कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ कोरोनाविरुद्धको खोप निर्माणको तयारी

अहिलेसम्म १४५ भन्दा धेरै प्रकारका खोपको परीक्षण भइरहेको छ । कुनै पनि खोपले प्रयोगका लागि अन्तिम स्वीकृति पाइसकेका छैनन् । खोप निर्माणमा भएको प्रगति अत्यन्तै सकारात्मक छ । विश्वले अबको ६ महिनादेखि १ वर्षभित्र कोभिड–१९ को खोप प्राप्त गर्नेछ ।
डा. सन्तोष ढकाल

विश्वभरका अनुसन्धानकर्ता कोभिड–१९ को खोप निर्माणमा लागिपरेका छन् । अहिलेसम्म १४५ भन्दा धेरै प्रकारका खोपको परीक्षण भइरहेको छ । साधारणतया खोप निर्माणको प्रक्रिया १० देखि २० वर्षभन्दा लामो हुने गर्छ । तर कोभिड–१९ को सुरक्षित तथा उपयोगी खोप एक वर्षभित्रै निर्माण गर्न वैज्ञानिकहरू दिनरात काम गरिरहेका छन् ।

अमेरिकाको सान डिएगोस्थित एक प्रयोगशालाम कोरोनाविरुद्धको खोपबारे अनुसन्धान गर्दै एक वैज्ञानिक फाइल तस्बिर : रोयटर्स

सन् २०२० जनवरीमा चीनले कोभिड–१९ रोग लगाउने सार्स–कोभ–२ भाइरसको जिनोमिक जानकारी सार्वजनिक गरेसँगै विश्वभर यसको खोप बनाउने प्रतिस्पर्धा सुरु भएको हो ।

कोभिड–१९ को खोप बनाउन वैज्ञानिकहरूले मुख्य ४ तरिका अवलम्बन गरेका छन् । (१) सार्स–२ भाइरसलाई निष्क्रिय पार्ने र खोपका रूपमा प्रयोग गर्ने, (२) एडेनो भाइरसजस्ता अन्य भाइरसलाई सार्स–२ भाइरसको सतहमा पाइने अत्यन्तै महत्त्वपूर्ण स्पाइक प्रोटिनको वाहकका रूपमा प्रयोग गरेर खोप निर्माण गर्ने, (३) सार्स–२ भाइरसको आनुवंशिक तत्त्व (न्युक्लिक एसिड) को प्रयोग गर्ने, (४) सार्स–२ भाइरसको सतहमा पाइने स्पाइक प्रोटिनलाई नै खोपका रूपमा उपयोग गर्ने ।

खोप निर्माण गरेर बजारसम्म आउन अनुसन्धानका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले भाइरसको कुन भाग प्रयोग गर्दा त्यसले रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति उत्पादन गर्छ भनेर पत्ता लगाउनुपर्ने हुन्छ । यसका लागि खोपको परीक्षण मुसा तथा बाँदरजस्ता जनावरमा गर्ने गरिन्छ । अनुसन्धानको यो प्रारम्भिक चरण हो । विभिन्न तरिका अपनाएर तयार पारिएका १२५ भन्दा धेरै खोप अहिले अनुसन्धानको प्रारम्भिक चरणमा छन् । जनावरमा गरेको प्रारम्भिक अनुसन्धानमा खोपले कोभिड–१९ रोगविरुद्ध प्रतिरोधी क्षमता उत्पादन गर्न सक्ने नतिजा देखाएमा त्यसपछि उक्त खोप मान्छेमा गरिने परीक्षणको चरणमा प्रवेश गर्छ । मान्छेमा पहिलो, दोस्रो र तेस्रो गरी तीन चरणमा कोभिड–१९ खोपको परीक्षण हुने गर्छ ।

पहिलो चरणमा एक सयजति स्वस्थ वयस्कहरूलाई खोप लगाइन्छ । यो चरणमा खोप सुरक्षित छ/छैन, खोपले रोगसँग लड्न सक्ने प्रतिरोधी क्षमता उत्पादन गर्छ/गर्दैन भनेर जाँच गरिन्छ । खोपको मात्रा कति राख्ने भनेर पनि यही चरणमा परीक्षण गरिन्छ । अहिले विश्वभर १५ वटा खोप मान्छेमा गरिने परीक्षणको पहिलो चरणमा छन् । मान्छेमा गरिएको पहिलो चरणको अनुसन्धानमा राम्रो नतिजा आयो भने उक्त खोप दोस्रो चरणको अनुसन्धानका लागि तयार हुन्छ । यो चरणमा खोपको परीक्षण सयौंको संख्यामा गरिन्छ ।


यसमा खोप सुरक्षित छ/छैन, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता उत्पादन गर्छ/गर्दैन भन्नेजस्ता प्रश्नको उत्तर खोजिन्छ । यो चरणमा भने वयस्कमा मात्र नभई बालबालिका तथा प्रौढमा समेत खोप सुरक्षित र उपयोगी छ/छैन भनेर प्रयोग गरिन्छ । यसरी विभिन्न उमेर समूह र लिंगका सहभागीमा खोपको परीक्षण अनिवार्य हुन्छ । किनकि एउटा समूहमा काम गरेको खोपले अर्को समूहमा सोहीअनुसार काम नगर्न पनि सक्छ । अहिले विश्वभर १० वटा खोप मान्छेमा गरिने परीक्षणको दोस्रो चरणमा छन् ।

दोस्रो चरणको अनुसन्धानमा सफल खोप मान्छेमा गरिने परीक्षणको तेस्रो चरणमा प्रवेश गर्छन् । यो चरणमा हजारौंमा परीक्षण गरिन्छ । यो चरणका सहभागीलाई दुई समूहमा बाँडिन्छ, जसमा एउटा समूहलाई खोप दिइन्छ, अर्कोलाई दिइँदैन । खोप लगाएका र नलगाएका समूहका सहभागीमध्ये कति जनालाई रोग लाग्यो भनेर अनुसन्धानको अन्त्यमा हिसाब गरिन्छ र खोपको उपयोगिताबारे निष्कर्ष निकालिन्छ । खोपले कोभिड–१९ बाट बचायो कि बचाएन भनेर यो चरणको अनुसन्धानले बताउने गर्छ । विश्वभर अहिले ४ वटा खोप यो चरणमा प्रवेश गरेका छन् ।

मान्छेमा गरिएको तीनै चरणको अनुसन्धानमा सफल भएका खोपहरूको बिक्रीवितरणका लागि आ–आफ्ना देशका सम्बन्धित नियामक संस्थामा आवेदन दिनुपर्छ । ती संस्थाले अनुसन्धानका सम्पूर्ण नतिजा राम्रोसँग अध्ययन गरेपछि यदि खोप सुरक्षित र उपयोगी देखिएमा धेरै मात्रामा उत्पादन र बिक्रीवितरण गर्न अनुमति दिन्छन् । कहिलेकाहीँ महामारीको समयमा सम्बन्धित देशको नियामक संस्थाले खोपलाई परीक्षणको नतिजा हेरेर आपत्कालीन प्रयोगका लागि अथवा सीमित प्रयोगका लागि अनुमति दिन सक्छ । अहिले चीन सरकारले आफ्नो देशमा उत्पादन भएको एउटा खोपलाई सेनामा प्रयोग गर्न ‘सीमित प्रयोगको अनुमति’ प्रदान गरेको छ । यो अनुमति तेस्रो चरणको परीक्षणको नतिजा नआउँदै दोस्रो चरणसम्मको नतिजालाई आधार मानेर दिइएको हो । सेनामा यो खोप अनिवार्य गरिन्छ वा स्वेच्छिक हुन्छ भन्नेबारे केही खुलाइएको छैन । योबाहेक विश्वभर कुनै पनि खोपले प्रयोगका लागि अन्तिम स्वीकृति पाइसकेका छैनन् ।

चीनले सेनाका लागि मात्र प्रयोगको अनुमति दिएको खोप क्यन्सिनो बायो भन्ने कम्पनीले उत्पादन गरेको हो । यो खोपमा एडेनो भाइरसलाई वाहकका रूपमा प्रयोग गरेर सार्स–२ भाइरसको स्पाइक प्रोटिनको प्रयोग गरिएको छ । यसबाहेक पनि चीनका सिनोफर्म र सिनोभ्याक नामक कम्पनीले भिन्नाभिन्नै रूपमा सार्स–२ भाइरसलाई निष्क्रिय पारेर बनाइएका खोप परीक्षणको तेस्रो चरणमा प्रवेश गरेका छन् । यी खोपको तेस्रो चरणको परीक्षण चीन, ब्राजिल तथा यूएईमा हुने भएको छ ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले बनाएको खोपको अनुसन्धान पनि तेस्रो चरणमा प्रवेश गरेको छ । यो खोपमा पनि एडेनो भाइरसलाई एन्टिजिन वाहकका रूपमा प्रयोग गरिएको छ । यो खोपको तेस्रो चरणको परीक्षण बेलायतलगायत ब्राजिल र दक्षिण अफ्रिकामा गरिँदै छ । खोप आगामी अक्टोबरसम्म उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरी अमेरिकाको मोडर्ना कम्पनीले बनाएको खोप पनि जुलाईबाट तेस्रो चरणको अनुसन्धानमा जाने गरी तयारी पूरा भएको छ । खोपमा सार्स–२ भाइरसको आनुवंशिक तत्त्वको प्रयोग गरिएको छ । यो खोप सन् २०२१ को जनवरीसम्म प्रयोगमा ल्याउने लक्ष्य राखिएको छ । त्यसैगरी, क्यानडामा रहेको मेडिकागो कम्पनीले तयार पारेको खोप मान्छेमा गरिने परीक्षणको पहिलो चरणमा प्रवेश गरेको छ । जापानस्थित एन्जिस कम्पनीले ओसाका युनिभर्सिटीसँग मिलेर निर्माण गरेको खोपको पनि मान्छेमा पहिलो र दोस्रो चरणको परीक्षण सुरु गरिएको छ । भारतस्थित भारत बायोटेकले बनाएको कोभिड–१९ को खोपको पहिलो र दोस्रो चरणको अनुसन्धान जुलाईमा सुरु गर्ने तयारी हुँदै छ भने अर्को भारतीय कम्पनी जाइडस क्याडिलाले तयार पारेको खोपले पनि मान्छेमा अनुसन्धान गर्न अनुमति प्राप्त गरेको छ ।

वैज्ञानिकले बनाएका खोप अनुसन्धानको जुनसुकै चरणमा पनि असफल हुन सक्छन् । अहिलेसम्म कोभिड–१९ को खोप निर्माणमा भएको प्रगति अत्यन्तै सकारात्मक छ । आशा गरौं, आगामी अनुसन्धान पनि सफल बन्नेछन् र विश्वले अबको ६ महिनादेखि १ वर्षभित्र कोभिड–१९ को खोप प्राप्त गर्नेछ ।

नोट : यस लेखमा उल्लेखित केही तथ्य न्यूयोर्क टाइम्सको 'कोरोनाभाइरस भ्याक्सिन ट्र्याकर'बाट लिइएको हो ।

-डा. ढकाल जोन होप्किन्स विश्वविद्यालयमा इन्फ्लुएन्जा तथा कोरोना भाइरसको संक्रमण र खोपको उपयोगिताका अध्ययन क्षेत्रमा कार्यरत छन् ।


प्रकाशित : असार २५, २०७७ १०:०२

प्रतिक्रिया
पठाउनुहोस्

ओखलढुंगामा मिनीट्रक दुर्घटना, चालकको मृत्यु

कुम्भराज राई

ओखलढुंगा — सिद्धिचरण नगरपालिका–८, स्थित सेतीदेवी मन्दिर नजिकै बिहीबार बिहान मिनीट्रक पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बा ३ ख ९६ नम्बरको मिनीट्रक पल्टिँदा दोलखाको जिरी स्थायी घर भएका २४ वर्षीय चालक नवराज कार्कीको मृत्यु भएको हो । 

सोलु करिडोरको सामान लिएर काठमाडौंबाट सोलु जाँदै गरेको मिनीट्रक सडकदेखि १ सय मिटर तल खसेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । ट्रकमा चालक कार्की मात्रै रहेका थिए ।

प्रकाशित : असार २५, २०७७ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×