कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जाजरकोटको बारेकोटमा पहिरोले घर बगाउँदा १२ बेपत्ता

भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा गएराति आएको पहिरोमा परि १२ जना बेपत्ता भएका छन् । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका हुन् । पहिरोमा परेर बेपत्ता हुनेहरुमा ५२ वर्षीय घरमुली गोपाल सार्की, उनकी पत्नि ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षीय छोरा अर्जुन सार्की छन् ।

जाजरकोटको बारेकोटमा पहिरोले घर बगाउँदा १२ बेपत्ता

त्यस्तै अर्को घरमुली कलु सार्की, १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षीय छोरा सुभास सार्की रहेका छन् । पहिरोमा परेर पाहुना बस्न आएका कुशे गाउँपालिका ९ चौराँटाका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय बीरेन्द्र सार्की समेत बेपत्ता भएका छन् ।

पहिरोमा परेका मध्ये १ जनाको शव देखिएको तर पहिरोबाट निकाल्न नसकिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले बताए । शवको सनाखत हुन नसकेको डिएसपी श्रेष्ठले बताए ।

प्रहरी घटनास्थल पुगेर बेपत्ताको खोजी गरिरहेको डिएसपी श्रेष्ठले बताए । प्रहरी चौकी सिलिङ्गचौरको प्रहरी टोली भर्खर घटनास्थल पुगेको उनले जानकारी दिए । सिलिङ्गचौरबाट घटनास्थल पुग्न २ घण्टा लाग्ने उनले बताए ।

इलाका प्रहरी कार्यालय बारेकोट र प्रहरी चौकी लिम्साबाट पनि प्रहरीटोली घटनास्थलतर्फ गएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेरम्ब पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ हिँडेको प्रनाउ श्रेष्ठले बताए । घटनास्थल आसपासमा फोन नलाग्ने र प्रहरी सञ्चार सेटले काम नगर्ने हुँदा घटनाबारे विस्तृत जानकारी लिन कठिनाई भएको उनले बताए ।

बारेकोटका स्थानीयले घटनास्थलबाट २ घण्टा उकालो हिँडी फोन लाग्ने ठाउमा पुगेर घटनाबारे जानकारी गराएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । सार्कीगाउँमा गएको पहिरोको कारण बारेकोट गाउँपालिका ४ को वडा कार्यालय भवन र अन्य ४/५ वटा घरहरु पनि उच्च जोखिममा रहेको प्रजिअ पन्तले बताए ।

सार्कीगाउँमा पहिरो जाने क्रम जारी रहेको उनले बताए । घटनास्थलको भूगोल अप्ठेरो हुँदा, पहिरो खस्ने क्रम जारी रहेको र पानी परिरहेकोले बेपत्ताको खोजी तथा उद्धारमा समस्या भएको उनले बताए । बेपत्ताको खोजी तथा उद्धारका लागि दल्लीबाट नेपाली सेना र सदरमुकाम खलंगाबाट सशस्त्र प्रहरीको टोली पनि घटनास्थल तर्फ हिँडेको उनले बताए ।

उक्त टोलीलाई घटनास्थल पुग्न ७/८ घण्टा लाग्ने उनले बताए । बेपत्ताको खोजी तथा उद्धारको लागि तालिम प्राप्त सेनाको आवश्यक रहेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । घटनास्थल सदरमुकाम खलंगादेखि करीब ९० किलोमीटरको दुरीमा रहेको छ ।

तस्बिरहरु : भीमबहादुर सिंह/कान्तिपुर

प्रकाशित : असार २६, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?