१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘उपत्यका समुदाय संक्रमणको संघारमा’

सामुदायिक संक्रमण छैन भन्दैमा ढुक्क भएर बस्ने अवस्था छैन । नियन्त्रण गर्न नसके भोलि ‘म्यासिभ आउटब्रेक’ हुन सक्छ ।

काठमाडौँ — पछिल्ला दिन काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिँदो छ । विज्ञहरूले संक्रमण अझै तीव्र गतिमा फैलिने संकेत देखिएको दाबी गरिरहेका छन् । मुलुकका अन्य स्थानमा जस्तै काठमाडौं उपत्यकामा पनि कोभिड–१९ संक्रमितको संख्या अकासिँदै गएको छ । सुरुका पाँच महिनासम्म यहाँ फाट्टफुट्ट मात्रै संक्रमण पुष्टि भए पनि पछिल्लो ६ दिनमै संक्रमितको संख्या ९२ बाट तीन गुणा बढेर २ सय ७६ पुगेको छ ।

‘उपत्यका समुदाय संक्रमणको संघारमा’

संक्रमणको अवस्था र फैलावट नियन्त्रणलगायत विषयमा संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीसँग फातिमा बानुले गरेको कुराकानी :

उपत्यकामा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको हो ?

दुई–तीन दिनयता संक्रमितको संख्या ह्वात्तै बढ्यो । भेटिएका संक्रमितबारे धेरै अध्ययन भएको छैन । संक्रमणको स्रोत पत्ता लागेको छैन । संक्रमण बढेको हिसाबमा समुदायमै संक्रमण फैलिएको हो कि भनेर अनुमान मात्रै गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले नेपालको समुदायमा अहिलेसम्म संक्रमण फैलिसकेको छैन भने पनि संक्रमणले दोस्रो चरण पार गरिसकेजस्तो देखिन्छ ।

समुदायमा संक्रमण छ भन्न सक्ने आधार के–के हुन् ?

पहिलो आधार संक्रमितको संख्या बढ्नु नै हो । संक्रमण बढेर जटिलता पैदा हुनु हो । संक्रमितको नजिक नगएका या संक्रमण भेटिएको ठाउँमा नपुगेका व्यक्तिमा पनि संक्रमण देखियो भने त्यसलाई अर्को आधार मान्न सकिन्छ । यस्तो अवस्थामा बिरामीको संख्या बढेर अस्पतालका बेड भरिन्छन् । गम्भीर भएर अक्सिजन दिनुपर्ने या आईसीयूको भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या बढ्छ । संक्रमितको लोड बढेर कोभिड अस्पतालले थेग्न नसक्ने र गैरकोभिड अस्पतालमा लैजानुपर्नेसम्म हुन सक्छ । उपत्यकाको हकमा यसको झिल्को मात्रै देखिएको छ ।

त्यसो भए उपत्यका सुरक्षित छ ?

सामुदायिक संक्रमण छैन भन्दैमा ढुक्क भएर बस्ने अवस्था छैन । संकेत देखिनु भनेकै जोखिम बढ्नु हो । हामीसँग यथेस्ट तथ्यांक र जानकारी छैन । संक्रमणको स्रोत थाहा छैन, त्यसैले उपत्यका सामुदायिक संक्रमणको संघारमा पुगिसक्यो । नियन्त्रण गर्न नसके भोलि ‘म्यासिभ आउटब्रेक’ हुन सक्छ । ज्वरो, खोकी या कोरोनाका कुनै लक्षण छैन भन्दैमा संक्रमण छैन भनेर बस्न मिल्दैन । कन्ट्याक ट्रेसिङ गरेर परीक्षणको दायरा बढाउनुपर्छ । विश्व स्वास्थ्य संगठनले लक्षण नभएका व्यक्तिबाट संक्रमण सर्दैन भने पनि नेपालको हकमा यो लागू हुँदैन । हामीले परीक्षण गर्नैपर्छ, यसमा सरकार चुकेको छ । नेपालमा निकै कम संक्रमितमा मात्रै लक्षण देखिएको छ अथवा लक्षण भए पनि सामान्य खालको छ । यो भन्दैमा हामी सुरक्षित छौं भन्न मिल्दैन ।

नेपालका संक्रमितमा किन लक्षण नदेखिएको होला ?

जीवनयापन र हावापानी फरक भएका आधारमा संक्रमण र संक्रमितको अवस्था अन्य मुलुकको भन्दा फरक भयो भन्ने कुनै वैज्ञानिक आधार छैन । लक्षण नदेखिनुको एउटै मात्रै कारण छ– अहिलेसम्म नेपालमा भेटिएका संक्रमित विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिमात्रै हुन् । ती सबै क्वारेन्टाइनमा बसे । जो २० देखि ४० उमेर समूहका छन् । यो समूहका व्यक्तिमा मुटु, मिर्गौला या अन्य कडा रोग निकै कम हुन्छ । रोगसँग लड्ने क्षमता पर्याप्त हुन्छ, त्यसैले उनीहरू गम्भीर भएनन्, मृत्युदर कम देखियो ।

भोलि संक्रमण समुदायमा फैलियो भने त बालबालिका, गर्भवती र वृद्धवृद्धा मारमा पर्छन् । रोगसँग लड्ने क्षमता कम भएका यो उमेर समूहमा लक्षण देखिन्छ, मृत्युदर पनि बढ्छ । अन्य मुलुकको अवस्था हेर्दा यस्तै देखिएको थियो । अमेरिकामा २/३ सय केस हुँदा मृत्युदर निकै कम थियो । पछि त्यहाँ महामारीले तीव्र रूप लियो ।

उपत्यकाको संक्रमण व्यवस्थापन कस्तो छ ?

जुन गतिमा संक्रमण बढिरहेको छ, अहिले नै नियन्त्रण गर्न नसके भोलि महामारीको रूप लिन्छ । जोखिम समूहको मृत्युदर १५ प्रतिशतसम्म पुग्न सक्छ । अहिले जुन मृत्युदर देखिएको छ, त्यसले भ्रममात्रै सिर्जना गरेको छ । वास्तविक मृत्युदर त समुदायमा संक्रमण फैलिएको दुई सातापछि मात्रै देखिन्छ । यो संक्रमणका कारण ५ प्रतिशत व्यक्तिलाई भेन्टिलेटर नै चाहिने हुन सक्छ ।

उपत्यकाका अस्पतालमा पर्याप्त बेड छैनन्, आईसीयू र भेन्टिलेटर पनि पुग्दैन । पाँच सयभन्दा बढी भेन्टिलेटर भएका बेड छैनन् । एक दिनमा एक सय संक्रमितमात्रै थपिए भने पनि तीन दिनमै आईसीयू भरिन्छ, अक्सिजन सकिन थाल्छ । सामान्य अक्सिजन दिएर बचाउन सकिने बिरामीले उपचार नपाउने स्थिति आउँछ । यसरी कोभिडका कारण अन्य मुलुकमा भन्दा नेपालमा मृत्युदर बढ्न सक्छ । रोगको नियन्त्रण हातबाट फुत्कियो भने हामीले केही गर्न सक्दैनौं । बेलैमा तयारी गर्न आवश्यक छ, जुन अहिले निकै कमजोर अवस्थामा छ ।

संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने मुख्य के हो ?

संक्रमण फैलिन नदिन गर्नुपर्ने मुख्य काम भनेकै रोकथाम हो । परीक्षण र आइसोलेसनमा मात्रै बढी काम भएको छ, यतिले मात्रै पुग्दैन । एक त परीक्षणको दायरा बढाउनुपर्नेमा खुम्च्याइएको छ । अहिले संक्रमित पहिल्याउने दर ७ प्रतिशत छ, जसअनुसार ३३ प्रतिशत बढी परीक्षण गर्नुपर्ने हो । यसो गर्दा लुकेका केस भेटिन्छन् । वृद्धिदर ३ प्रतिशतभन्दा तल नझरेसम्म परीक्षण बढाइरहनुपर्छ, जुन भएको छैन । क्वारेन्टाइनमा भएका व्यक्तिको मात्रै नभएर कन्ट्याक ट्रेसिङ गरी धेरैभन्दा धेरैको परीक्षण गर्नुपर्छ । लक्षण भएकाको मात्रै होइन नभएको पनि पीसीआर गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय निर्देशिका यस्तो भन्दैमा नेपालमा यो लागू हुँदैन । नेपालभित्रै परीक्षण निर्देशिका फरक चाहिन सक्छ । ज्वरो आएको लक्षणमात्रै खोजेर परीक्षण गर्न थालियो भने त संक्रमितले धेरैलाई रोग सारिहाल्छ । सबैको पीसीआर गर्न सकिँदैन, त्यसैले समुदायमा संक्रमणको अवस्था के छ भनेर जान्न ‘ईएलआईएसए’ गरौं । यो विधिबाट थोरै समयमा धेरै परीक्षण गर्न सकिन्छ । यो सबै अस्पतालको प्रयोगशालामा उपलब्ध पनि छ, भरपर्दो पनि छ । किट मात्रै खरिद गर्ने हो भने यो विधि सजिलो छ । अन्य मुलुकमा लकडाउन खोल्नुअघि समुदायमा संक्रमण छ या छैन भनेर पनि ‘ईएलआईएसए’ गरिन्छ । आरडीटी परीक्षणको कुनै काम छैन ।

कस्तो कन्ट्याक ट्रेसिङ प्रभावकारी हुन्छ ?

परीक्षण गरी बिरामी आइसोलेसनमा राखेर मात्रै रोग नियन्त्रण हुँदैन । यो ‘सिस्टम’ फेल भइसक्यो । अहिलेसम्मको अध्ययनअनुसार संक्रमण सर्दा ४० प्रतिशत लक्षण भएका व्यक्तिबाट सरेको छ । लक्षण देखिनुअघि नै संक्रमितले धेरैलाई रोग सारिसकेको हुन्छ । त्यसैले प्रभावकारी कन्ट्याक ट्रेसिङ गरी सम्भावित संक्रमितलाई क्वारेन्टाइनमा राख्नुपर्छ, परीक्षण गर्नुपर्छ । संक्रमितले तीन–चार दिनअघि कसलाई भेटेको छ, कहाँकहाँ पुगेको छ पत्ता लगाउनुपर्छ । लक्षण देखिनुअघि नै उनीहरूलाई क्वारेन्टाइनमा राखिहाल्नुपर्छ ।

संक्रमितलाई सोधपुछ गरेको आधारमा मात्रै ट्रेसिङ नगरी यसमा प्रविधिको प्रयोग गर्नुपर्छ । यसमा कामै भएको छैन । ताइवान, सिंगापुरलगायत अन्य मुलुकमा कन्ट्याक ट्रेसिङ प्रभावकारी गरेकै कारण रोग नियन्त्रणमा आएको हो । ट्रेसिङका लागि हामीसँग धेरै एप प्रयोगमा छन् तर सूचना केन्द्रीकरण गरिएको छैन । स्वास्थ्य मन्त्रालयसँग भएको एपमात्रै पर्याप्त छैन । सीसीएमसी, काठमाडौं महानगरपालिकासँग भएका एप पनि प्रयोग गरेर धेरैभन्दा धेरै ट्रेसिङ गर्न सकिन्छ । विदेशबाट आएका व्यक्तिको फोन ट्रेस गरेर को व्यक्ति कहाँ गए, पत्ता लगाउन सकिन्छ । त्यो पनि गर्न सकिएको छैन । अरू धेरै सजिला विधि छन्, जसमा सरकारले ध्यान दिएको छैन ।

उपत्यकामा कस्तो लकडाउन मोडालिटी आवश्यक छ ?

अहिलेका लागि बाहिरबाट उपत्यकामा भइरहेको आवतजावत रोक्नुपर्छ । यहाँको जनघनत्व घटाउनुपर्छ । संक्रमित बढिरहेकाले लकडाउन कडा बनाउनुपर्छ । संक्रमण नियन्त्रण नभएसम्म आवतजावत गर्नु हुँदैन । गर्नैपरे संक्रमण जोखिमको क्षेत्र वर्गीकरण गर्नुपर्छ । बढी संक्रमण भएको ठाउँबाट संक्रमण नभएको ठाउँमा आवतजावत हुनुभएन । प्रविधिको प्रयोग गरी सम्भव भएसम्म कार्यालयका काम घरबाटै गर्ने अभ्यास निरन्तर गर्नुपर्छ । कार्यालय जानुपरे थोरै मान्छे जम्मा भएर सिफ्ट मिलाएर काम गर्नुपर्छ । शैक्षिक संस्था र सार्वजनिक यातायात त अहिले खोल्नैभएन ।

भोलि महामारी आइहाले जुध्नका लागि के गर्नुपर्छ ?

रोकथामका रणनीति बनाएर सकेसम्म महामारी आउन नदिनु बुद्धिमानी हो । भोलि विपद् आइहाल्न सक्ने भएकाले अक्सिजन पर्याप्त उत्पादन गर्नतिर लाग्नुपर्छ । नेपालमा अक्सिजन उत्पादन सीमित छ भन्ने सुनेको छु । उपत्यकामा ४० प्रतिशत मात्रै उत्पादन छ । अहिले नै अक्सिजन उत्पादन २ सय प्रतिशत बढाएर भण्डारण गरिहाल्नुपर्छ, महामारी फैलिने जोखिम भएको ठाउँसम्म अक्सिजन पुर्‍याइहाल्नुपर्छ । नेपाल औषधिमा आत्मनिर्भर छैन । अहिलेदेखि नै औषधिको जोहो गर्नतिर लाग्नुपर्छ । नत्र, नाकाबन्दी जस्तो बिरामीले औषधि नपाएर दु:ख पाउने या ज्यान गुमाउने स्थिति आउन सक्छ ।

महामारी नियन्त्रणका लागि सरकारले जस्तो खालको अग्रसरता लिनुपर्ने हो, त्यो भएको छैन । सरकारी निकायबीच नै समन्वय अभाव छ । सरकारी टिममा हाल भएका विज्ञले मात्रै पुग्दैन । प्रयोगशालाकर्मी, प्रविधि, सुरक्षा, चिकित्सक र संक्रामक रोग विज्ञसहितको ठूलो टिम आवश्यक छ । यति गर्न नसकिए भोलि महामारीले डरलाग्दो रूप लिने निश्चित छ ।

प्रकाशित : असार २४, २०७७ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?