मेलबर्नमा चार नेपाली विद्यार्थीलाई कोरोना- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलबर्नमा चार नेपाली विद्यार्थीलाई कोरोना

कान्तिपुर संवाददाता

सिड्नी — अस्ट्रेलियाको मेलबर्नमा चार नेपाली विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । संक्रमितमध्ये तीन जना एकै स्थानमा बस्दै आएका थिए । अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दाहालका अनुसार एक विद्यार्थीमा भाइरसको संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्यको परीक्षण गरिएको थियो ।

संक्रमित विद्यार्थीहरूको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहेका छन् । संक्रमण देखिएका विद्यार्थी पछिल्लो समय भाइरस संक्रमण तीव्र रूपमा फैलिइरहेको मेलबर्नको ग्लेनरोय क्षेत्रका हुन् । उनीहरू हाल आफ्नै घरमा आइसोलेसनमा छन् ।

मेलबर्नमा बस्दै आएका एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले चार जनाको पुष्टि भए पनि थप दुई जनाको परीक्षण नतिजा आउन बाँकी रहेको जनाए । ‘अलग बस्ने भाइलाई संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका पाँच जना साथीले परीक्षण गरेकोमा तीन जनामा संक्रमण पुष्टि भएको र दुई जनाको नतिजा आउन बाँकी छ,’ उनले भने । कँडेलले एनआरएनएका तर्फबाट विद्यार्थीलाई आवश्यक सहयोग पुर्‍याउने जनाए । अस्ट्रेलियाको सिड्नी, तास्मानिया र मेलबर्नमा रहेका १० जना नेपालीमा केही महिनाअघि भाइरस संक्रमण देखिएको भए पनि उनीहरू सबै निको भएर नियमित काममा फर्किसकेका छन् ।

पछिल्लो समय कोभिड–१९ का बिरामी बढ्दै गएपछि मेलबर्न र आसपासका केही क्षेत्रमा ६ साताका लागि लकडाउन गरिएको छ । मेलबर्नमा बिहीबार मात्र १ सय ६५ जनामा भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित : असार २६, २०७७ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्

वेस्ट इन्डिजको राम्रो सुरुवात

एजेन्सी

साउथह्याम्पटन — वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बिहीबार आफ्नो पहिलो इनिङ्स सुरु गर्दै बलियो जवाफ दिने प्रयास गरेको छ । दोस्रो दिनको खेल समाप्त हुँदा वेस्ट इन्डिजले एक विकेट गुमाएर ५७ रन बनाएको छ ।

पाहुना टिम अझै १ सय ४७ रनले पछाडि छ । उसका लागि क्रेग ब्रेथह्वाइट २० र साइ होप ३ रन बनाएर खेलिरहेका छन् । आउट हुने एक मात्र ब्याट्सम्यान जोन क्याम्पबेलले २८ रन बनाए ।

यसअघि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय ४ रन बनाएर अलआउट भएको छ । वेस्ट इन्डिज कप्तान जेसन होल्डरले घातक बलिङ गर्दै आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शनका क्रममा ४२ रन खर्चेर छ विकेट लिए ।

प्रकाशित : असार २६, २०७७ ०६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×