स्वास्थ्य सामग्री खरिद प्रकरण : कार्की, कोइराला र श्रेष्ठलाई संसदीय समितिले बोलायो- समाचार - कान्तिपुर समाचार

स्वास्थ्य सामग्री खरिद प्रकरण : कार्की, कोइराला र श्रेष्ठलाई संसदीय समितिले बोलायो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागमार्फत खरिद गरिएका स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे सोधपुछ गर्नका लागि स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार, तत्कालीन स्वास्थ्य सचिव र स्वस्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकलाई संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बोलाएको छ । 

सार्वजनिक लेखा समिति बैठक । फाइल तस्बिर ।

समितिको मंगलबार बिहान ११ बजेदेखि बस्ने बैठकमा स्वास्थ्य सामग्री खरिदको अनुमति दिने समितिका संयोजक रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्की, मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठलाई बोलाइएको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

नेपालमा कोरोनाका संक्रमित भेटिन लागेको र लकडाउन सुरु भएपछि गत चैत दोस्रो साता स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्नका लागि विवादित ओम्नी समूहलाई दिएको थियो ।

उक्त समूहलाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा कानुनी अधिकार नभएका मन्त्रीका विज्ञ सल्लाहकार कार्कीलाई दिइएको, कानुनी अधिकार भएका सचिव र महानिर्देशकले प्राप्त जिम्मेवारी पूरा नगरेको संसदीय समितिको प्रारम्भिक अध्ययनबाट देखिएको समिति स्रोतले बताएको छ ।

ओम्नी समूहले ठेक्का प्राप्त गरेअनुसार गुणस्तरीय सामग्री नल्याएको, मागभन्दा कम सामग्री ल्याएकोलगायतका आरोप लागेको थियो । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक श्रेष्ठले उक्त समूहलाई कालो सूचीमा राख्ने बताए पनि पछि प्रक्रिया अघि बढाएका थिएनन् ।

ओम्नीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले अध्ययन थालेको थियो ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सरकारको आलोचना भएपछि विभागका महानिर्देशक श्रेष्ठ र स्वास्थ्य सचिव कोइरालाको सरुवा भएको थियो । कोइराला हाल प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयमा कार्यरत छन् ।

सरकार र ओम्नी समूहबीच १ अर्ब २४ करोड बराबरका स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो ।

प्रकाशित : असार ३०, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

जो सबेरै परदेश जाने तयारीमा थिए

सम्झना रसाइली

तनहुँ — व्यास नगरपालिका–९ माझफाँटका २४ वर्षीय मनोज थापा वैदेशिक रोजगारीका लागि दुबई जान झोलागुन्टा कसेर आइतबार राति सुतेका थिए । सोमबार बिहान काठमाडौं जाने साइत थियो तर उज्यालो हुन नपाई उनी अस्ताए । आफन्तसँग भेटघाट गरी बिदा मागेर सबै तयारी पूरा गरी सुतेका उनी सोमबार बिहानै आएको पहिरोले घरसँगै पुरिए । पहिरोमा उनी र घरका अरू तीन जना पनि पुरिए ।

पहिरोमा परी ज्यान गुमाएका दम्पती मनोज र अञ्‍जना

पहिरोमा मनोजका अतिरिक्त उनकी ४० वर्षीया आमा कमला, श्रीमती २१ वर्षकी अञ्जना र भाइ २० वर्षीय राजेश पुरिएका हुन् । राजेश अझै बेपत्ता छन् भने तीन जनाको शव भेटिएको छ । सोमबार बिहानै उठेर रातिबाटै घरभित्र पसेको पानी तर्काउँदै थिए मनोजका आमाबुबा । मनोज, अञ्जना र राजेश सुतिरहेका थिए । सोमबार बिहान ६:३० बजेतिर अचानक गल्र्याम्म आवाज आयो, घर लडायो । बाबु केशवबहादुर थापाको खुट्टा थिचेजस्तो भयो । कमला, मनोज, अञ्जना र राजेशलाई घरले थिचिसकेको थियो । केशवबहादुर भने जसोतसो भाग्न सफल भए । उनको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक अरुण पौडेलले बताए । ‘पहिरोले घरमाथिको भित्तोबाट माटोसँगै ४/५ वटा रूखहरू पनि ल्याएको रहेछ,’ स्थानीय सुदीप न्यौपानेले भने, ‘हिलो र रूखले घरलाई छोपेको थियो ।’

उनका अनुसार वरपरका ४/५ वटा घरका परिवारहरू पनि आफ्नो ज्यान बचाउनमै लागिरहेका थिए । ‘सबैलाई आफ्नै ज्यान बचाउनेतिर ध्यान थियो,’ न्यौपानेले भने, ‘उनीहरूलाई बचाउने ख्याल नै आएन ।’ वर्षा लगातार भएको र पहिरोको कारण हिलाम्मे भएर हिँड्न नसक्ने अवस्थाले पनि उद्धारमा जान नसकिएको उनले बताए ।

पहिरोबाट परिवारकै चार जनाको मृत्यु भएकोबारे अझै विश्वास गर्न नसकेको मनोजकी काकी कल्पना थापा बताउँछिन् । ‘हिजो मात्र म विदेश जान लागेको, भोलि काठमाडौंका लागि निस्कने हो भन्दै थियो,’ उनले भनिन्, ‘आज सबेरै यस्तो देख्नुपर्‍यो ।’ मनोज गत माघमा दुबईबाट छुट्टीमा आएका थिए तर लकडाउनका कारण जान पाएका थिएनन् । अलिक सहज भएपछि उनले शुक्रबार वडा कार्यालयमा गएर काठमाडौं जाने सवारी पासको कागज बनाएका थिए ।

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा आएको पहिरो । तस्बिर सौजन्य : सुदीप न्यौपाने

मनोजका भाइ राजेशले पनि प्लस टु सकेर विदेश जानका लागि पासपोर्ट बनाइसकेका थिए । ‘विदेश जाने प्रक्रिया उसले पनि चालिरहेको थियो, केही पैसा काठमाडौंमा बुझाएँ भन्थ्यो,’ कल्पनाले भनिन् ।

माँझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । व्यास–११ ओडारेका ५२ वर्षीय पदम भुजेल पहिरोले पुरिएर बेपत्ता छन् । व्यास–९ की २६ वर्षीया झनुमाया कुँवर घाइते भएकी छन् । उनको दमौलीमा उपचार भइरहेको छ ।

परिवारकै पाँच जनाको मृत्यु

सोमबारै रिसिङ गाउँपालिका–८ भैंसीकिलेमा अनबहादुर थापाको घर पहिरोले पुर्दा पाँच जनाको मृत्यु भएको छ । अनबहादुरका ३० वर्षीय छोरा भेषबहादुर, २९ वर्षीया बुहारी नानुमाया, २२ वर्षका छोरा महादेव, कान्छी बुहारी १९ वर्षीया मनिसरा र नातिनी ५ वर्षीया अमिशा मृत भेटिएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

पहिरोमा परी घाइते भएकी ६० वर्षीया ज्योति थापालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ ।

यसैगरी म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा घाइते भएकी १७ वर्षीया लक्ष्मी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ ।

प्रकाशित : असार ३०, २०७७ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×