत्मानुशासित जीवन जिउने मौका पाएँ ।’

कोरोना भाइरस

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully