कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ — प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सीसीएमसी) ले तयार गरेको मापदण्डबमोजिम ट्याक्सी व्यवसाय सञ्चालनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

स्वास्थ्य सचेतता अपनाएर सरकारले लकडाउनमा पनि केही पेसा, व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहज बनाउन भन्दै ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको हो ।

बुधबार विकास तथा प्रविधिसमितिमा भएको छलफलमा अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले समुन्नत मान्छेले चढ्ने गाडी सञ्चालन भइरहे पनि सर्वसाधारण चढ्ने सार्वजनिक सवारी सञ्चालन नहुँदा समस्या भएको बताएका थिए । संकटको समयमा यातायात मजदुरहरुका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा दर्दनाक अवस्थामा रहेको उनले बताए । आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले मजदुरहरुको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने, बिमा गर्नुपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने र बैंकहरुको किस्ता र ब्याजदरमा सहजीकरण गर्नुपर्ने बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले निजी क्षेत्रका १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरु कार्यरत रहेको उल्लेख गर्दै १ सय ७ दिनसम्म लकडाउन हुँदा घरमा चुलो नै बल्न नसकेको बताए ।

प्रकाशित : असार २४, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?