२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

असार २८ पछि विदेशबाट उद्धार उडान नहुने

सुरज कुँवर

काठमाडौँ — विभिन्‍न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ ।

असार २८ पछि विदेशबाट उद्धार उडान नहुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना सञ्चालन गरेको उद्धार उडानको समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट उद्धार उडान नगर्ने जनाएको छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न मन्त्रालयले पहिलो चरणमा जेठ २८ देखि असार ११ सम्म ६७ वटा चार्टर उडानलाई अनुमति दिएको थियो । त्यसयता असार २८ सम्म कम्तीमा ४ पटक उद्धार उडानको तालिकाको समय थपिएको थियो ।

‘यो अवधिमा नेपाल ल्याइएका नागरिकहरुको व्यवस्थापन कसरी भयो केन्द्रदेखि स्थानीय तहसम्म समिक्षा गर्नका लागि असार २८ पछि उद्धार उडान हुने छैनन्,’ उद्धार उडान अनुमतिमा संलग्‍न मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले कान्तिपुरसँग भने । लामिछानेले कुनै मुलुकमा उद्धार नगरी नहुने भएमा विशेष अनुमति दिइने नत्र कुनै पनि प्रकारका अन्तर्राष्ट्रिय चार्टर उडान नहुने बताए । ‘तर, औषधिजन्य कार्गो उडानलाई भने अनुमती दिइने छ,’ सहसचिव समेत रहेका लामिछानेले भने, ‘समिक्षा सकिएपछि फेरि उद्धार उडान गर्नुपर्ने आवश्यकता भए सरकारले निर्णय गर्ने छ ।’

हाल सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई उद्धार उडानका लागि अनुमति दिएको छ भने विदेशी वायुसेवातर्फ कतार एयरवेज, टर्किस एयरलायन्स, फ्लाई दुबई, जजिरा एयरवेज लगायतलाई नेपाली नागरिकको उद्धार गर्न अनुमति दिएको छ । एकतर्फी मात्रै यात्रु रहने यी चार्टर उडानमा सरकारले भाडाको सीमा तोकेको छ ।

पछिल्लोपटक उद्धार उडानमा संलग्‍न दुई वटा नेपाली वायुसेवा कम्पनीमा १८ जना पाइलट, क्याबिन क्रू लगायत उडानमा संलग्‍न हुने कर्मचारीमा कोभिड संक्रमण देखिएपछि सरकारले तत्काल उद्धार उडान रोकेर समिक्षा गर्न खोजेको हो । त्यस्तै विदेशबाट नेपाल फर्केकाहरुमा पनि संक्रमण पुनः देखा परेपछि उद्धार उडान तत्काल रोक्दै समिक्षा गर्न खोजिएको मन्त्रालयका एक अर्का अधिकारीले कान्तिपुरसँग बताए ।

आइतबार हुने अन्तिम उडानमा नेपाल वायुसेवा निगमले एउटा उडान नारिता र अर्को दुबईबाट काठमाडौं फर्किने तालिका छ भने हिमालयले क्‍वालालम्पुरका लागि एउटा उडान राखेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका अनुसार बुधबारसम्म भएका १ सय ४३ वटा उद्धार उडानबाट २२ हजार ३ सय ६९ नेपाली काठमाडौं आइपुगेका छन् । जसमा कुवेतबाट ४७ सय, यूएईबाट ४१ सय, साउदी अरेबियाबाट ३२ सय, कतारबाट २७ सय, मेलेसियाबाट २४ सय, बहराइनबाट ५ सय गरी २२ वटा मुलुकबाट नेपाली ल्याइएको थियो ।

विदेशबाट सबैभन्दा बढी वाग्मती प्रदेशका ६६ सय आए भने सबैभन्दा कम कर्णाली प्रदेशका ४ सय ८८ थिए । यो अवधिमा २२ वटा मुलुकबाट नेपाली ल्याइए ।

सरकारले जेठ अन्तिममा नेपालीलाई उद्धार गरिने मुलुकहरुमा दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, मलेसिया, पाकिस्तान, कुवेत, साउदी अरब, बहराइन, दुबई, कतार, इजरायल, मस्कट, साइप्रस, संयुक्त राज्य अमेरिका, नाइजेरिया, युगान्डा तथा युरोपको सूची सार्वजनिक गरेको थियो ।

प्रकाशित : असार २५, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?