२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

लक्षण नदेखिएपछि परीक्षण ठप्प

प्रदेश ५ मा निको हुने दर ६६ प्रतिशतभन्दा बढी, ३ हजार ९ सय ३८ संक्रमितमध्ये १ सय ३४ को उपचार हुँदै
प्रदेश ब्युरो

बुटवल — करिब चार हजार कोभिड–१९ संक्रमित रहेको प्रदेश ५ का अधिकांश क्वारेन्टाइन र आइसोलेसन सेन्टर रित्तिएका छन् । भारतबाट फर्किनेको संख्यामा कमी र तेस्रो मुलुकबाट आएकालाई सिधै घर पठाउन थालेपछि क्वारेन्टाइन र आइसोलेसन धमाधम बन्द हुन थालेका हुन्, जसले गर्दा प्रदेश कोरोनामुक्त जस्तो देखिन थालेको छ ।

लक्षण नदेखिएपछि परीक्षण ठप्प

यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन । समुदायमा संक्रमण आशंका गरिएका व्यक्ति भए पनि लक्षण नदेखिएसम्म परीक्षण नगर्ने नीति सरकारले लिएको छ ।

आइसोलेसनमा रहेका संक्रमितको दोस्रोपटक जाँच गरिएको छै्रन । उनीहरू समुदायमा घुलमिल भइसकेका छन् । क्वारेन्टाइन र आइसोलेसनमा चाप कम भएपछि संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गरिनुपर्ने हो । तर स्वाब संकलन ठप्प पारेर स्वास्थ्यकर्मी आराम गरिरहेका छन् । पछिल्लो समय प्रदेशस्थित तराईका जिल्लामा नयाँ संक्रमण पुष्टि दर न्यून छ । पहाडी जिल्लामा भने संक्रमित बढिरहेका छन् । तर त्यहाँबाट पीसीआर परीक्षणका लागि पठाइएका स्वाबका नमुना प्रयोगशालाले फिर्ता पठाउन थालेपछि जनप्रतिनिधि निराश छन् ।

दुई साताअघि पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट रम्भा गाउँपालिका हुँगीका १६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइयो । तीमध्ये आठ जनामा संक्रमण पुष्टि भयो । आइसोलेसनमा रहेका उनीहरूको दोस्रोपटक परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइयो । तर प्रयोगशालाले जाँच गरेन । ‘जाँच गर्न नमानेपछि १४ जनालाई एकैपटक घर पठाइएको हो,’ रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भने, ‘माथिको निर्देशन मान्दा तल्लो तहबाट गाली खानु परेको छ ।’ दिनदिनै आउने फरक–फरक निर्देशनले समस्या भएको उनले बताए ।

रैनादेवी छहरा गाउँपालिकाले पनि १२ जनालाई १५ दिनको आइसोलेसन बसाइपछि घर पठायो । उनीहरूको स्वाब प्रयोगशाला पठाए पनि जाँच गरिएन । ‘आइसोलेसनमा रहेकालाई बिनाजाँच घर फर्काउने निर्णय घातक छ,’ गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले भने, ‘संक्रमितको स्वाब टेस्ट परीक्षणका लागि पठाइएकामा फिर्ता आएको छ । पीसीआर टेस्ट नगरी घर पठाउँदा संक्रमितलाई थप अन्योल हुनुका साथै समाजमा संक्रमण फैलिने उच्च सम्भावना हुन्छ ।’ लुम्बिनी मेडिकल कलेजले रिब्दीकोट, रैनादेवी छहरा, रम्भा गाउँपालिकाका ५० स्वाब संकलन गरी पठाएकामा सबै फिर्ता आएको छ । निस्दी गाउँपालिकाले पठाएका ९० स्वाबका नमुना पनि फिर्ता आएका छन् । ‘हामीलाई प्रयोगशालाले उल्टै गाली गरिराछ,’ जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाइडलाइन पढ्नुस् र जनप्रतिनिधिलाई पढ्न लगाउनुस् र सम्झाउनुस् भन्दै उल्टै गाली खाएका छौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीलाई गत जेठ २० गते परिपत्र गरेर १४ दिन आइसोलेसनपछि सिधै घर पठाउन निर्देशन गरेको छ ।

कोरोना हटस्पट कपिलवस्तुका विभिन्न आइसोलेसनमा ४६ जना संक्रमित छन् । यहाँका ३५ वटा क्वारेन्टाइनमा ३ सय १ जना छन् । संक्रमित र क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक घटिरहेको छ । त्यसैले स्वास्थ्यकर्मी फुर्सदिला छन् । उनीहरू अहिले कार्यालयको नियमित काममा मात्र खटिएका छन् । जिल्लाका अधिकांश संक्रमितलाई दोस्रोपटक पीसीआर परीक्षण नगरी घर पठाइएको छ । यसरी पठाइएका व्यक्तिको नियमित फलोअपसमेत गरिएको छैन । जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मी जोखिम भत्ता नपाएर मनोबल गिरेको अवस्थामा छन् । सबै पालिकाले कन्ट्याक्ट ट्रेसिङका लागि दुईदेखि तीनवटा समिति गठन गरेका छन् । तर फाट्टफुट्ट ट्रेसिङको काम मात्र भएको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । ‘अति आवश्यकलाई मात्र ट्रेसिङ गरेका छौं,’ उनले भने, ‘समुदायमा जान सकेका छैनौं । जेनतेन स्वाब संकलन गर्छौं । तर परीक्षण गराउन गाह्रो भइरहेको छ । त्यही भएर कन्ट्याक्ट ट्रेसिङ गर्न मनै लाग्दैन ।’

‘जनशक्तिलाई कन्ट्याक्ट ट्रेसिङमा लगाउनुपर्ने हो,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘तर काम गर्न सकेका छैनौं ।’ स्थानीय तहका जनप्रतिनिधिले गम्भीरता नबुझ्दा र सानातिना कुरामा अल्भिँmदा स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्न नसकेको उनको आरोप छ । कपिलवस्तुमा ७१ महिलासहित ७ सय ४६ जना संक्रमित देखिएकामा ७ सय जना घर फर्किसकेका छन् । कोरोना परीक्षण रोकिएपछि बाँके र बर्दियामा संक्रमण न्यून देखिएको छ । अहिले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्र परीक्षण भइरहेको छ । गत जेठसम्म धमाधम संक्रमित भेटिएका थिए । त्यसबेला परीक्षणको दायरा बढाइएको थियो । बर्दियामा संक्रमितको संख्या १ सय ९३ पुगेको छ । जिल्लाका १२ आइसोलेसन सेन्टरमध्ये आठ खाली भइसके, चारवटामा अहिले ४० जना संक्रमित छन् । बाँकेमा ३ सय ६८ जना संक्रमित रहेकामा अहिले २७ जना मात्र उपचाररत छन् ।

स्वाब संकलन न्यून

प्रदेशका प्रयोगशालामा परीक्षण सुस्त भएपछि यहाँका विभिन्न जिल्लामा स्वाब संकलन ठप्पजस्तै छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार प्रदेशका १२ जिल्लाबाट ३ सय २४ जनाको मात्र स्वाब संकलन भएको छ । यसअघि दैनिक ८ सयदेखि ११ सयसम्म स्वाब संकलन हुने गरेको थियो । प्रदेशका ८ जिल्लामा मात्र स्वाब संकलन भइरहेको छ । दाङ, पश्चिम नवलपरासी, रोल्पा र रुकुम पूर्वमा स्वाब संकलन भएको छैन । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिस्वाब ५५ सय रुपैयाँ स्थानीय तहसँग माग गरेपछि स्वाब संकलन गत बिहीबारदेखि रोकिएको छ ।

अर्घाखाँचीका विभिन्न क्वारेन्टाइनमा बुधबारसम्म १ हजार ५६ जना छन् । आरडीटी परीक्षणमा पोजिटिभ देखिएकाको पीसीआरका लागि स्वाब संकलन गरेर पठाउनुपर्ने भए पनि अहिले स्वाब संकलन भएको छैन । त्यस्तै संक्रमित देखिएका ३ सय २२ मध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्केका छन् । १ सय २० जनाको पुन: परीक्षण गर्नुपर्ने भए पनि अहिले प्रदेशबाटै लक्षण नदेखिएकाको पुन: स्वाब संकलन नगर्नू भन्ने निर्देशन आएकाले अन्योल भएको जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । दाङका क्वारेन्टाइनमा ६ सय २७ जना छन् । संकलन भएर परीक्षण हुन बाँकी रहेका ३ सय २३ स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भेरी अस्पताल नेपालगन्ज पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा बिहीबारसम्ममा २ हजार ७ सय ११ स्वाबको परीक्षण हुन बाँकी छ । प्रदेशका चार प्रयोगशालामध्ये तीनवटामा परीक्षण भइरहेको छ । नेपालगन्ज र लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण दर सुस्त छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन डा. उमाशंकर चौधरीले प्रदेशमा संक्रमितको दर घट्दै गएको बताए । पछिल्लो एक सातामा संक्रमितको निको हुने दर ६६ प्रतिशत रहेको उनले बताए । ‘धेरै संक्रमित देखिएको कपिलवस्तुमा निको हुने दर ९३ दशमलव ४४ र बाँकेमा ९५ दशमलव ४५ प्रतिशत छ,’ उनले भने, ‘बिहीबारसम्ममा २ हजार ६ सय ६ जना निको भएर घर फर्केका छन् ।’ स्वाब संकलन आवश्यकताअनुसार हुने भएकाले दाङमा बाहेक अन्य जिल्लामा नरोकिएको उनले दाबी गरे । दाङमा प्राविधिक समस्याका कारण रोकिए पनि संकलनको प्रयास भइरहेको उनको भनाइ छ । प्रदेश ५ मा ४५ हजार ५ सय २६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ४२ हजार ८ सय १५ को परीक्षण भएको छ । ३ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ६ सय ६ जना निको भएका छन् । प्रदेशका विभिन्न आइसोलेसन सेन्टर र कोरोना विशेष अस्पतालमा गरी आईसीयूमा चार र सामान्य बेडमा १ सय ३० जनाको उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेश ५ का विभिन्न क्वारेन्टाइनमा अझै पनि ६ हजार ३ सय ४९ जना छन् ।

परीक्षण गर्न निर्देशन

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण सुचारु गर्न प्रदेशसभाको लेखा समितिले निर्देशन दिएको छ । समितिका सभापति डिल्लीबहादुर चौधरीले मंगलबार प्रतिष्ठानमा पुगी सेवा नरोक्न निर्देशन दिएका हुन् । ‘प्रतिष्ठानले पाउनुपर्ने रकम प्रदेश सरकारले दिन्छ, काम सुचारु गर्नुहोस् भनेर निर्देशन दिएका छौं,’ उनले भने । अहिले क्वारेन्टाइनहरू पनि खाली हुँदै गएकाले परीक्षणको ठूलो समस्या नरहेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘यसबारे थप छलफल गर्न जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छौं,’ उनले भने । प्रतिष्ठानले यसअघि पीसीआर परीक्षण गरेका प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँका दरले रकम भुक्तानी गर्न स्थानीय तहलाई पत्र लेखेपछि समस्या सिर्जना भएको थियो । प्रतिष्ठानमा बिहीबारसम्म स्वाब परीक्षण सुरु भएको छैन ।

-रूपन्देहीबाट घनश्याम गौतम, कपिलवस्तुबाट मनोज पौडेल, पाल्पाबाट माधव अर्याल र दाङबाट दुर्गालाल केसी

प्रकाशित : असार २६, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?