बारेकोट पहिरो : ७ जनाको शव भेटियो, ७ बेपत्ता [अपडेट]

भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा शुक्रबार राति गएको पहिरोमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । त्यस्तै बारेकोट–६, धुमास्थित खहरे खोलाले बगाएर २ जना बेपत्ता भएका छन् ।

बारेकोट पहिरो : ७ जनाको शव भेटियो, ७ बेपत्ता [अपडेट]

बारेकोट गाउँपालिकामा बाढी र पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । सार्कीगाउँको पहिरोमा बेपत्ता ५ जना र धुमस्थित खहरे खोलामा बगेर बेपत्ता २ जनाको खोजी भइरहेको छ ।

पहिरोमा बेपत्ता भएका गोपाल सार्की, अर्जुन सार्की, डिल्ली सार्की र वीरेन्द्र सार्कीको शव फेला परेको छ भने अन्य ३ जनाको सनाखत हुन सकेको छैन । डिल्ली र वीरेन्द्र कुशे–९ बाट पाहुना बस्न आएका थिए । धुमका २० वर्षीय शान्तबहादुर चलाउने, १० वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएका हुन् ।

बेपत्ताको शव पहिरोले बगाएको घरदेखि करिब १० मिटरको दूरीमा फेला पारेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । सार्कीगाउँको पहिरो स्थलको भूगोल भिरालो तथा अप्ठेरो हुँदा, पहिरो खस्ने क्रम जारी छ । पानी परिरहँदा बेपत्ताको खोजी तथा उद्धारमा समस्या भएको अध्यक्ष शाहले बताए । स्थानीय बासिन्दा र प्रहरी टोलीले बेपत्ताको खोजी गरिरहेको अध्यक्ष शाहले बताए ।

घटनास्थल आसपासमा फोन नलाग्ने र प्रहरी सञ्चार सेटलेसमेत काम नगर्ने हुँदा घटनाबारे सूचना उपलब्ध गराउन समस्या भएको उनले बताए । ठूलो वर्षातका कारण बारेकोट गाउँपालिकाको ५० प्रतिशत भूगोलमा पहिरो गएको अध्यक्ष शाहले बताए । बारेकोट–४ को जिरी, मैना, गोठगाउँ र वडा नम्बर ५ को कालाखोली, भैलोखाना, तोलखान र करुका गाउँका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको शाहले बताए ।

त्यस्तै बारेकोट–४ दहचौरमा पहिरोले घर बगाउँदा १ जना गम्भीर घाइते भएको शाहले बताए । पहिरोको जोखिमसँगै स्थानीय बासिन्दाले घर छाडेर सुरक्षित स्थान तर्फ गएको उनले बताए । सार्कीगाउँमा १ सय ५० मिटर माथिबाट गत राति ३ बजेतिर पहिरो आएको प्रत्यक्षदर्शी सिला सार्कीले बताइन् । पहिरो ६ सय मीटर तलसम्म पुगेको उनले बताइन् । भीषण वर्षासँगै एक्कासि पहिरो आएपछि गाउँमा बालबच्चा च्यापेर भागाभाग भएको उनले बताए । दुई घरका परिवारले भाग्ने मौका नपाउँदा पहिरोमा बेपत्ता भएको उनको बताइन् ।

सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेरम्ब पाण्डेको नेतृत्वमा प्रहरी टोली, सशस्त्र प्रहरी र सेनाको टोली सार्कीगाउँ घटनास्थलमा पुग्न नसकेको जाजरकोटका डीएसपी किशोर कुमार श्रेष्ठले बताए । घटनास्थल टाढा भएकोले उद्धारका लागि सदरमुकामबाट खटिएको टोली पुग्न नसकेको उनले बताए । सार्कीगाउँको पहिरोमा ५२ वर्षीय घरमुली गोपाल, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन, अर्का घरमुली कलु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला, ६ वर्षीय छोरा सुभाष र पाहुना बस्न आएका कुशे गाउँपालिका ९, चौराँटाका २० वर्षीय डिल्ली, १४ वर्षीया गौरी, १६ वर्षीया कविता र १८ वर्षीय वीरेन्द्र वेपत्ता भएका थिए । घटनास्थल सदरमुकाम खलंगादेखि करिब ९० किलोमीटरको दूरीमा रहेको छ ।

......

बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गत राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये चार जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी जवान टेकराज बिसीका अनुसार बारेकोट– ४ का ५२ वर्षीय गोपाल सार्कीे, ११ वर्षीय अजुर्न सार्की र कोसे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्कीको शव फेला परेको हो । उनीहरु दुवैजना गाउँमा पाहुना बस्न गएको बिसीले बताए ।

पहिरोले सार्कीगाउँका २ घर बगाउँदा पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका थिए ।

प्रकाशित : असार २६, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?