संक्रमितलाई परीक्षण नगरी घर पठाइँदै

असार २४, २०७७

मोहन बुढाऐर, भवानी भट्ट

कैलाली, कञ्‍चनपुर — कैलालीको घोडाघोडी नगरपालिका–६ का एक जनामा गत साता कोरोना संक्रमण पुष्टि भयो । कुनै लक्षण नदेखिएको र १४ दिने क्वारेन्टाइन अवधि पूरा भएको भन्दै उनलाई घर पठाइसकिएको थियो । घरमा एक साता अलग्गै बस्न भनिए पनि उनी परिवारका सदस्यसँगै रहे । ‘रोपाइँ सुरु गर्नुपरेको थियो,’ उनले भने, ‘कामका बेला कसरी आइसोलेसनमा बस्ने ?’

परिवारका सदस्यसँंगै रोपाइँमा जुटेका उनमा र घरका सदस्यमा कोरोनाको लक्षण देखिएको छैन । लक्षण नदेखिएकाले जाँच गरिएको छैन । ‘म समुदायमा घुलमिल हुनबाट त टाढै छु,’ उनले भने, ‘तर २१ दिनभन्दा बढी भएको र कुनै लक्षण नदेखिएकाले निको भइसकेको जस्तो लाग्छ । स्वास्थ्यकर्मीले पनि निको भइसकेको हुन सक्छ भनेका छन् । पुन: परीक्षण भने गरिएको छैन ।’

घोडाघोडी नगरले अघिल्लो साता क्वारेन्टाइनमा बसेका ७० जनाको स्वाब संकलन गरी पठाएका ३१ जनामा संक्रमण देखिएको थियो । लक्षण नदेखिएपछि सबैलाई होम क्वारेन्टाइनमा बस्न भन्दै घर पठाइएको थियो । नगरप्रमुख ममताप्रसाद चौधरीले १४ दिनपछि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा एक साता बस्नु भन्दै पठाउने गरिएको बताए । बेलाबेला स्वास्थ्यकर्मीबाट अनुगमन गरिए पनि होम क्वारेन्टाइनमा बसे/नबसेको थाहा नहुने उनको भनाइ छ । स्थानीयहरु भने सरकारले संक्रमितको पहिचान लुकाउँदा झन् जोखिम बढेको बताउँछन् । ‘संक्रमितलाई निको नहुँदै घर पठाइएको छ, उनीहरुबारे समुदायलाई थाहा नहुँदा संक्रमणको डर बढेको छ,’ घोडाघोडीका मेखराज चौधरीले भने । संक्रमण देखिएका र नदेखिएकाहरु क्वारेन्टाइनबाट एकैपटक फर्केर मेलापात, छलफल, कचहरीमा सहभागी भइरहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले विश्व स्वास्थ्य संगठनका विज्ञले १४ दिन क्वारेन्टाइनमा बसेका लक्षणविहीन संक्रमितबाट कसैलाई नसर्ने भनिएकाले घर पठाइएको बताए । सुदूरपश्चिममा सोमबारसम्म ३ हजार ५ सय ४२ जनामा संक्रमण देखिएको छ । जसमध्ये ९६ जना मात्रै अस्पताल भर्ना भएका छन् । ९ सय ४ जना निको भएर फर्किएका छन् । अहिले स्थानीय तह र होम क्वारेन्टाइनमा २ हजार ५ सय ३५ जना संक्रमित रहेको निर्देशनालयले जनाएको छ । संक्रमितमध्ये ७ जनाको मृत्यु भएको छ ।

क्वारेन्टाइन रित्तिँदै

कञ्चनपुरका क्वारेन्टाइनहरु धमाधम खाली हुन लागेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर १ सय ४१ क्वारेन्टाइनमा ५ हजारभन्दा बढी बेड रहे पनि मंगलबारसम्म ११ सय २५ जना मात्रै बसिरहेका छन् । हालसम्म क्वारेन्टाइन अवधि पूरा गरेर १३ हजार ३ सय ८६ जना घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जिल्लामा हालसम्म संक्रमण देखिएका ४ सय २९ मध्ये ३ सय ७१ जना निको भएका बताए ।

संक्रमितलाई स्थानीय तहकै आइसोलेसनमा राखिएको छ । अधिकांश तिनै आइसोलेसनबाट निको भएर घर गएका हुन् । कृष्णपुर नगरपालिकामा संक्रमण देखिएका १ सय ६० मध्ये १ सय ३८ जना निको भएर घर गएको उनले बताए । बेलडाँडी र बेलौरीका संक्रमितमा लक्षण नदेखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएन । कञ्चनपुरका हालसम्म २६ सय ६७ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ६ सय जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा ५ स्वास्थ्यकर्मी, २ सुरक्षाकर्मी र क्वारेन्टाइनमा खाना बनाउने १ जना भान्सेमा संक्रमण देखिएको थियो । उनीहरु सबै निको भइसकेका जनस्वास्थ्य कार्यालयले जनाएको छ । ‘अब क्वारेन्टाइनमा चाप कम भएपछि समुदायमा स्वाब संकलन गरिनेछ,’ जनस्वास्थ्य अधिकृत भट्टले भने, ‘लक्षण देखिएका र स्वास्थ्यमा समस्या भएकाको स्वाब संकलन गर्ने योजनामा छौं ।’ पीसीआर रिपोर्ट ढिला आउँदा कतिपय क्वारेन्टाइनबाट घर गएकामा समेत संक्रमण देखिएको छ । जसका कारण समुदायमा संक्रमण फैलिने सम्भावना देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वाब संकलन गरेको २५ दिनसम्म पनि रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकालाई घर पठाइएको हो ।

९८ जना डिस्चार्ज

महाकाली अस्पतालमा भर्ना भएका ९८ जना डिस्चार्ज भएका छन् । अस्पतालका डा. सरोज आचार्यका अनुसार अस्पतालको आइसोलेसनमा १८ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालले संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर परीक्षणबिनै घर पठाउने गरेको छ । उनका अनुसार हालसम्म अस्पताल भर्ना भएकामध्ये १ जनालाई श्वासप्रश्वासमा समस्या देखिएपछि रिफर गर्नेबाहेक अन्यमा सामान्य लक्षणसमेत देखिएको छैन ।

मोहन

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully