कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारेकोट पहिरो : ३ सय परिवार विस्थापित

भीमबहादुर सिंह

जाजरकोट — बाढी पहिरोको कारण बारेकोट गाउँपालिकामा ३ सय घरपरिवार विस्थापित भएका छन् । तीन दिनयताको भारी वर्षाका कारण गाउँबस्तीमा पहिरो खसेपछि स्थानीय विस्थापित भएका हुन् ।

पहिरोको उच्च जोखिममा रहेको बारेकोट-६ को घर्ती गाउँ । तस्बिरः भीमबहादुर सिंह /कान्तिपुर ।

पहिरोले बारेकोट-४ मैनाका ६० घरपरिवार, सार्की गाउँका १०, तोलखानका ९०, कालाखोलीका ३६, पाखाका ४०, भैलोखानाका ३०, धौलाकोटका ३२ र रोकाय गाउँका १२ घरपरिवार विस्थापित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले वताए ।

पहिरोले विस्थापित भएपछि स्थानीय बासिन्दालाई विद्यालय, जंगलको खाली चौर, गाई/भैंसी राख्‍ने गोठ लगायत स्थानमा बस्‍न बाध्य भएको सिंहले बताए । भारी वर्षाका कारण बारेकोट गाउँपालिकाको अधिकांश गाउँबस्तीमा बाढी पहिरो जाने क्रम नरोकिएको उनले बताए । ठाउँ ठाउँमा बाढी र पहिरो आएपछि एक घरबाट अर्को घरसम्म आउजाउ गर्न समेत बन्द भएको उनले बताए । बारेकोट गाउँपालिकाको जिरी, मैना, भैलोखाना, तोलखान, करुका, कार्कीजिउला, घर्तीगाउ, सुवाकोट लगायत डेढ दर्जन गाउँका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको सिंहले बताए । ‘शनिबारसम्म पानी पर्न नरोकिएकाले अन्य गाउँका घर पनि जोखिममा छन्,’ उनले भने ।

जाजरकोटमा तीन दिनयता बाढी पहिरोको कारण ९ को मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । त्यस्तै, बाढीपहिरोमा परेर २ जना गम्भीर घाइते भएका छन् । बिहीबार राति आएको पहिरोले बारेकोट ४, सार्की गाउँका दुई घर बगाउँदा ९ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएको जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले बताए ।

पहिरोमा परेर सार्की गाउँका ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की, १४ वर्षीय तिर्खा सार्की, ६ वर्षीय सुभास सार्की, २० वर्षीय डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्की र ३६ वर्षीय कलु सार्कीको मृत्यु भएको हो । पहिरोमा परेका पुष्पा सार्की, लक्ष्मी सार्की र कमला सार्की बेपत्ता छन् । खहरे खोलामा आएको बाढीले बगाएर बारेकोट ६, धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि बेपत्ता रहेको श्रेष्ठले बताए ।

सानाखोलाले बगाएर जुनीचाँदे गाउँपालिका ११, कोर्ताङ्गका डिल्लीबहादुर चदारा पनि बेपत्ता भएको उनले बताए । जाजरकोटमा बाढी पहिरोमा परेर बेपत्ता हुनेको संख्या ६ रहेको श्रेष्ठ बताउँछन् । पहिरोले घर भत्किदा घाइते भएका बारेकोट ४, दहका लालबहादुर नेपाली र खोलाले बगाउँदा घाइते भएका वडा नम्बर ६ धुमका रामचन्द्र महतारालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उपचारका लागि नेपालगन्‍जतर्फ लिएको प्रहरी नायबल उपरीक्षक श्रेष्ठले बताए ।

बाढी र पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य जारी रहेको उनले बताए । शनिबार बिहानैदेखि सुरक्षाकर्मी र स्थानीयवासी लगायतले घटनास्थल पुगेर पहिरोमा पुरिएकाको खोजी गरिरहेको उनले बताए ।

सार्की गाउँको पहिरोस्थलको भूगोल भिरालो तथा अप्ठेरो हुँदा, पहिरो खस्ने क्रम जारी हुँदा र खराब मौसमका कारण बेपत्ताको खोजी तथा उद्धारमा कठिनाइ भएको उनको भनाई छ । बारेकोट गाउँपालिका र स्थानीय प्रशासनले पहिरोको जोखिम रहेका गाउँका बासिन्दालाई सुरक्षित स्थानमा गएर बस्‍न आग्रह गरेको श्रेष्ठले बताए ।

समयमा सर्तकता नअपनाए बाढी पहिरोले बारेकोटमा ठूलो धनजनको क्षति हुने उनले बताए । सार्की गाउँको घटनास्थल सदरमुकाम खलंगादेखि ९० किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित : असार २७, २०७७ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्

श्रीमती हत्या आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

संखुवासभा — ​धर्मदेवी नगरपालिका–९ मुलगाउँकी ५० वर्षीया मनमाया जिमीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान् रुद्रबहादुर जिमीलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेकी बहिनी नन्दकुमारी जिमीले रुद्रबहादुर पनि हत्यामा संलग्न भएको बयान दिएपछि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । 

घरबाट घाँस काट्न गएकी मनमायाको बुधबार शव फेला परेपछि रुद्रबहादुरले नै स्थानीय र प्रहरीलाई श्रीमति मृत अवस्थामा भेटिएको भनेर खबर गरेका थिए । मुलगाउँ नजिकैको जंगलमा विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित : असार २७, २०७७ २०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×