कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षण छैन

विज्ञ भन्छन्– लक्षण नदेखिने यिनै व्यक्तिबाट संक्रमण फैलिने जोखिम ज्यादा
अतुल मिश्र

काठमाडौँ — नेपालमा कोभिड–१९ संक्रमण पुष्टि भएका ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको छैन । पछिल्लो तथ्यांकअनुसार ०.३ प्रतिशत (एक हजार जनामा तीन जना) संक्रमितमा मात्रै लक्षण देखिएको छ । यो तथ्यांक मुलुकमा हालसम्म देखिएको १५ हजार ७८२ जना संक्रमितको तथ्यांकमा आधारित हो । लक्षण नदेखिएका व्यक्तिहरू सामान्यजस्तै अवस्थामा हुने भएकाले प्रयोगशाला परीक्षण नगर्दासम्म संक्रमणबारे थाहा हुँदैन ।

‘पछिल्लो तथ्यांकले मुलुकमा प्राय:जसो संक्रमित लक्षणविहीन रहेको स्पष्ट भएको छ,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे भन्छन्, ‘हामीकहाँ एसिम्प्टोम्याटिक (लक्षणविहीन) केस सबैभन्दा बढी छ ।’

लक्षण नभएकाहरूबाट अन्य व्यक्तिमा रोग सर्न सक्ने जोखिम हुन्छ । लक्षण नभएकाले समेत कोरोनाको जोखिम समूह ठानिएका बूढापाका, रोग प्रतिरोधक क्षमता कम भएका, सुत्केरी र दीर्घरोगीमा संक्रमण सार्न सक्छन् । बालबालिका, युवा र सक्रिय उमेर समूहकाले आफ्नो घर, छरछिमेक र समुदायमा कोरोनाको जोखिममा रहेकालाई संक्रमण हुन नदिन विशेष सावधानी अपनाउनुपर्ने डा. पाण्डेले बताए । सबैभन्दा सक्रिय रहने गरेको उमेर समूहमै न्यून मात्रामा कोभिडको लक्षण देखिएको छ । नेपालमा ५४ वर्षसम्मको उमेर समूहका व्यक्तिमा अत्यन्त न्यून लक्षण देखिएको हो । करिब ९१ प्रतिशत संक्रमित १५ देखि ५४ वर्ष उमेर समूहका छन् ।

८५ वर्षमाथिका संक्रमित ४ जना मात्रै छन् । तीमध्ये एक जनामा मात्रै लक्षण देखिएको थियो । ती व्यक्तिको मृत्यु भइसकेको छ । बाँकी रहेका तीन जनामा कुनै लक्षण देखिएको थिएन । यस्तै ७५ देखि ८४ वर्ष सम्मका २५ जना संक्रमित रहेकामा एक जनामा मात्रै लक्षण देखिएको छ । विश्वमा लक्षण नदेखिने संक्रमणका बारेमा विभिन्न अध्ययन–अनुसन्धान जारी रहे पनि यसको कारणका रूपमा केही खास कुराहरू पहिचान भएको वा हुने प्रक्रियामा समेत छ । ‘मुलुकमा छुट्टै अध्ययन नभए पनि क्रस इम्युनिटी, जेनेटिक भेरिएसन, रक्त समूह, लिंग, खानपान, प्रभावित उमेर समूह, भाइरल लोड आदि लक्षण नभएको संक्रमण बढी हुनुको कारक हुन सक्छ,’ ईडीसीडीका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले भने । यस्तै बीसीजी र रुबेलाविरुद्धको खोपको अवस्था, शरीरमा भिटामिन डीको स्तर, शारीरिक सक्रियता आदिले कोभिडको गम्भीरतालाई निर्धारण गर्छ ।

पछिल्लो समय संसारभर नै कोभिडको भाइरस कमजोर हुँदै गइरहेको दाबी गरिएको छ । कोरोनाको मृत्युदर विश्वभर नै घटिरहेको छ । ‘पछिल्लो समय यो भाइरसको म्युटेसन हुँदै कमजोर बन्दै गइरहेको अवस्था विश्वभरि नै देखिएको छ,’ महतोले भने, ‘कोभिड भाइरससमेत कमजोर भइरहेको अवस्थामा नेपालमा रहेको भाइरसको अवस्थाबारे जान्न अध्ययन अत्यावश्यक छ ।’

कोरोना संक्रमितमा देखिने मुख्य लक्षण सुक्खा खोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या, अक्सिजन कम हुनु, स्वाद र गन्ध थाहा नहुनुलगायत छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आएका ९२ जना संक्रमितमध्ये समस्या देखिएका केही व्यक्तिमा यस्तो लक्षण देखिएको थियो । टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय अस्पताल आउने अधिकांश व्यक्तिमा लक्षण देखिएको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार विश्वमा करिब ४० प्रतिशत केस लक्षणविहीन हुन सक्छ । यस्तै अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार विश्वमा करिब २५ प्रतिशत केस एसिम्प्टोम्याटिक हुन सक्छ । विज्ञहरूका अनुसार भारतमा समेत हाल करिब ८० प्रतिशत कोरोनाको केस लक्षणविहीन छ । तर कुनै पनि समुदायमा लक्षणविहीन केस पत्ता लगाउन अत्यन्त गाह्रो हुने गरेको छ ।

परीक्षण जानकारी दिन बन्द

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ जारी गर्ने कोरोनासँग सम्बन्धित बुलेटिनमा प्रयोगशालाले दिनहुँ गरेको जाँचको संख्या दिन बुधबारदेखि बन्द गरेको छ । मन्त्रालयले यसअघि प्रयोगशालाले दिनहुँ गरेको जाँचको संख्या र त्यसमा देखिएको कोरोना पोजिटिभको संख्या ८ दिनसम्म खुलाउने गरेको थियो ।

कान्तिपुर दैनिकले गत मंगलबार ‘परीक्षण गरिएजति सबैको पीसीआर कसरी पोजिटिभ ?’ शीर्षकमा समाचार प्रकाशित गरेपछि देशभर सञ्चालित २५ प्रयोगशालामा दैनिक पीसीआर परीक्षण संख्याको जानकारी दिन बन्द गरिएको हो । मन्त्रालयले ती प्रयोगशालामा देखिएको कोरोना पोजिटिभको तथ्यांक मात्र दिन थालेको छ । ‘स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रयोगशालाले दिनहुँ गरेको नमुना परीक्षणको संख्या उल्लेख गर्न छाड्नु हुन्न, देखिएका समस्या समाधान गर्नुपर्छ,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी भन्छन्, ‘मन्त्रालयले आफैं २४ घण्टामा कति परीक्षण गरियो र त्यसमा कति पोजिटिभ देखिएको भन्ने जानकारी दिने राम्रो सुरुवात गरेको थियो ।’

गत असार १६ गतेदेखि स्वास्थ्य मन्त्रालयले उक्त दुवै जानकारी दिन थालेको भए पनि पुन: बुधबारदेखि बन्द गरेको हो । ‘आफ्नो गल्तीमा स्वास्थ्य मन्त्रालय शब्दहीन भएको अवस्था हो र भविष्यमा पुन: यस्तो गल्ती दोहोरिँदा जनस्तरसम्म नपुगोस् भनेर सूचना दिन बन्द गरिएको हो,’ डा. बीसीले भने । ‘सरकारले कुन प्रयोगशालाले कति परीक्षण गर्‍यो, त्यसमा कति कोरोना पोजिटिभ देखियो, दुवै संख्याबारे जानकारी दिनुपर्छ,’ जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले भने, ‘कति परीक्षण गरियो भन्ने लुकाउनु आफ्नो कमजोरी लुकाउनु हो । आखिर किन लुकाउनुपर्‍यो ?’

सरकारले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत असार १७ मा कोरोना भाइरस रोग पहिचानका लागि गरिएको ११४ नमुनाको पीसीआर परीक्षण नतिजामा सबैको पोजिटिभ आएको जनायो । असार १९ गते सबैभन्दा बढी ७४० कोरोना पोजिटिभ देखिएको थियो । उक्त दिन सरकारले सेती प्रादेशिक अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको ६५ पीसीआर परीक्षणमा सबै नतिजा पोजिटिभ आएको थियो । त्यही दिन पाटन अस्पताल ललितपुरमा गरिएको २०७ नमुना र त्रिवि शिक्षण अस्पतालमा गरिएको ९६ नमुनाको नतिजा सबै पोजिटिभ आएको सरकारले जनाएको थियो ।

प्रकाशित : असार २६, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुपाल्चोकमा बाढीको वितण्डा

भोटेकोसीमा २० जना बेपत्ता, २ को शव भेटियो, बाढीले ३६ घर बगायो
अनिश तिवारी

काठमाडौँ — भोटेकोसी नदीमा बुधबार राति आएको बाढीले बगाउँदा बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका दुई जनाको मृत्यु भएको छ । भारी वर्षासँगै उर्लिएका काभ्रे र एल्मो ठाडो खोलाको भेल मिसिएपछि भोटेकोसीले ३६ वटा घर बगाएको छ । घटनामा २० जना बेपत्ता र ७ जना घाइते छन् ।

भोटेकोसी नदीको बाढीले बुधबार राति बगाएर क्षतिग्रस्त बनेको सिन्धुपाल्चोकको बाह्रबिसे–५, गातीस्थित जम्बु बजार । एल्मो ठाडो खोला र काभ्रे खोलाको भेल मिसिएपछि कटान गर्दै भोटेकोसी बस्तीमा पसेको थियो। तस्बिर : अनिश तिवारी/कान्तिपुर

भोटेकोसीको बाढीले बाह्रबिसे–५ गातीको जम्बु बजारका १४ र खाग्दलका २० वटा घर बगाएको हो । घरसँगै बगेका जम्बुका १६ जना बेपत्ता छन् । ठाडो बल्कुर्टे खोलाले भोटेकोसी–५ बल्कुर्टेका दुईवटा घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता छन् । जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी निहाना बस्नेतको शव फेला परेको छ । अझै २० जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले बताए । बेपत्ताको सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

जम्बुका ३ र बल्कुर्टेका २ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । जम्बुकै अन्य दुई घाइतेको अवस्था सामान्य रहेको काफ्लेले बताए । काठमाडौं लगिएका घाइतेहरूको टाउको, खुट्टा र हातमा चोट लागेको र दुई जनाको अवस्था गम्भीर रहेको काफ्लेले बताए ।

वर्षासँगै बढेको भोटेकोसीले तटीय क्षेत्रमा रहेका जम्बु र शिरीषे खाग्दल बजारमा कटान गरेको थियो । घर, सम्पत्तिसँगै आफन्तसमेत बगेपछि स्थानीय विह्वल भएका छन् । जम्बुका प्रकाश तामाङका श्रीमती र छोरा घरसँगै बाढीमा बेपत्ता भएका छन् । ‘अब के गर्ने र नगर्ने सोच्नै सकेको छैन, न आफ्ना रहे न सम्पत्ति,’ उनले भने, ‘खोलाले हाम्रो सर्वस्व लुट्यो, अब कहाँ जाने ?’

बाढीले घर बगेका परिवारको बिहीबार साँझसम्म बिचल्ली छ । सुरक्षा निकायलगायतका संयन्त्र उद्धारमा जुटे पनि राहत तथा अन्य व्यवस्थापन हुन सकेको छैन । अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इप्रका चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मका सबै सडक र पुल बाढीले बगाएकाले जनजीवन अस्तव्यस्त बनेको छ । ‘सबै कुरा बगायो, हामी त बेसहाराजस्तै भएका छौं, यहाँबाट न बाह्रबिसे जान सकिन्छ न जम्बुपारि,’ खाग्दल बजारका सुवास श्रेष्ठले भने ।

यातायात सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै स्थानीय र अन्य सहयोगीले खाद्यान्न सामग्री पुर्‍याइरहेको इलाका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । ‘जम्बुलगायतका तातोपानी क्षेत्र पुग्न मानेश्वाराको बाटो जानुपर्ने हुन्छ, त्यहाँबाट आउजाउमा ३ घण्टा लाग्छ,’ उनले भने । त्यहाँ पुग्न सडक सहज नभएसम्म स्थानीयले कष्ट भोग्नुपर्ने अवस्था रहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विस्थापितलाई सुरक्षित स्थानमा लगिएको र जनप्रतिनिधिले खाद्यान्नलगायतको व्यवस्थापन गरिरहेको बताए । घटनास्थलमा बिहीबार सभामुख अग्नि सापकोटा, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, पर्यटन तथा वनमन्त्री अरुण नेपाललगायत हेलिकप्टरमा पुगेका थिए ।

‘आँखै अगाडि परिवार गुमाएँ’

–फुर्पा तामाङ, भोटेकोसी–५ बर्कुटे

बल्कुर्टेमा दुई घर मात्रै छन् । त्यसमध्येको एउटामा बुधबार राति म सुतिरहेको थिएँ तर निद्रा परेको थिएन । बेलाबेला उठ्दै, बाहिर हेर्दै गरिरहेको थिएँ । परिवारका सबै जना एउटै कोठामा सुतिरहेका थियौं । राति साढे २ बजे एक्कासि घर र कोठा हल्लिन थाल्यो ।

म आत्तिएर अलमलमा परें । यताउता हेर्न थालें । ७४ वर्षका मेरा बुबा निमा दोर्जेसँगै १२ वर्षको छोरो पनि सुतेको थियो । श्रीमती मञ्जु छेउमै थिइन् । सँगै दाइको छोरो पासाङ थियो । हेर्दाहेर्दै घरको छाना र दलिन भत्कियो र हामीलाई थिच्यो । म निसास्सिएर चिच्याएँ । ईश्वरलाई पुकारें । हेर्दाहेर्दै जताततै पानीले ढाक्यो । त्यतिबेलासम्म श्रीमती, बुबा र छोरा कोही थिएनन् । मलाई बाढीले छेउमा लगेर अड्काएपछि बलियो गरी घरको काठ समातें र बिस्तारै निस्किएँ । अरूलाई गुहारेर बोलाएँ । आँखै अगाडि परिवारलाई गुमाएँ ।

प्रकाशित : असार २६, २०७७ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×