‘लक्षणसहितका संक्रमित बढ्नु खतराको संकेत’ [भिडियोसहित]

फातिमा बानु

काठमाडौँ — कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न गरिएको चार महिने लकडाउन हटेको केही दिनभयो । लकडाउन हटेपछि संक्रमणको जोखिम बढेको छ । उपत्यकामा लक्षणसहितका संक्रमित पनि बढ्न थालेका समाचारहरु सार्वजनिक भइरहेका छन् । यसै विषयमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनसँग कान्तिपुरका लागि फातिमा बानुले गरेको कुराकानी :

लकडाउन हटेपछि संक्रमणको जोखिम झन् बढेको हो ?

लकडाउनअघि नेपालमा कोभिड–१९ का संक्रमित २ जना मात्रै थिए । लकडाउनपछि औसतमा दैनिक डेढ सय जनाको दरले संक्रमित बढिरहेका छन् । संक्रमितको संख्या ओरोला नलाग्दै बिना तयारी लकडाउन हटाइयो । यस्तो व्यवस्थाका कारण संक्रमणको जोखिम बढेकै हो ।

लकडाउन हटेपछि जोखिम किन बढ्छ ?

लकडाउन गर्दैमा संक्रमण रोकिने भन्ने होइन । संक्रमण फैलिन नदिनका लागि तयारी गर्नका लागि, जनमानसलाई यसबारे बुझाउनका लागि लकडाउन गरिने हो । सरकारले यसैका लागि १२० दिने लामो लकडाउन गर्‍यो । रोकथामका लागि केही तयारीहरु पनि भए । तर, रोकथाम तथा नियन्त्रणका लागि आममानिसले पुरा गर्नुर्ने जिम्मेवारीमा भने लापरवाही देखिएको छ । भीडभाडमा भौतिक दुरि, अनिवार्य रुपमा मास्क लगाएर हिँड्ने, हात धुने जस्ता आधारभूत नियम पनि पालना नगरी दिँदा संक्रमणको जोखिम बढेको हो । लकडाउन खुल्यो भन्ने शब्दलाई जनमानसले बुझेकै छैनन् । यसलाई उनीहरूले संक्रणमुक्त भयौं भनेर बुझेर मनलाग्दी रुपमा हिँडिरहेका छन् । केहीले बुझेर पनि अटेरी गरिरहेका छन् । यो भन्दैमा जनमानसमा संक्रमणको डर नै छैन भन्ने पनि होइन, डराउने, सावधानी अपनाउने समूह पनि छ । पहिले रोग लाग्यो की मरिन्छ भन्ने डर थियो । अहिले रोग लाग्लाभन्दा पनि रोग लागेपछि समाजले बहिष्कार गर्ला भन्ने डर बढी छ । यो रोगबारे समाजमा जनचेतना पर्याप्त छ । तर, उनीहरूले सावधानीका उपाय व्यवहारमा लागू गर्न अटेरी गर्दा लकडाउन हटेपछि संक्रमणको जोखिम बढेको हो । यस्तै बानी व्यहोरा र चालचलनमा चल्ने हो भने भोलिका दिनमा समुदायमै संक्रमण फैलिने सम्भावना उच्च छ

उसोभए लकडाउन खोल्नै नहुने थियो ?

महामारी नियन्त्रण गर्नका लागि लकडाउन अन्तिम उपाय होइन । यो खोल्नैपर्ने थियो । सधैं लकडाउन गर्दा मुलुकमा आर्थिक लगायतका धेरै समस्या आउँछन् । तर, लकडाउन गर्ने र खोल्ने दुवै तरिका मिलेन । लकडाउनभर सिकेका कुराहरू अब व्यवहारमा उतार्नुपर्छ । संक्रमणको झन् जोखिम भएकाले पहिलेभन्दा बढी सावधानी अपनाउनुपर्छ ।

पछिल्ला दिनमा लक्षणसहितका संक्रमित पनि बढेका हुन् ?

पहिले पीसीआर पोजेटिभ आएका ९९ प्रतिशत संक्रमित लक्षणविहिन हुन्थे । अहिले अस्पतालमा लक्षणसहितका बिरामी आउन थालेका छन् । उनीहरूमा ज्वरो रुघाखोकी, श्वास फेर्न गाह्रो हुने खालका लक्षण छन् । तर, यो कोभिडकै लक्षण हो भन्न हतार गर्नुहुँदैन । स्क्रबटाइपस, इन्फ्लुएन्जा, स्वाइन्फ्लु लगायत अन्य संक्रामक रोगमा पनि यस्तै लक्षण देखिन्छन् । यी रोगका सर्ने तरिका र बच्ने उपाय पनि उस्तै हुन् ।

साउन, भदौ भनेको फ्लुको मौसम पनि हो । यदी अहिले कोभिड–१९ नभएको भए यस्ता लक्षण लिएर आउने बिरामीलाई हामीले फ्लुकै उपचार गरिरहेका हुन्थ्यौं । कोभिड र गैर कोभिडमा स्वाद र गन्ध थाहा नपाउने लक्षण मात्रै फरक छ । त्यसैले लक्षण नदेखिएकोमा अचानक कसरीे लक्षण देखिन थाल्यो, कसरी ‘ट्विस्ट’ आयो भनेर पहिचान गर्न कोभिडसँगै अन्य फ्लुको पनि परीक्षण गरेर हेर्नुपर्छ अनि मात्रै केही निष्कर्ष निकाल्न सकिन्छ ।

लकडाउन खुलेको अवस्थामा जोखिम कम गर्न जनजीवन कस्तो हुनुपर्छ ?

लकडाउन खुलेको अवस्थामा आममानसको जिम्मेवारी झनै बढेको छ । घर बाहिर आवतजावत धेरै छ, भेटघाट बढेको छ । बजार, रेस्टुरेन्ट र सार्वजनिक यातायात खुला छ । तर, सर्वसाधारणले सही तरिकाले सावधानी अपनाइरहेको देखिँदैन । जोखिम न्यूनिकरण गर्ने मुख्य जिम्मेवारी उनीहरूकै हातमा छ । लापरवाही गर्ने हो भने भोलि जे जस्तो नतिजा आउँछ त्यसको भागिदार पनि उनीहरू नै हुनेछन् । यो महामारी राज्य र जनता दुवैले मिलेर लड्नुपर्ने लडाई हो । सच्चा नागरिकको हैसियतले भएपनि सावधानी अपनाएर हिँड्नुपर्ने सबैको कर्तव्य हो । सावधानी कसरी अपनाउने अब सबैले सुनेका, बढेका र बुझेका छन् । व्यवहारमा लागु गरिदिए ठूलो खतरा हुनबाट अवश्य बच्न सकिन्छ ।

संक्रमण बढ्यो भने कस्तो खाले खतरा हुन सक्छ ?

विश्वका लगभग सबै मुलुकमा कोभिड–१९ को संक्रमण फैलिसक्यो । केही मुलुक बाहेक कतै भयाभह स्थिति आएको छैन र नेपालमा पनि आउँछ नै भन्ने छैन । हाम्रो देशका अस्पतालको अवस्था र स्वास्थ्य पूर्वाधार कस्तो छ सबैलाई थाहै छ । भयाभह स्थिती आयो भने थेग्न सकिँदैन । उपत्यकामा जनघनत्व बढी छ, आवतजावत बढी छ त्यसैले जोखिम पनि यहाँ नै बढी छ । संक्रमण बढ्यो भने यहाँका अस्पतालले धान्न सक्छन् जस्तो लाग्दैन । लक्षणसहितका संक्रमित बढेर अस्पताल भर्ना गर्नुपर्‍यो भने सम्हाल्न नसकिने स्थिती आउन सक्छ । एकपछि अर्को जटिल अवस्था आउन सक्छ । हामीले सोचेभन्दा खराब स्थिती नआओस् भनेर तयार हुनुपर्छ । सर्तकता अपनाउनुर्छ ।

कोभिडसँगै अहिले अन्य संक्रमक रोग थपिन थालेका छन् त्यसलाई नजरअन्दाज गर्नु हुँदैन । भाइरसले कुनैपनि बेला रूप फेर्न सक्छ, जटिलता पैदा हुनसक्छ र यो जनस्वास्थ्यकै लागि ठूलो चुनौति खडा हुनसक्छ ।

अन्य मुलुकसँग तुलना गर्दा नेपालमा संक्रमणको स्थिती कस्तो छ ?

अहिलेसम्मको अवस्था हेर्दा अन्य मुलुकको तुलनामा हाम्रो स्थिती खराब छैन । निको भएर गएका संक्रमित फर्केर आएका छैनन् । अन्य मुलुकमा जस्तो कडा रोगी र वृद्धवृद्धाको मृत्युदर यहाँ छैन । वृद्धवृद्धा हुँदैमा मानविय क्षति हुन्छ भनेर चाहीँ बुझ्नु हुँदैन । उमेरहद नहुनु रोगबाट बच्नु भन्ने होइन । पक्षघात, क्षयरोग या अन्य कडारोग छ भन्ने युवालाई पनि यो रोगको खतरा उत्तिकै छ । नेपालका मृत्यु भएका संक्रमितको तथ्याकंले पनि यही देखाएको छ ।

समुदायमा संक्रमण फैलिएको छ, छैन भन्ने अहिले तर्कवितर्क चलिरहेको छ । अहिलेको संकेत हेर्दा हामी समुदाय संक्रमणको मुखैमा छौं । ठोकुवा गरेर भन्न चाहीँ एकपटक समुदायमा परीक्षण गर्नुपर्छ । संक्रमण फैलिएको क्षेत्रमा, उपत्यका जस्तो मानिसहरू धेरै आवतजावत हुने ठाउँमा परीक्षण गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदासम्म धेरै जोखिम छैन तर, देशभित्रै सावधानी नअपनाउने हो भने उपत्यका लागायत ठूला शहरमा समुदाय संक्रमण हुने उच्च जोखिम छ ।

कोभिड–१९ संक्रमणका कारण नेपालमा मृत्युदर कम देखिएको हो ? किन ?

हाम्रो देशमा संक्रमण फैलिरहेको अवस्था भएकाले अहिले नै मृत्युदर कम या धेरै भनेर हिसाब गरिहाल्न मिल्दैन । दैनिक जसो एकजना संक्रमितको मृत्यु भैरहेको छ । अहिलेसम्मको संक्रमण हेर्दा चाहीँ अन्य मुलुकको तुलनामा मृत्युदर कम नै हो भन्न सकिन्छ । मृत्युदर कम हुनुका धेरै कारण पत्ता लाग्नै बाँकी छ । दक्षिण एशियाली मुलुकमा यो भाइरस कमजोर रूपमा प्रस्तुत भएको छ पनि भनिएको छ तर, यो अनुमान मात्रै हो । यहाँको वातावरण र जीवनशैलीका कारण पनि यो भाइरसले कडा रूपमा असर नगरेको हो कि पनि भन्न सकिन्छ । यद्यपी यसको कुनै वैज्ञानिक प्रमाण छैन ।

संक्रमण रोक्न राज्यको प्रणाली कस्तो हुनुपर्छ ?

अहिलेको अवस्थामा सर्वसाधारणले सावधानी अपनाउनु नै मुख्य उपाय हो । परीक्षणको दायरा बढाउनपर्छ । लक्षणसहितका संक्रमित बढेकाले अस्पतालमा आईसीयू र भेन्टिलेटरको संख्या पनि बढाउन आवश्यक देखिन्छ । प्रकाशित : श्रावण १४, २०७७ १६:४७

प्रतिक्रिया
पठाउनुहोस्

चेपाङ बस्तीमा आगो र हात्ती लगाउनु गल्ती भन्दै विभागले माफी माग्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जको कुसुमखोलामा चेपाङ समुदायका घर जलाएको र हात्ती लगाएर भत्काउन लगाएको प्रति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले माफी मागेको छ ।

विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले संघीय संसद प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उक्त घटनाप्रति विभागको तर्फबाट माफी मागेका हुन् ।

समितिको बुधबारको बैठकमा कँडेलले उक्त घटना मानवीय गल्ती भएको भन्दै माफी मागेका हुन् । 'केही छिटफुट घटना भएको छ । अमानवीय भन्नाले पनि केही मानवीय त्रुटिले घटना हुन गएको छ । म विभागकोतर्फबाट क्षमा याचना गर्न चाहन्छु,' उनले भने ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बसेका चेपाङ समुदायका घर भत्काइएको र जलाइएको थियो । व्यापक विरोधपछि विभागले क्षमा याचना गरेको हो ।

कँडेलले वन्यजन्तु र मानिसबीचको द्वन्द्व समाधान गर्नका लागि बस्ती सार्ने क्रममा कमजोरी भएको बताएका हुन् । घर र गोठको रूपमा प्रयोग गरिएका 'कटेज'मा आगो लगाइएको र भत्काइएको उनले बताए ।

उक्त क्षेत्रमा २०५३ सालयता स्थानीय बसोबास गर्दै आएको र पछिल्लो समय दुर्घटना बढेसँगै हटाउन लागिएको कँडेलको भनाइ थियो । चेपाङ बस्ती भएको क्षेत्र भारत र पर्सा राष्ट्रिय निकुञ्जबाट हात्ती आउने बाटो भएकाले खाली गर्न लागिएको उनले जानकारी दिए । समितिको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्‍नेतले मानवीय त्रुटिका कारणले घर जलेको बताएका थिए ।

प्रकाशित : श्रावण १४, २०७७ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×